भारतले भन्यो, 'नेपालको नयाँ नक्सा हामी स्वीकार्दैनौं'

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौं । नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले पहिलो प्रतिक्रिया दिएको छ। 

भारतीय विदेशमन्त्रालयले पहिलो प्रतिक्रिया दिँदै नेपालको नयाँ नक्सा अमान्य रहेको जनाएको छ।

विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालले नयाँ नक्सामा भारतीय भूभागसमेत समावेश गरेको  भन्दै भारतलाई स्वीकार्य नहुने उल्लेख गरेका छन्।

यो मामिलामा भारतको अडान के हो भन्ने बिषयमा नेपाल जानकार रहेको भन्दै भारतले वार्तामार्फत् सीमा समस्या समाधानका लािग वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरेको छ।

यस्तो छ भारतीय विदेशमन्त्रालयको विज्ञप्ति

''नेपाल सरकारले आज नेपालको परिमार्जित नक्शा जारी गरेको छ, जसमा भारतको केही  भूभाग समेत समावेश छन्। नेपालले एकतर्फी जारी गरेको यो नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। यो कार्य कूटनीतिक वार्ताको माध्यमबाट विद्यमान सीमासम्बन्धी मुद्दाहरूको समाधान खोज्ने द्विपक्षीय समझदारीको विरुद्ध छ।

कृतिम दाबीहरु सहित गरिएको भूगोलको विस्तार भारतले स्वीकार गर्नेछैन। नेपाल यस मामिलामा भारतको स्थिर अडानसँग राम्ररी परिचित छ। त्यसैले हामी नेपाल सरकारलाई यस्तो अनुचित दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं। आशा छ नेपाली नेतृत्वले सीमाका मुद्दाहरूको समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।''

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय