ईद घरमै मनाउन मुस्लिम आयोगको आग्रह

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं। राष्ट्रिय मुस्लिम आयोगले ईदु-उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गर्नुभएको हो।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु-उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभयो।

उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गर्नुभयो। 

यस्तै अध्यक्ष अन्सारीले देशको कुनैपनि ठाउँबाट आज (शनिबार) चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबार मात्रै ईदु-उल–फित्रको नमाज आदा गरिने बताउनु भयो।

इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन्।

रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ। आइतबार रमजान महिनाको अन्तिम (३० औं) दिन रहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय