समुदायमा मिलेर बसौं, क्वारेन्टाइनमा बसेकालाई अपराधीकरण नगरौं

dainikonline
प्रा. मधुसूदन सुवेदी | जेठ ७, २०७७ बुधबार | 0

हरेक दिन कोरोना भाइरस नयाँ–नयाँ जिल्लामा बिस्तार हुँदै जाने र संक्रमित थपिने तथा मृत्युसमेत हुने क्रम बढेपछि समुदायस्तरमा डर, त्रास फैलिएको छ । डर लाग्नु स्वभाविक हो तर संकटको सामना ठिक ढंगले गरिएन भने त्यसको परिणाम सकारात्मक हुनुको सट्टा नकारात्मक हुन्छ भन्ने बिर्सनु हुँदैन । 

देश दुई महिनादेखि लकडाउनमा छ । आम मानिसहरुको आवतजावत लगभग रोकिएको छ । गृह प्रशासनले पनि मानिसहरुलाई घरभित्रै बस्न र अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको छ । नियमित औषधि सेवन गर्नुपर्नेले औषधि पाएका छैनन् । बिरामीहरु अस्पताल जान सकेका छैनन् । खाद्यसामग्री किनबेच गर्ने ठाउँहरु ब्यबस्थित हुन सकेका छैनन् । अत्यावश्यक वस्तुको बजार ब्यबस्थित गर्न नसक्दा मानिसहरुले दिन प्रतिदिन दुःख झेलिरहेका छन् । लकडाउनले कोरोना संक्रमण रोक्ने होइन, धकेल्ने हो । धकेलिएको समयमा तयारी गर्ने हो । तयारी गर्ने काम हामी सबैको हो तर मुख्य जिम्मेवारी राज्य संयन्त्रमा बसेकाहरुको हो । के हामीले न्यूनतम तयारी पूरा गरेका छौं ? यसको उत्तर पनि  हामी सबै मिलेर इमान्दारितापूर्वक दिने हो । 

क्वारेन्टाइन जेल हैन र  क्वारेन्टाइनमा बसेका व्यक्तिहरु बन्दी होइनन् 
अन्य ठाउँबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना सङ्क्रमणको शंका लागेमा क्वारेन्टाइनमा बस्ने र अरुलाई कोरोना भाइरस नसार्ने स्थिति बनाउन आशंकित व्यक्तिहरुलाई घरमा भन्दा क्वारेन्टाइनमा राखिन्छ । त्यस्ता क्वारेन्टाइनस्थल तोकेको मापदण्डअनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले क्वारेन्टाइनमा बस्न भनिएको हो । के हामीले गाउँगाउँमा बनाएका क्वारेन्टाइनमा खानेपानी, हातधुने साबुन, चर्पीको व्यवस्था, तराईमा लामखुट्टेबाट बच्न झुल, एक व्यक्तिदेखि अर्कोसम्मको शारीरिक दूरी र उचित खानाको प्रबन्ध मिलाएका छौं ? क्वारेन्टाइनको अवस्था र मापदण्ड हेर्नसक्ने निकाय छ कि छैन ? यदि हामीले यी विषयमा ध्यान दिएका छैनौं भने क्वारेन्टाइन क्षेत्रबाट नै संक्रमित थपिने झन ठूलो डर हुन्छ । क्वारेन्टाइनहरु कोरोनाको स्रोत हुन नदिन क्वारेन्टाइनमा हुनुपर्ने न्यूनतम मापदण्ड पूरा गरौं, अन्यथा एउटा क्वारेन्टाइनमा एकजनामा मात्र कोरोना संक्रमण भएमा त्यहाँ बसेका धेरैलाई सहजै सर्न सक्छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अधिकांश मान्छेको बुझाइमा खोट छ । क्वारेन्टाइन जेल हैन र  क्वारेन्टाइनमा बसेका व्यक्तिहरु निरंकुशतन्त्रका बन्दी पनि होइनन् । ती हाम्रै परिवारका सदस्य, नातेदार, साथीहरु, इस्टमित्र वा छिमेकी हुन् । भारत वा अन्य मुलुकबाट फर्केर आएका आफ्नै दाजुभाइ दिदीबहिनीको पीडामा मलम लगाउनुको सट्टा पीडाको घाउमा नुनचुक छर्किने काम हामी कसैले गर्नु हुँदैन । उनीहरुलाई यतिबेला माया, स्नेह र सहयोगको जरुरी छ ।  सहयोग गर्ने र उनीहरुको आत्मविश्वास बढाउने जिम्मेवारी पनि हाम्रै हो । कतिपय ठाउँबाट क्वारेन्टाइनमा बसेका मान्छेहरु भागेका समाचार आइरहेका छन् । उनीहरु किन भागे ? उनीहरुको मनोविज्ञान कस्तो छ भन्नेबारेमा सोधखोज गर्दै समस्याको निराकरणतिर लाग्नु हामी सबैको कर्तव्य हो । 

कोरोनाबाट सावधानी अपनाउने भन्दै सडक र गल्लीहरूमा अहिले एम्बुलेन्स नै छिर्न नमिल्ने गरी तारबार गरिएका छन् । गल्लीगल्लीमा उनीहरुले बाटोको बीच भाग खनेर, काठ वा बाँसको तगारो राखेर आवतजावतमा रोक लगाएका छन् । स्थानीय बाहेक अरुलाई नआउन सूचना टाँसिएको छ । स्थानीय युवाहरु चोकचोकमा लाठो लिएर बसेका छन् । स्थानीयले मनपरी तरिकाले गरेका तारबार अत्यावश्यक काम परेर बाहिर निस्कनेलाई सास्ती भएको छ । एकपटक ठण्डा दिमागले सोचौं, के सुरक्षामा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा बाधा पुराउनेलगायत अमानवीय कार्यले कोरोनाको संक्रमण रोकिन्छ ? यस्तो ब्यबहारले अत्यावश्यक सेवामा काम गर्नेहरूलाई घर, कार्यालय आउजाउमा समस्या भएको छ । हामी रोगसँग लड्दै हो कि मान्छेसँग ? यदि रोगसँग लड्ने हो भने यसमा खास विधिहरु छन् र हामी सबैले रोग लाग्न नदिन प्रयत्न गरौँ । त्यसैगरी स्थानीयको परिभाषा के हो ? टोल, गाउँ, वडा, पालिका, जिल्ला वा प्रदेश ? टोल विकास समितिले आफ्नो टोललाई स्थानीय, मेयरले पालिकालाई र मुख्यमन्त्रीले आफ्नो प्रदेशलाई । यतिबेला हामी सबै मिलेर विश्वव्यापी महामारीविरूद्ध लड्न प्रयास गर्नुपर्नेमा एकआपसलाई नै निषेधको बाटो अपनाउनु कदापि राम्रो होइन । यसरी बाटो छेक्दा अत्यावश्यक काममा हिड्डुल गर्न मात्र होइन, चाहिएको बेला एम्बुलेन्स, दमकल आउन समेत अवरोध हुनसक्छ । समयमा दमकल, एम्बुलेन्स आउन नसक्दा त्यो हामीले आफ्नै लागि तयार पारेको जोखिमको अर्को भुङ्ग्रो सावित हुनसक्छ ।

सकारात्मक बनौं, कोरोनासँग लडौं 
कोरोना संक्रमणभन्दा पनि बढी यसको मनोवैज्ञानिक त्रासले जनमानसमा झन नकारात्मक असर पार्दैछ । हामी सबै सुरक्षित र संयमित बनौं । हल्लाको पछाडि नलागौं, विज्ञानमा विश्वास गरौँ । हामी मानसिकरुपमा बलियो नहुँदा शारीरिकरुपमा पनि कमजोर हुन्छौं । धेरै मानिसहरू कोरोना लागे पनि मानसिक रूपमा बलियो भएको हुनाले कोरोनालाई जित्न सफल भएका छन् । सकारात्मक सोंचका साथ कोरोनासँग लडौं ।
 

प्रा. मधुसूदन सुवेदी

सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय