प्रसूति वार्डमा हमला : शिशु र आमाहरु सहित २४ जनाको मृत्यु

dainikonline
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0

काबुल। अफगानिस्तानको राजधानी काबुलमा डेलिभरी वार्डमा चरमपन्थी हमला हुँदा २४ जनाको मृत्यु भएको छ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरुमा आमाहरू छन्, जो बच्चा जन्माउन अस्पताल आएका थिए।

मृतकमा नवजात शिशु र अस्पतालमा कार्यरत नर्सहरू पनि छन्। यस कट्टरपन्थी आक्रमणमा अन्य १६ जना घाइते भएका छन्।

सामाजिक सञ्चालमा यस आक्रमणका दर्दनाक तस्विरहरु भाइरल भइरहेका छन्।

जसमा सुरक्षाकर्मीहरूले नवजात शिशुलाई हातमा लिएको देख्न सकिन्छ। बच्चाहरू कम्बलमा रगतले लत्पतिएको अवस्थामा छन्।

मंगलबार भएको यो आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। उक्त आक्रमणको चौतर्फी भत्सर्ना भइरहेको छ। नेपालले पनि यस हमलाको विरोध जनाएको छ।

मंगलबारनै अफगानिस्तानमा एउटा अर्को हमला समेत भएको थियो। जसमा ३२ जनाले ज्यान गुमाएका छन्।

देशको पूर्वी भाग नांगहरमा अन्त्येष्टि समारोहको क्रममा एक आत्मघाती बम विस्फोट हुँदा त्यहाँ उपस्थित ३२ जनाको मृत्यु भएको छ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले ताबिलवान र अन्य कट्टरपन्थी समुह बिरूद्ध आक्रामक कारवाही फेरि सुरु गर्न आदेश दिएका छन्।

उनले हमला रोक्न दिएको चेतावनीलाई उनीहरूले बारम्बार बेवास्ता गरेको आरोप लगाएका छन्।

अन्त्येष्टि समारोहमा भएको विस्फोटको जिम्मा आइएसले लिएको छ। एउटा प्रहरी कमाण्डरको दाहसंस्कार चलिरहँदा उक्त आत्मघाती हमला भएको थियो।

उक्त घटनाको जिम्मा अतिवादी समुह इस्लामिक स्टेट (आइएस)ले लिएको छ। तर,प्रसूती वार्डमा भएको आक्रमणको जिम्मा कसैले लिएको छैन।

दश्त-ए-बारची अस्पतालमा भएको आक्रमणमा तालिवानले आफ्नो हात नरहेको जनाएको छ।

अस्पतालमा आक्रमणपछि त्यहाँबाट १९ बच्चाहरूलाई शहरको अर्को अस्पताल लगिएको छ तर धेरै आमाहरूलाई उनीहरूको बच्चा मरेको जस्तो लाग्छ।

न्युयोर्क टाइम्सका अनुसार अफगानिस्तानमा मंगलबार बिभिन्न आक्रमणमा कम्तिमा सयौं व्यक्तिको मृत्यु भएको छ।

यी आक्रमणहरूले शान्ति प्रयासहरूको सुस्तताका साथै दशकौंदेखि भइरहेको हिंसा अन्त्य गर्ने आशालाई धमिलो पारिदिएको छ।

स्थानीयहरुका अनुसार उनीहरूले सुरुमा दुईवटा बम बिष्फोटको आवाज सुने र त्यसपछि गोली चल्न थाल्यो।

यो आक्रमण मंगलबार बिहान दश बजे तिर सुरु भएको हो।

उक्त अस्पतालबाट भाग्न सफल भएका एक जना डाक्टरले बीबीसीलाई बताए अनुसार आक्रमणको बेला करिब १४० मानिस अस्पतालमा थिए।

हमला सुरू भएको बेला रमजान अली नामका व्यक्ति पसल नजिकै थिए।

उनले समाचार एजेन्सी रोयटर्सलाई भने,''आक्रमणकारीहरूले अस्पतालमा अन्धाधुन्ध गोली हानीरहेका थिए।आक्रमणको क्रममा आमाहरुले बच्चालाई जन्म दिइरहेका थिए''।

स्थानीय अधिकारीका अनुसार अफगान स्पेशल फोर्सले १०० महिला र बालबालिकालाई अस्पतालबाट निकालेको छ।

ती मध्ये केही विदेशी पनि छन्। आक्रमणमा संलग्न ३ आक्रमणकारीलाई सुरक्षा बलले तत्काल मारेका थिए।

तीनै आक्रमणकारीहरू पुलिस अफिसरहरू जस्तै बर्दी लगाएर अस्पताल प्रवेश गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार जैनब नामकी एक महिलाले हमलाको केही समय अगाडी मात्र बच्चालाई जन्म दिएकी थिइन्।

उनले आफ्ना नवजात शिशुको नाम ओमिद राखेकी थिइन्। जब अस्पतालमा हमला भयो उनी त्यसबेला शौचालय गएकी थिइन्। बाथरुममै चिच्याइरहेको ठूलो आवाज आउन थाल्यो।

आफूले जन्माएको बच्चाको सुरक्षा र हेरचाहको बारेमा सोच्दै उनी दौडिइन। वार्डमा पुग्दा चार घण्टा अघि जन्मेको उनको आशा मरिसकेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय