सातदिन हिड्दा पनि नसकिएको रोल्पालीको यात्रा

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

सृजना सेन
 

प्यूठान । जेठ ३ गते शनिवार बिहानै देविसरा उठेर भात र जलुको पकाइन् । सबैले हतार हतार खाए । पाँच जनाका समूहमा रहेका उनीहरु साँझ तयार पारेको भारी बोकेर भालेको डाकोमै हिँडे । उनीहरु पर्वत जिल्लामा मजदूरी गर्न पुगेका रोल्पाका मजदुरहरु हुन् ।
 
हिडेको सातौं दिनको साँझ प्यूठानको सदरमुकाम खलंगा बास बस्न आइपुगेका उनीहरुको नेतृत्व गरिहरेका थिए कर्ण सुनारले । उनी भन्छन्, ‘साहुले फागुनदेखिको ज्याला दिएको थिएन । आउने बेला एक÷एक हजार दिएर पठायो ।’ उनीहरुलाई एक÷एक हजार दियो । उतै बसेर एक हप्ता पनि खान नपुग्ने भएपछि आफूहरु पैदल हिँडेर आएको बताए ।
 
सबैको पिर भने काम गरेको ज्याला पाइएन । कमाउने अरु कोही छैनन् भन्ने नै थियो । ‘छ भाइना छोराछोरीकी आमा ४६ बर्षीय देविसरा घर्ती पनि श्रीमानसँगै मजदुरीको लागि पर्वत गएकी थिइन् । देविसरालाई फागुनमै फर्किन मन थियो । ६ भाइना छोराछोरी आत्तिएको उनले बताइन् । उनी भन्छिन् ‘छोराछोरी आत्तिएका छन् । मोबाइल अफ भएको धेरै दिन भयो । कसो गरे ।’ 

कोरोना भाइरसको कारण लकडाउन हुनेबित्तिकै घर आउन खोजेका उनीहरुलाई ठेकेदारले काम नसकिदै जान पाइन्न भनेपछि काम सक्न बसेका थिए । काम त सकिदिए तर ठेकेदारले न बसेर खाने रासन दिए न आउने व्यवस्था गरिदिए । दिए त केवल ५ जनालाई एक÷एक हजार रुपैयाँ । 
जंगल, चौतारी, प्रतीक्षालयमा रात बिताएर प्यूठान आइपुगेका उनीहरुले एक छाक भात खाँदै प्यूठान आइपुगेका थिए । उनीहरु भन्छन् ‘जब घाम चर्किएर हिड्न गाह्रो हुन्छ, हामी रुखको छहारीमा बसेर आगो फुकी भात पकाएर खाने गरेका छौं । साँझ भने यतिकै सुत्ने गरेका छौं ।’

सबै ठाउँमा राम्रो व्यवहार गरेको उनीहरु बताउँछन् । भन्छन्, ‘हामी घरभित्र पस्न गएका थिएनौ बरु बाटो हिड्दा चाउचाउ बिस्कुट दिन्थे ।’ साँझ त्यही खाँदै आएको सुनारले बताए । 

सातौ रात कटाउनको लागि उनीहरु प्यूठानको सदरमूकाम खलंगाको प्रतीक्षालयमा आइपुगेका थिए । उनीहरुको समूहलाई नेपाल प्रहरीले माथिको आदेश भन्दै प्रतीक्षालय छोड्न भनेपछि उनीहरु अलमल परेको बताए । ‘हामी प्रतीक्षालय देखेर खुशी भएका थियौं । प्रहरीले बस्नै दिएन’, अर्का मजदुर अमृत घर्तीले बताए । पछि त्रिवेणी गाउँपालिका र मल्लरानी दुई गाउँपालिकाका अध्यक्षले समन्वय गरेपछि उनीहरुलाई मल्लरानी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा एक रातको लागि राख्ने निर्णय भएपछि भने निकै खुशी देखिए । उनीहरुलाई खानाको रजवारे होटल सञ्चालक दिलमाया पुनले व्यवस्था गर्नुभएको थियो । 

पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी र अर्घाखाँची हुँदै प्यूठान आइपुगेका उनीहरुको यात्रा अझै नसकिएको कर्ण सुनार बताउँछन् । उनी भन्छन् ‘अझै दुईदेखि तीन दिन लाग्छ होला । ६ दिनपछि छानामुनि राम्रो ठाउँमा बस्न पाएका उनीहरुले एकै स्वरमा सुन्निएको खुट्टा देखाउँदै भने, ‘अब सुतेपछि सन्चो हुन्छ कि ।’
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय