गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच कार्यपालिका बैठकमै कुटाकुट

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्ती र वडा नं. ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीबीच कुटाकुट भएको छ । बैंक सञ्चालन गर्ने समयको विषयमा विवाद भएपछि कार्यपालिका बैठकस्थलमै गाउँपालिकाका अध्यक्ष घर्ती र वडाध्यक्ष क्षेत्रीबीच कुटाकुट भएको बताइएको छ ।

आफूमाथि कुटपिट भएको आरोप लगाउँदै वडा नम्बर— ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा उजुरी समेत दिनुभएको छ । बैंक सञ्चालन गर्ने समयका विषयमा विवाद भएपछि कार्यपालिकाको बैठकमै अध्यक्ष घर्तीले आफूमाथि हात हालेको क्षेत्रीको दावी छ ।

इलाका प्रहरी कार्यालय सुलीचौरमा वडाध्यक्ष क्षेत्रीले दिएको उजुरीमा भनिएको छ, ‘सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीमगरले एक्कासी आवेशमा आई आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो ठाउँबाट उठी म पीडित बसेको ठाउँमा आई सिंगो गाउँपालिकाको बेइज्जत गरेर सम्पूर्ण कार्यपालिकाका सदस्यहरुकै अगाडि वडाध्यक्षहरु र सम्पूर्ण गाउँपालिकाको शिर झुक्ने गरी विभिन्न अपशब्द बोली हातपात गरी चोटपटक लगाउने जस्तो कुकार्य गरेकाले निज गुनेन्द्र घर्तीमगरलाई पक्राउ गरी कारबाही गर्नुका साथै न्याय दिइदिनुहुन अनुरोध गर्दछु ।’

वडाअध्यक्ष क्षेत्रीले गाउँपालिका अध्यक्ष घर्तीलाई कारवाहीको माग गर्दै प्रहरीमा दिएको जाहेरी

सुनिलस्मृति गाउँपालिका—४ ले सुलिचौर बजारमा रहेका बैंकहरु सोमबार र बिहीबार खोल्ने निर्णय गरेको थियो । कार्यपालिका बैठकमा वडाको निर्णय मान्य नहुने भन्दै गाउँपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिकेको वडाअध्यक्ष क्षेत्रीको दाबी छ । वडाको निर्णय नमान्ने हो भने पनि ३ दिन सञ्चालन गरौं न त भन्ने आफ्नो प्रस्तावमाथि छलफल हुँदै गर्दा गाउँपालिका अध्यक्ष घर्ती एक्कासी उठेर आफूमाथि हातपात गरेको र आफूले पनि प्रतिवाद गरेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । कुटपिट भएपछि वडा नं. ४ ले कार्यपालिका बैठक बहिस्कार गरेको जानारी पनि वडाध्यक्ष क्षेत्रीले दिनुभयो ।

कुटाकुट भएको विषयमा नेपाली कांग्रेस रोल्पाले समेत विज्ञप्ति जारी गरेको छ । कांग्रेसले वडाअध्यक्ष क्षेत्रीमाथि एक्कासी हातपात भएको भन्दै आपत्ति जनाएको छ । जिल्ला सभापति अमरसिंह पुनमगरले जारी गरेको विज्ञप्तिमा कार्यपालिकाको बैठकमा कोरोना भाइरसविरुद्ध सुरक्षित हुँदै बैंकहरु व्यवस्थितरुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुँदाहुँदै गाउँपालिका र वडा कार्यालयले निर्वाह गर्नुपर्ने जिम्मेवारी र खेल्नुपर्ने भूमिकाको बारेमा बहस हुँदै गर्दा गाउँपालिकाका अध्यक्ष घर्तीले वडाध्यक्ष क्षेत्रीमाथि एक्कासी हातपात गर्नु अत्यन्त निकृष्ट र निन्दनीय कार्य भएको ठहर गरिएको छ । कांग्रेसले घर्तीमाथि कानुनबमोजिम हदैसम्मको कारवाहीको माग गरेको छ ।

नेपाली कांग्रेस रोल्पाको विज्ञप्ति

गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीमगरले तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जित्नुभएको थियो । यता वडाध्यक्ष क्षेत्री कांग्रेसबाट विजयी हुनुभएको हो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय