स्मृति | बिर्सेको छैन- खामे लेख र कुमाखमा खाएको शपथ

साथमा माओवादी जनयुद्धको चर्चित रोल्पा लिस्ने-गाम भिडन्तको दुर्लभ भिडियो

dainikonline
रमेश मल्ल | बैशाख १७, २०७७ बुधबार | 0

कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेना शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो। 

चैत्र २९ गते दाङ सतबरियास्थित सशस्त्र प्रहरी वेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जामा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो। जनमुक्ति सेनाको निशानामा प्युठान सदरमुकाम थियो। 

जनमुक्ति सेनाको गतिविधि थाहा पाएको शाही सुरक्षा फौजले २०५९ बैसाख १९ गते रोल्पा तेवाङ र लिस्ने इलाकामा आफ्नो ठूलो फौज परिचालन गर्यो। जनमुक्ति सेनाले पनि शाही फौजको गतिविधि थाहा पाएकोले लिस्ने तेवाङको घेराबन्दीलाई प्रत्याक्रमणमा बदल्ने योजना बनायो। शाही फौजले स्थल र हवाई हमलामार्फत गरेको आक्रमणलाई जनमुक्ति सेनाले मोर्चाबन्दी युद्धमार्फत प्रत्याक्रमण गरि धुलिसाफ पारिदियो। यो लडाईमा शाही सुरक्षा फौजका कतिपय सिपाहीहरु ज्यान जोगाउन हतियार भुसमा लुकाएर, कपडा फुकालेर नाङ्गै भुतुङ्गै सुईकुच्चा ठोकेका थिए। 

उक्त लडाईबाट जनमुक्ति सेनाले २ थान एलएमजी, ५ थान एसएलआर, १ थान एसएमजी र गोलीहरु तथा ८१ एमएम तोपका गोलाहरु बरामद गर्यो। लिस्नेको उक्त लडाईमा जनमुक्ति सेनाका प्लाटुन सहकमाण्डर कमरेड कमला बुढाथोकी (सुनिता) लगायत ६ जना जनमुक्ति सेनाका योद्धाहरुको शहादत हुन पुग्यो।

सल्यान जिल्ला, साविक कालागाउँ गाविस– ७ च्युराटाकुराको वामपन्थी परिवारमा २०३८ भदौ ३ गते जन्मनुभएकी कमला बुढाथोकी सानैदेखि राजनैतिक गतिविधिमा सामेल हुँदै आउनुभएको थियो। आफ्नो ठुलो दाजु धर्मे बुढाथोकी ज्वालाको कम्युनिष्ट पार्टीप्रतिको आवद्धता र प्रतिक्रियावादीहरुको उहाँ र सिंगो परिवारलाई राजनैतिक आस्थाका कारणले दिएको पीडाले उहाँलगायत परिवारका भाइबहिनीहरु सानैदेखि वर्ग के हो र वर्गसंघर्ष किन भन्नेमा प्रष्ट हुनुहुन्थ्यो। जनवादी कलाकार, विद्यार्थी र महिला संगठन हुँदै पार्टी राजनीतिमा आउनुभएकी कमला स्क्वाइड सदस्यबाट जनमुक्ति सेनामा भर्ती हुनुभएको थियो।

मैले कमरेड सुनिता विद्यालय पढ्ने बेलादेखि चिन्दथे। प्रहरी दमनले क्षतविक्षत त्यसबेलाको हाम्रो गाउँमा माओवादी परिवारका उहाँजस्ता विद्यार्थीहरुलाई पढ्ने सक्ने वातावरण बनेन। उहाँहरु सानै उमेरदेखि संगठनको पुर्णकालीन कार्यकर्ता भएर हिड्नुभयो। 

थारमारेमा बलिदान दिवस मनाइरहेका निहत्था विद्यार्थीमाथि प्रहरी र गुण्डाद्वारा भाला, तरबार र बन्दुकले अन्धाधुन्ध आक्रमण गरि खिमबहादुर डिसी, धनबहादुर थापा र गाविस अध्यक्ष तथा मानवअधिकारकर्मी हेमराज केसीको हत्या गरिसकेपछि सल्यानमा जनहत्याको श्रृंखला शुरु भयो। त्यसको विरुद्धमा हामी भने जिल्लाव्यापी रुपमा जनजागरणको अभियान शुरु गर्यौं। जनसरोकार मञ्च सल्यानको नाममा शुरु भएको उक्त अभियानमा हाम्रो टोलीले जिमाली, सिद्धेश्वरी, डाँडागाउँ र कजेरीमा कार्यक्रम सञ्चालन गर्यो। उक्त टोलीमा प्रकाश घर्तीमगर (अविरल), महिला नेतृ राधा वली (हाल चौरजहारी नगरपालिका उपप्रमुख), कमला बुढाथोकी (सुनिता), म र चित्रबहादुर शाह (चिन्तन) थियौं।

हामीले जनसरोकार अभियानको कार्यक्रम जिमालीबाट शुरु गर्यौं। सिद्धेश्वरी कालालेख, ढोरचौर, डाँडागाउँको ढारखानी कार्यक्रम सकेर हामी कजेरीतर्फ लाग्यौं। कजेरीमा दुईवटा कार्यक्रम गर्ने योजना थियो। खामेलेखको काखमा रहेको खातीगाउँमा रातको अन्तिम पहर बितायौं किनकि अरु पहरहरु बाटो छिचोल्दै बितिसकेका थिए। 

जिल्ला सदरमुकाम नजिकै कार्यक्रम गर्नुपर्ने भएकोले सुरक्षा संवेदशीलताका कारण छोटो तयारीमा अपरान्हपख मदमकाँडाको टाकुरागाउँमा कार्यक्रम सम्पन्न गरियो। हामी कार्यक्रमपछि खामेलेखको टाकुरा छिचोलेर उपल्लो कजेरी जाने योजनामा थियौं तर बाटो चिनेको कोही पनि थिएनौं। तलबाट हेर्दा खामेलेख एकाध घण्टामा छिचोल्न सकिन्छ ठानेर अपरान्हको उतरार्धमा उकालो लाग्यौं। शुरुको आधा घण्टा जति साना साना गोरेटाहरुको सहारामा उक्लिएका हामी त्यसपछि ती गोरेटाहरु हराए। ती गोरेटा गोठालो हिडेर बनेका रहेछन्। अब भने हाम्रा सामु अनुमान गरेर हिड्नुको विकल्प थिएन।

साँझ पर्यो। सिंगो डाँडा कुहिरोले छोप्यो। पानी पर्न थाल्यो। न ओत लाग्ने ठाउँ न ओतिने कुनै साधन। हामी निरन्तर भिजिरह्यौं र उक्लिरह्यौं। अँध्यारोले पूरै छोप्यो। आफ्नो अगाडिको मान्छेको छायाभन्दा पर केही देखिदैन। झाडीको बीचमा काँडाको चिथोराई र कोतराई सामान्य जस्तै भयो। हामी कहिले आतिन्थ्यौं र रोकिन्थ्यौं। तर हाम्रो बीचमा एक जनाचाहिँ कहिल्यै आत्तिनु भएन। न त अलिकति पनि निरास नै। उहाँ त लगातार हाँसीमात्र रहनुभयो। जब कोही साथी हतास भएर सुस्केरा हाल्छ, उहाँ भने हाँस्न थाल्नुहुन्थ्यो र सिँगै टिमको समस्या दुर गरिदिनु हुन्थ्यो। उहाँ उही कमला बुढाथोकी सुनिता हुनुहुन्थ्यो। 

उकालो सकियो, डाँडा आएको महशुस भयो। अब कता जाने अन्यौलकै बीच  पारि गाउँमा आगोको धिप्को बलेको देखियो। हामीले गन्तव्य त्यतै हो भन्ठानेर अगाडि बढ्यौं। निष्पट्ट अँध्यारोमा छामछाम छुमछुम गर्दै खामे लेखबाट ओरालो झर्दा कस्तो भयो होला आफै अनुमान गरौं। कतै पहाडी खोंच वा सुरुङमा छिरेका भए, या ओढारमा परेर चिप्लिएको भए? मृत्यु जितेर हिडेपछि यी सबै चीजलाई जितिदो रहेछ झैं लाग्छ अचेल। कहिले लहरामा तुङ्रुङ्ग झुण्डिदै त कहिले रुखको फेदको आड लाग्दै, निगालाका झाडीमा बेरिदै एक घण्टाको दुरी होला हामीलाई पाँच घण्टा लाग्यो गाउँमा झर्नलाई। रातको १२ बजेतिर हामी लेखागाउँमा पुग्यौं। आगो सेकायौं र किसान आमा बाको न्यानो आतिथ्यतामा बाँकी रात वितायौं।

आज मैले किन यो विषयलाई उल्लेख गर्दैछु भने कमला बुढाथोकी 'सुनिता' संकट र कठिनाईमा पनि मुस्कुराउन र हाँस्न सिकेकी थिइन्। न त उनको बाल्यकाल नै सहज रुपमा बिते न त जनयुद्धकालका कठीन संघर्षमय दिनहरु नै ! तर, उनी सधैं हिम्मत र साहसका साथ जनमुक्ति आन्दोलनमा जनतासँग हाँसेरै बिताइन्। 

जनमुक्ति सेनामा आवद्ध भएको छोटो समयमै युद्धमैदानमा वीरतापूर्ण बलिदान गरिन्। महान सहिद कमरेड कमला बुढाथोकी सुनितालाई हार्दिक नमन, हार्दिक लाल सलाम। सहिदहरु न्याय र मुक्तिको लडाईमा हाँस्दा हाँस्दै आफूलाई बलिदान गरेर गए तर हामी आजको घिनलाग्दो लडाईमा हाँस्न सकेका छैनौं। चैनसँग एकछिन पनि बाँच्न सकेका छैनौं।

हाम्रा अगाडि क्रान्तिका आजका चुनौतीको सामना गर्ने दायित्व छ। यो धेरै चुनौतीपूर्ण मोडमा छ। कम्युनिष्ट आन्दोलन विपरितहरुको बीचमा एकत्व कायम गर्दै, एकता संघर्ष र रुपान्तरणको माध्यमबाट नयाँ आधारमा नयाँ एकता कायम गर्ने र समाजवादी क्रान्तिको सेवा गर्ने पार्टी एकताको मर्म र भावना हो। यो मर्मका विरुद्ध जाने छूट हामी कसैलाई पनि छैन।

कमाण्डर नेपबहादुर कवँर विवेकका अनुसार लिस्नेलगत्तै जनमुक्ति सेनाको मुख्य शक्ति गामस्थित शाही सेनाको वेसक्याम्पको आक्रमणमा केन्द्रीत भयो। बैसाख २४, २०५९ को उक्त भीषण आक्रमणमा जनमुक्ति सेनालाई ठूलो सफलता प्राप्त भयो। एक थान ८१ एमएमको तोप र गोलाहरु, एक थान रकेट लन्चर, जिपीएमजी, एलएमजी लगायत ५० औं थान हतियार र १० हजार बढी गोलीहरु कब्जा भए। 

उक्त आक्रमणमा सरकारी सुरक्षाफौजतर्फ १०४ जनाको निधन भयो भने जनमुक्ति सेनातर्फ कम्पनी कमाण्डर जमानसिंह पुनसहित ३५ जनाको शहादत भयो। जसमा सल्यान भल्चौर– धुल्खर्कका रमा पुन (आशा), काल्चे– ३ मधुवनका मोहन खडका (दिपक), काल्चे– टाकुराका डिलबहादुर डिसी (सुवास) र वामे– ९ पाटकेका कालीबहादुर बुढाथोकी (एटम) सहिद हुनुभयो।

लिस्नेबाट सल्यान जिल्ला फर्किरहेको प्लाटुन रोल्पाको पाछाबाङमा बैसाख २३ गते शाही सुरक्षाफौजको घेरामा पर्यो। उक्त लडाईमा प्लाटुन भिसी, मेरो अनन्य मित्र जिमाली ६ का मोहन रेग्मी (विजय), चाँदे ५ घरेलीका कासिराम बोहरा (संघर्ष), कजेरी ७ का कर्ण बुढाथोकी (कमल) र कालागाउँ ७ का महाविर बुढाथोकी (हावा)को शहादत हुन पुग्यो।

मोहन रेग्मी (विजय) मेरो जीवनको अविस्मरणीय योद्धामध्ये एक हो। उहाँ र मैले पार्टी सदस्यताको शपथ सँगै लिएका थियौं। उहाँले देश र जनताको लागि आफूलाई बलिदान गर्न पनि पछि पर्ने छैन भन्ने शपथ पूरा गरिसक्नु भएको छ। 

जब मैले भूमिगत राजनीति शुरु गरें, उहाँको परिवारका सदस्यजस्तै हामी सपरिवार नै कयौं दिन उहाँको घरमा बिताएका छौं। विजय र म एउटै पार्टी सेल कमिटीमा रहेर काम गर्यौं। कुमाखदेखि सल्यान खलंगासम्म कतिपटक फन्को लगाइयो। कुमाखको टुप्पोमा चढेर सगरमाथा चुम्ने सपना बुनियो। 

एकदिन हामी कुमाखको टाकुरामा चढेर कुमाख कवितायात्रा शुरु गर्यौं। हाम्रो कविता लेख्ने प्रतिस्पर्धा नै चल्थ्यो। त्यो दिन त उनले दुर्इ तीन घण्टा हराएर काव्य नै तयार गरेर ल्याएछन्। त्यसपछि प्रतिस्पर्धामा उनी नै अब्बल सावित भए। 

मेरो सुदूरपश्चिमको यात्रापछि हाम्रो बीचमा भेट हुन पाएन। विजयले विवाह गरे भन्ने सुनें। विजय र उहाँको जीवनसाथी सहिद हुनुभएको पीडादायी खबर पनि सुदूरपश्चिममै सुन्नुप¥यो। आज मैले लिस्ने गाम र पाछाबाङलाई एकैपटक सम्झने प्रयास गरेको छु। महान मान्छेहरुप्रति हार्दिक श्रद्धाञ्जली।

क्रान्ति सिधा र सपार्ट हुँदैन। यो कहिले रक्तपातपूर्ण युद्धको रुपमा त कहिले रक्तपातविहीन युद्धको रुपमा अघि बढिरहन्छ। रक्तपातपूर्ण युद्ध जति क्रूर र पीडादायी थियो, त्यो भन्दा बढी क्रूर र पीडादायी शान्तिपूर्ण क्रान्तिका दिनहरु हुँदा रहेछन्। 

जहाँ मान्छे मान्छे बीचमा विभेद र असमानता रहन्छन्, त्यहाँ क्रान्ति अनिवार्य छ। भलै त्यो आ आफ्नो विशेषता अनुसार अघि बढोस्। आज हामी क्रान्तिका उपलब्धिका हकदार छौं। यसको सबभन्दा बढी हकदार उहाँहरु हुनुहुन्छ, जो आफूलाई बलिदान गर्न तयार हुनुभयो।

हाम्रा अगाडि क्रान्तिका आजका चुनौतीको सामना गर्ने दायित्व छ। यो धेरै चुनौतीपूर्ण मोडमा छ। कम्युनिष्ट आन्दोलन विपरितहरुको बीचमा एकत्व कायम गर्दै, एकता संघर्ष र रुपान्तरणको माध्यमबाट नयाँ आधारमा नयाँ एकता कायम गर्ने र समाजवादी क्रान्तिको सेवा गर्ने पार्टी एकताको मर्म र भावना हो। यो मर्मका विरुद्ध जाने छूट हामी कसैलाई पनि छैन। 

आज कम्युनिष्ट आन्दोलनमा जुन प्रवृति हुर्किएको छ, त्यो सामन्तवादकै उत्तरदानस्वरुप आएको हो। पार्टी, क्रान्ति, जनमत र नेतृत्वबारे पूरै मनोगत बन्नु, म नभए संसार घुम्दैन भन्ने सोच विकास हुनु, संकीर्ण गुटस्वार्थ, सत्तास्वार्थ, शक्तिको दम्भ र घमण्ड प्रदर्शन गर्नु र कम्युनिष्ट पार्टीलाई आफ्नो विर्ता जस्तो सम्झनु, राज्यलाई कर्पोरेट घरानाको हितार्थ सुम्पिनु र उनीहरुको एजेन्टको रुपमा काम गर्नु, सामन्ती तथा दलाल चिन्तन प्रणालीको विकृत रुप हो। कम्युनिष्ट पार्टीमा वैचारिक राजनीतिक बहस र संस्थागत निर्णय प्रणालीमा गएर मात्र यस प्रकारका खराबीमाथि विजय प्राप्त गर्न सकिन्छ।

२०७७ बैसाख १७, काठमाडौं

१८ वर्षअघि २०५९ बैशाख १९ गते रोल्पाको लिस्नेमा भएको माओवादी जनसेना र तत्कालीन शाही सेनासँगको भिडन्त भएको थियो। जहाँ तत्कालीन सरकारले माओवादीका सयौं सेनाहरु मारिएको प्रचार गरिरह्यो। यथार्थमा त्यहाँ सरकारी सेनाले नराम्ररी हार व्यहोर्नुपरेको थियो।

हेर्नुहोस् माओवादी जनयुद्धको चर्चित रोल्पा लिस्ने गाम भिडन्तको दुर्लभ भिडियो-

रमेश मल्ल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मल्ल अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय