लकडाउन र आधुनिक दासता

dainikonline
दीपा अर्याल | जेठ ४, २०७७ आइतबार | 0

नेपालमा कोरोनापछिको अवस्था विकराल छ । सिंगो देश लकडाउनमा छ । सबैतिर त्रास अस्थिरता छ । समाज र परिवारहरु त्रास र तनावमा छन् । अधिकांश परिवारमा सबै सदस्यहरु एकै ठाउँमा छन् । दशैंमा मात्र गाउँ फर्किनेहरु कोरोनाले गाउँ जाने बाटो देखायो । मान्छेलाई हात धुनेदेखि आचरणमा केही सुधार देखियो । तर महिलाहरुको कार्यबोझ र घरायसी कामको बाँडफाँडमा कुनै परिवर्तन देखिएन । दशैं तथा चाडपर्वहरुमा झैं महिलाहरुको कार्यबोझ दोहोरिएको महशुस आम महिलाहरुले गर्दैछन् । दिनरात सेवामूलक कार्यमा महिलाहरु व्यस्त हुनुपरेको छ । पछिल्लो समयमा आधारित प्रतिनिधिमुलक घटनाहरु अध्ययन गरौं । 

घटना १
काठमाडौं शहर बस्ने सुनिता (नाम परिवर्तन) राम्रो संस्थामा जागिर गर्छिन् । लकडाउनको समयमा उनको दैनिकी कष्टकर छ । नित्यकर्म सकेर खाजा खान पकाउनु पर्छ । छिटोछिटो घरधन्दा सकेर अफिसको ‘वर्किङ फ्रम होम’मा लाग्नुपर्छ । अनलाइन मिटिङको तयारी र प्रस्तुति गर्नु छ । घरैबाट कामको उपलब्धि प्राप्त गर्नु छ । दैनिक कामको रिपोर्टिङ र अपडेट गर्नु छ । छोराछोरीसँग समय मिलाउनु छ । श्रीमान् र सबै परिवारको सदस्यहरुको चित्त बुझाउनु छ । तर घरका परिवारका सदस्यहरुको विचार परिवर्तन भएको छैन । घरको काम बुहारीले मात्र गर्नुपर्छ भन्ने छ । उनी सबै काम भ्याई नभ्याई सक्दैछिन् । उनलाई लकडाउनमा दोहोरो कामको भार परेको छ । घर र अफिसको कामले थिचेको छ । अरु बेला परिवारका सदस्यहरुद्वारा अफिस जानका लागि सक्दो सहयोग पाउथिन् । अहिले सबै परिवारको सदस्यहरु फुर्सदमा हुँदा झन सहयोग पाएकी छैनन् । 

घटना २
काठमाडौं शहरकै रमा (नाम परिवर्तन) विशुद्ध गृहणी हुन् । अहिले परिवारका सबै सदस्यहरु घरमै छन् । स्कुल, कलेज बन्द छन् । शुरुका केही दिनहरुमा सबै परिवारका सदस्यहरु सेवा गर्न पाउँदा औधी खुशी थिइन् । कामको थुप्रोलाई खुशीका साथ सम्पन्न गर्थिन् । बिस्तारै रहरहरु दुःखमा बदलिँदै गए । घरको काम थपिँदै गयो । उनको थकान पनि बढ्दै गयो । कामको शुरुवात बिहानै चिया पकाउनेदेखि खाना पकाउने, खुवाउने, भाडावर्तन सफा गर्ने । थरिथरिका खानेकुरा पकाउनु पर्छ । भाँडा पखाल्ने । लुगा धुने । सरसफाई गर्ने । घर सरसफाई गर्ने । अफिस र स्कुल जाने सबैजनालाई दिनभर लवाई खुवाई, हेरचाह गर्नु परेको छ । परिवारमा सबैको चित्त बुझाउनु परेको छ । साधारण अवस्थाको तुलनामा ५ गुणाले काम बढेको छ । तनमा दुःख छ तर मनमा दुःख छैन । परिवारको खुशीमा दङ्ख छिन् । सेवा गर्ने अवसरको रुपमा लिएकी छन् ।
 
घटना ३
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका सुमित्रा नेपालीको श्रीमान केही समयदेखि वैदेशिक रोजगारीमा छन् । दुःखसुख गरेर बनाएको घर भूकम्पले भत्कायो । घर निर्माणको ऋण तिर्न परदेसिनु पर्याे । लकडाउनको कारण विदेशमा समेत काम बन्द भए । घरमा रेमिट्यान्स पठाउन सकिरहेका छैनन् । यता छिमेकीले ऋण नतिरेको भनी कचकच गरिरहेका छन् । यतिबेला सुमित्रालाई मानसिक तनाव र आर्थिक समस्याले थिचेको छ । घरधन्दा र खेतीपातीको काम सबै एक्लै गर्नु छ । त्यो घरायसी कामबारे सोच्नै सकेकी छैनन् ।
 
घटना ४
सिन्धुपाल्चोककै सीता (नाम परिवर्तन) गाउँमा बस्छिन् । लकडाउनले उनको काममा खासै प्रभाव परेको छैन । उनको पनि कामको चाप बढेको छ । चुलो चौको, घरगोठ, खेतबारी सबै ठाउँमा भ्याउनु परेको छ । गाउँले परिवेशमा उनको काम खेती किसान, घरधन्दा, हेरचाह सबै काम गर्नु पर्नेछ । श्रीमान्बाट खासै साथ र सहयोग पाएकी छैनन् । घरका पुरुषहरु चोक तथा पसलहरुमा गफ गर्न फुर्सद हुँदैन । उनको गाउँको अधिकांश पुरुषहरु जुवातास खेल्ने । जाँडरक्सी खाने । अन्य कुलतहरुमा लाग्ने गरेको पाइन्छ । कुलतमा लागेका पुरुषद्वारा घरेलु हिंसा पनि हुने गरेको छ । 

उल्लिखित घटनाहरुले वर्तमान जटिल परिस्थितिमा महिलाहरुका पीडालाई प्रतिनिधित्व गर्दछन् । महिलाका पीडासँग पितृसत्तायुक्त समाजको भूमिका जोडिएको छ । हालको लकडाउन अवस्थामा महिलाहरुको दुख पीडा थप भएको छ । एकातिर घरको कार्यभार थपिएको छ । अर्कोतिर घरका पुरुष तथा अन्य सदस्यहरुको हेरचाह र सेवा गर्नु पर्नेछ । कार्यालयमा काम गर्ने महिलाहरु दोहोरो तेहोरो चेपुवामा परेका छन् । 

पितृसत्ताले महिलालाई दोस्रो दर्जाका रुपमा हेर्ने गर्दछ । पितृसत्तायुक्त समाजको जालोले पुरुषहरुलाई घरायसी तथा सेवामूलक काम गर्न रोकेको छ । समाजको मानसिकता परिवर्तन भएको छैन । घरायसी काम महिलाको मात्र हो । यो काम पुरुषले गर्दा सामाजिक प्रतिष्ठा र इज्जत खलल हुने बुझाई व्याप्त छ । 

पछिल्लो हिंसाजन्य घटनाहरुको प्रतिवेदनलाई अध्ययन गर्दा लकडाउनको अवधिमा ४ सय ९२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ९९ प्रतिशत महिला तथा किशोरीहरु छन् । आत्महत्याको सतही कारण आर्थिक समस्या, मानसिक तनाव, पारिवारिक विवाद भनिएतापनि मुख्य जड कारण पत्ता लगाउनेतर्फ कसैको ध्यान देखिदैन् । आत्महत्याको जड कारण खोतल्दै जाने हो भने महिला हिंसा र दुव्र्यवहार देखा पर्दछन् । महिला हिंसा र दुव्र्यवहारको मुख्य जड कारण आधुनिक दासता हो । हिंसा, दुव्र्यवहार, यौन शोषण, बाध्य श्रम, मानव बेचविखन आधुनिक दासताको स्वरुपहरु हुन् । 

लकडाउनको समयमा महिला तथा किशोरीहरुलाई यौनजन्य हिंसाका घटनाहरु बढेको प्रतिवेदनहरुमा देखाइएको छ । अधिकांश महिलाहरु नजिकको नाता, साइनो सम्बन्ध भएका पुरुषहरुद्वारा घरेलु तथा यौनजन्य हिंसाको शिकार हुनु परेको छ । लकडाउनको मौका छोपी गाउँघरहरुमा किशोरीहरुमाथि हिंसाको दर बढेको छ । विशेषगरी बुवाआमा गुमाएका किशोरीहरु र एकल महिलाहरु यौनजन्य हिंसाको शिकार भएका छन् । अधिकांश महिलाहरु आफ्नै श्रीमानद्वारा हिंसामा परेको देखिन्छन् । यौनजन्य हिंसाको मुख्य कारण महिलाको यौनिकतामाथिको नियन्त्रणकारी सोंच हो । महिलालाई मनोरञ्जनको साधन वा वस्तुको रुपमा हेरिनु हो । बेरोजगारी, गाउँघरमा नयाँ मान्छेहरुको आवतजावत वृुद्धि हुनाले एकल महिला, अभिभावकविहीन किशोरीहरु, अपाङ्गता भएका महिलाहरू हिंसाको उच्च जोखिममा छन् ।

अन्तमा, आधुनिक दासताको मुख्य जड पितृसत्ता हो । लकडाउनले आधुनिक दासतालाई प्रष्ट मलजल गरेको पाइयो । कोरोना संकटपछि गरिबी, बेरोजगार, आर्थिक अभाव बढ्ने निश्चित छ । गरिबी र अभावसँगै महिलाहरु दासताको भुमरीमा पर्नेे पक्का छ । त्योतर्फ सबै सचेत र सजग हुन जरुरी देखिन्छ । 

एकाध घटनाबाहेक महिलाहरुको कार्यबोझमा कमी र सहयोग भएन । महिला देवी हुन् । महिला घरको लक्ष्मी हुन् । महिला दुःखी र दासी हुने घरपरिवार खुशी हुन सक्दैन । फेरि महिलाहरु अरु कोही पराई नभएर आमा, दिदीबहिनी, श्रीमती हुन् । तसर्थ, सिङ्खो परिवारको सुख, खुसी र समृद्धिका लागि आपसी सहकार्य र हेरचाहको खाँचो छ । घरायसी तथा सेवामूलक काममा पुरुषहरुले सहयोग गर्नुपर्छ । हर महिलाहरु पुरुषहरुद्वारा हुने साथ, सहयोग र सहकार्यको प्रतिक्षामा छन् । 
 

दीपा अर्याल

(अर्याल महिला अधिकारको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय