भारतीय पत्रकार भन्छन्, 'कालापानी नेपालकै हो, मनिषामाथिको हमला मिडियाको बौद्धिक दरिद्रता'

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । भारतका एक जना वरिष्‍ठ पत्रकार तथा वाम विश्लेषक आनन्द स्वरुप बर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको बताएका छन्।

भारतीय एक रेडियोसँगको कुराकानीमा उनले कालापानी नेपालकै भएको र सन १९६२ मा चीनसँग युद्ध हुँदा राजा महेन्द्रले केही समयका लागि बस्न दिएको बताएका छन्।

पुरानो यो विवादलाई लिएर अहिलेको अवस्था सिर्जना भएको भन्दै उनले संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन्। भारतको हेपाहा प्रवृत्ति जारी रहे नेपाल चीन तर्फ ढल्कन सक्ने पनि पत्रकार बर्माले बताएका छन्।

पत्रकार बर्मासँगको रेडियोको कुराकानी यहाँ सुन्न सकिन्छ।

यस्तै, पत्रकार बर्माले अर्को प्रसङ्गमा अभिनेत्री मनिषा कोइरालामाथिको भारतीय मिडियाको आक्रमणको विरोध गरेका छन्।

एउटा लेख मार्फत पत्रकार बर्माले भारतीय च्यानलहरुको बौद्धिकतामाथि प्रश्न उठाएका छन्। यस्तो छ पत्रकार बर्माको लेखको भावानुवाद:

'हिजोको कुरा हो।

टिभी स्क्रिनमा ठूला अक्षरमा आयो 'भारत का खाओगी, चीन का गाना गाओगी?' त्यसपछि एबीपी न्यूजका ३ एंकरहरुको अभिनेत्री मनिषा कोइरालामाथि हमला सुरु हन्छ।

यी एकंरहरु तीनै हुन जसले हरेक दिनको बिहान 'नमस्ते भारत' नामक कार्यक्रम चलाउँछन्। सन्दर्भ थियो,कालापानी, लिम्पीयाधुरा र लिपुलेकलाई आफ्नो भूमी उल्लेख गर्दै नेपालको निर्णय बारे नेपाली विदेशमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा मनिषाले रिट्वीट गरेको। जसमा मनीषाले लेखेकी थिइन् 'हाम्रो सानो देशको आत्मसम्मान कायम राखेकोमा धन्यवाद। अब तीन महान देशहरू बीच शान्तिपूर्ण र मर्यादित वार्तालापको लागि अपेक्षा।'

त्यति नै थियो मनिषाको ट्विट।अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखाङ्कित गरेको एउटा टिप्पणी।

न्युज एंकर विकास भदौरियाले मनिषाले भारतमा बसेर अथाह पैसा र प्रख्याति कमाएको तर आज भारत बिरूद्ध चीनसँगै उभिएको भन्दै कुरा सुरु गरे। भदौरियाले भने “खाते भारत का हैं और गीत चीन के गाते हैं।” यी टिभी च्यानलहरूको बौद्धिक कंगालीपना देखेर आश्चर्य लागेर आउँछ। के अलि पढे लेखेका शिक्षित सम्पादक यी च्यानलहरूमा छँदै छैन ? के जाली समूहलेनै कुन समाचार प्रसारण गर्नु पर्छ के गर्नुहुँदैन भने सबै निर्णय गर्छ? वा हरेक च्यानलहरूमा अलि पढेलेखेका शिक्षित मानिस पनि छन् जो चुप लाग्न बाध्य छन?

मेरो यो प्रश्नको जवाफमा एक युवा पत्रकार साथी भन्छन् मोदी सरकार आएदेखिनै खासगरी जेएनयु प्रकरण पछि ’राष्ट्रवादी’ र ’राष्ट्रविरोधी’ भनेर जुन ठुलो कथन (लार्जर न्यारेटिभ)का ढर्रा बनाइएकोे छ, त्यसमै हरेक कुरालाई जोड्ने मामिला हो यो। एउटा मापदण्ड के बनिरहेको छ भने समाचारलाई त्यसरी प्रस्तुत गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ। जसलाई साँच्चै पत्रकारिता गर्नुछ उनीहरूले यी च्यानलहरूभन्दा बाहिर विकल्प खोजून्।

बिहान प्रसारण गरिएको यो समाचारले दिउसो सम्ममा बहसको रूप लिने अवस्था सिर्जना गरिएको थियो। जुन सामान्यतया धेरै च्यानलहरूको चलन भएको छ। जब यो खबर उक्त टिभी च्यानलकी समझदार र अनुभवी न्युज एंकर रोमाना इसर खानको हातमा पुग्यो... उनले पनि बिहानमा जस्तै त्यो समाचारलाई प्रस्तुत गरिन्। रोमानालाई पनि लाग्यो भारतले मनीषा कोइरालालाई सबै कुरा दियोे तर,आज उनी चीनको पक्षमा उभिरहेकी छिन्।

एउटा अनुभवि न्युज एंकर शक्तिको दबाब तथा जान/अन्जानको मूर्खताले कसरी दलदलमा फस्छ भन्ने ज्वलन्त उदाहरण रोमाना हुन। रोमानाले कार्यक्रममा प्रश्न गरिन, 'सत्तरी बर्षको लामो इतिहासमा पहिलो पटक नेपालले भारतको आँखामा हेरेर के देखाउन खोजिरहेको छ?'

रोमानाको यो प्रश्न कुनै पत्रकारको नभई साना छिमेकी देशको सार्वभौमिकताको अवहेलना गर्ने शासक वर्गको सदस्यको हुन सक्छ!

उनको यो कार्यक्रममा दुई विज्ञहरू बोलाइएका थिए। भाजपाका प्रेमशंकर शुक्ला र सेनाका अवकाश प्राप्त मेजर जनरल जी.डी बख्सी। यी दुबै जनालाई नक्साको मामिला के हो भन्नेबारे थाहै थिएन, तर,बिना कुनै तयारी चीन र पाकिस्तान विरुद्ध त बोल्न सकिहालिन्थ्यो!

दुवै जनाले यसमा चीनको षड्यन्त्र रहेको प्रकाश पारे। जनरल बक्षीले विगतका सरकारहरूलाई दोष दिँदै जेएनयुबाट वामपन्थी पठाएर नेपालमा माओवादीलाई मजबुत बनाएको फल आज भारतले भोगिरहेको बताए। उनले पृथ्वीको एक मात्र हिन्दू राष्ट्र लाई बचाउन आग्रह गर्दा आफ्नो कुरा खोलेका हुन। अर्का विद्वान प्रेमशंकर शुक्लाले नेपालका माओवादी नेता प्रचण्डलाई जेएनयूमा भारतले हुर्काएकोमा दुःख व्यक्त गरे।

वास्तवमा प्रचण्डको जेएनयूसँग कुनै साइनो थिएन। अवश्य बाबुराम भट्टराईले जेएनयूबाट विद्यावारिधी गरेका हुन। कार्यक्रममा दुबै जनाको कुरा सुनिरहेकी एंकर रोमानालाई लामो समय उनीहरूलाई समय दिनु ठीक होइन भन्ने महसुस भएपछि तपाईँहरूको जवाफ फर्काउन काँग्रेसका कोही छैन भन्दै चाँडै कार्यक्रम समाप्त गरिन।

कालापानी, लिपुलेक विवाद वास्तवमा के हो? दुई देशहरू कहाँ चुके र किन अवस्था यति तनावपूर्ण भयो भन्नेबारे कुनै पनि च्यानलमा तार्किक बहस सुन्न पाइएन। समयमै संवादको माध्यमबाट समस्याको समाधान किन खोजिएन? हो नेपालका दुई छिमेकीहरू छन् भारत-चीन। 

भारतसँग प्रगाढ सांस्कृतिक, सामाजिक र भौगोलिक निकटताका बावजुद नेपाल चीन नजिक भयो भनेर किन भनिँदैछ? यसको बारे कसैले चर्चा गरेको छ? चीनको इसारामा नेपालले नयाँ नक्सा जारी गरेको भन्ने कुराको गहिराइमा पुग्न जरुरी छ।

वास्तवमा कालापानीमा भारत र लिपुलेकमा चीनले नेपाललाई टोकेको छ। यो कुरा बुझ शासकहरू र तिनका पिछलग्गु पत्रकारहरू! 'सानो राष्ट्रको सानै सार्वभौमिकता'भन्ने उपनिवेशवादी मानसिकताबाट बाहिर आउनु जरुरी छ। सार्वभौमिकता कुनै देशको भौगोलिक आकार र आर्थिक स्थिति द्वारा मापन हुँदैन। जबसम्म यो बुझ्नुहुन्न, तपाईंलाई छिमेकीहरूले घृणा मात्रै गरिरहनेछन्। र यो सबैको दोष कहिल्यै चीन त कहिल्यै पाकिस्तानमाथि थोपर्नुहुनेछ।!

(आनन्द स्वरूप वर्मा भारतमा वरिष्ठ पत्रकार, अनुवादक र लेखकका रुपमा स्थापित छन्)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय