१८ बर्ष माथिकालाई अनिवार्य सैनिक तालिमसहित सांसदहरुलाई ८ बुँदे खुल्ला अनुरोधपत्र

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौं । सिमानामा काँडेतार अभियानका तर्फबाट अभियन्ता, नायक तथा निर्माता नवल खडकाले संघीय संसदका माननीयहरुका नाममा खुल्ला अनुरोध पत्र लेख्नुभएको छ । उहाँले लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै यसैअनुरुप संविधानमा भएको नक्सालाई समेत सच्याउन विलम्ब गर्न नहुने बताउनुभएको छ ।

पत्रको पूर्णपाठ
श्री संघीय प्रतिनिधि सभाका माननीय सदस्य 
नयाँ बानेश्वर, काठमाडौं, नेपाल । 

बिषय : खुल्ला अनुरोधपत्र ।

माननीयहरु,
सर्वप्रथम सरकारको नीति तथा कार्यक्रममा उल्लिखित लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य छ । यसैअनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गरिनु हुँदैन । साथै अब नेपाली जनताले राष्ट्रलाई महाशक्तिको क्रिडास्थल बन्न दिनु हुँदैन भन्ने चाहनाविपरीत एमसिसीलाई जस्केलाबाट छिराई सदनमा पास गराउन खोजिएकोमा आपत्ति जनाउँछु । 

माननीयहरुलाई विदितै छ– नेपाल कहिल्यै कसैको उपनिवेश बनेन । तर शासकहरुका स्वार्थका कारणले खासगरी सुगौली सन्धिपछि ब्रिटिस अधिनस्थ भारत र हालको भारतीय शासकहरुको हेपाईले आक्रान्त भइरह्यो । जुन हाल भइरहेका अनेकन घटनाहरुले सम्झाइरहन्छन् । हाल भारतीय पक्षले हाम्रो सीमाभित्र निर्माण गर्दै गरेको बाटोले पुराना सम्झनाहरुलाई बल्झाएको छ । 

यो मुलुकको एकीकरणमा हाम्रा सबै जातजाति जनजातिका पुर्खाहरुले रगत बगाएका छन् । देशको सिमाना कायम गर्नका लागि हाम्रा हजारौं हजार वीर पुर्खाले पानी पिउन नपाएर प्याक प्याक्ति हुँदै अंग्रेज फिरङ्गीहरुको तोप, बारूदसँग लडेका छन् । यसरी आर्जेको मुलुक हो । हाम्रा पुर्खाका पसिना र रगतले आर्जेको भूमि हो । तर आज भारतीय पक्षहरुबाट भइरहेका बारबारका प्रयासहरुबाट हाम्रो मुलुको सीमा कायम नरहने अवस्था बन्दैछ । यसकारण मुलुकको सार्वभौमिकता र आत्मसम्मान रक्षार्थ देशका सम्पूर्ण नेता, राजनीतिक पार्टी एवं नागरिक एकबद्ध हुनुपर्ने बेला भएको छ । जसको आव्हान र संकल्प संघीय प्रतिनिधि सभाका माननीय सदस्यहरुले गर्नु पर्नेछ ।
 
यसर्थ माननीय सांसदहरुलाई मुलुकको सार्वभौमिकता र आत्मसम्मान रक्षार्थ निम्नलिखित मागहरुलाई सम्बोधन गरिदिनु हुन खुल्ला अनुरोधपत्र पेश गर्दछु । 
१) एमसीसी आयोजनालाई यथास्थितिमा पारित गरिनु हुँदैन । राष्ट्रको अपमान र नेकपाको केन्द्रीय कमिटीको निर्णयलाई कुल्चँदै झ्यालबाट छिराउने प्रयासप्रति दुःख ब्यक्त गर्दै एमसीसीबारेको नेकपाको सुझाव कमिटीले औंल्याएका र विदेशी सेना नआउने, नेपालकै संविधान, नियम, कानुन मुताविक कार्यसम्पादन हुने प्रष्ट बुँदा लगायत राष्ट्रको स्वाभिमानलाई उँचो हुने अवस्थामा मात्र यसलाई पारित गर्न सबै माननीय संसदहरुलाई अनुरोध गर्छु । 
२) सरकारको नीति तथा कार्यक्रममा उल्लिखित लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य छ । यसैअनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गरिनु हुँदैन ।
३) सिमानाका बिषयमा कुटनैतिक वार्ता दुईपक्ष, आवश्यक परे वा स्वीकारेमा त्रिपक्ष (भारत, चीन, नेपाल)बाट समस्या समाधान गरिनु उचित हो तर यसका लागि भारतीय पक्ष तयार नहुन सक्छ । यसर्थ अन्तर्राष्ट्रिय अदालतमा जाने मार्ग प्रशस्त गरिनु पर्छ ।
४) सरकारको नीति तथा कार्यक्रममा उल्लिखित कोरोना महामारीबिरूद्ध केन्द्रित हुने विषय स्वागतयोग्य छ र यसमा प्रभाकारी ढङ्गबाट स्वास्थ्य उपचार र व्यवस्थित राहतको माग गर्दछु । 
५) भष्टाचारप्रति शून्य सहनशीलता कार्यमा रुपान्तरण भई, अपराधीलाई सशक्त कारवाहीको माग गर्दर्छु । 
६) श्रमिक, श्रमजीवी, बेरोजगारीका लागि रोजगारी र विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने उचित ब्यबस्था तुरुन्तै गरियोस् ।
७) १८ बर्षमाथिका सम्पूर्ण नेपालीलाई सैनिक तालिम अनिवार्य दिने व्यवस्था गरियोस् ।
८) विवाद नभएका सीमाक्षेत्रमा सिमानामा काँडेतार लगाउन शुरु गरियोस् । 

निवेदक 
सिमानामा काँडेतार अभियानको तर्फबाट अभियन्ता, नायक र निर्माता
नवल खड्का
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय