मास्कको भरमा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भए के होला?

dainikonline
दैनिक अनलाइन | बैशाख ११, २०७७ बिहिबार | 0

काठमाडौं । कोरोना भाइरस सक्रमणको सम्भावित खतराबाट बच्न देशमा लकडाउन (बन्दाबन्दी) घोषणा गरेको आज एक महिना पुगेको छ। लकडाउनसँगै देश पूरै ठप्प छ। सहर सुनसान भएका छन् भने सडकहरु खाली छन्।

मानिसहरु सबै घरभित्र कैदजस्तै भएका छन्। स्वास्थ्य, सुरक्षा र आपूर्तिलगायतका अत्यावश्यक सवारी साधनबाहेक अरु कुनै सवारी साधन सडकमा गुडेका छैनन्। मानिसहरु कोही कतै देखिदैनन्।

सडकमा फाट्टफुट्ट मानिसहरु देखिएमा लठ्ठी समाएका प्रहरीहरु आएर कतै लखेट्छन्, कतै सम्झाउँछन् त कहिलेकाँही लाठी पनि बर्साउँछन्। अहिले सडकको मोर्चा प्रहरीले सम्हालेको छ भने अस्पतालको मोर्चा स्वास्थ्यकर्मीहरुले। अहिले कसैको महत्व छ त कि स्वास्थ्यकर्मीको कि सुरक्षाकर्मीको। उसो त विश्वले नै स्वीकार गरेको छ कि कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाईंको अग्रमोर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु नै लडिरहेका छन्।

तर, अग्रमोर्चामा लडिरहेका तिनै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु चाहिँ कति सुरक्षित छन्? यस बारेमा न पर्याप्त छलफल भएको छ न चिन्ता नै। यी दुई चीज यस्ता मेसिन भएका छन् कि स्वीच थिच्ने बित्तिकै स्वास्थ्यकर्मी अस्पताल दौडिन्छन् भने सुरक्षाकर्मी सडकतिर।

अहिले मान्छेहरु एकसेएक विज्ञ भएका छन्। जसले पनि भनिदिन्छ- स्टे होम, स्टे सेभ अर्थात् घरभित्रै बस्नुस्, सुरक्षित रहनुहोस्। 

तर समूहमा बस्ने बर्दीधारी पुलिसहरुलाई किन कसैले घरभित्रै बस भन्दैन? के यिनीहरुलाई सुरक्षित हुनुपर्दैन? कहिलेकाँही तपाईंको मनमा यस्तो प्रश्न उठ्दैन? 

तपाईं पनि कम कहाँ हो र यस्तो प्रश्न उठ्नुभन्दा उत्तर पो आउँछ होला- शान्ति, सुरक्षाको काम गर्नुपर्यो नि। पुलिसले हाम्रो सुरक्षा नगरे कसले गर्ने?

हो, हामीलाई सुरक्षाकर्मीहरुको सुरक्षाभन्दा हाम्रो सुरक्षा महत्वपूर्ण लाग्छ।

उनीहरु पनि मान्छे हुन्, उनीहरुका पनि परिवार हुन्छन्- त्यो हामीलाई थाहा छ। थाहा पाएर पनि हामी भनिदिन्छौं- 'उनीहरुको कामै त्यहीँ हो। काम त गर्नुपर्यो नि।'

कोरोनाभाइरसबाट बच्ने सूत्र हामी सबैलाई थाहा छ- सामाजिक भौतिक दूरी कायम गर्ने। भीडभाड नगर्ने। घरमै बस्ने। समूहमा नबस्ने। नछोइने।

विडम्बना सुरक्षाकर्मीलाई यो कुनै सुविधा छैन। उनीहरु बिहानदेखि रातीसम्म सडकमा ड्यूटी गर्नुपर्छ। त्यो पनि उस्तै परे बिना मास्क।

भौतिक दूरी कायम गर्नुपर्ने यी सुरक्षाकर्मीले नै भीडभाडको सामना गर्नुपर्छ। अरु त अरु व्यारेकमा बस्नुपर्ने सुरक्षाकर्मीलाई चाहेर पनि सामाजिक/भौतिक दूरी कायम गर्न सम्भव हुँदैन।

सडकमा खट्ने, सम्भावित बिरामीहरुको उद्धार गर्ने, अस्पतालदेखि संक्रमितहरुको घर/गाउँमा ड्यूटी बस्ने सुरक्षाकर्मी।

यस्ता सुरक्षाकर्मीहरु एक्लै बस्दैनन्, समूहमा बस्छन् व्यारेकमा। समूहमा खाना खान्छन् मेसमा। 

अब सोच्नुस्, त्यहीँ समूहमा बस्ने एउटा सुरक्षाकर्मी कोरोना पोजेटिभ भयो र केही दिनसम्म उसलाई कुनै लक्षण देखिएन भने के होला?

यसबारे सुरक्षाकर्मी (प्रहरी सेना) को उच्च निकायसम्मले केही सोचेको छ कि छैन? सुरक्षाकर्मी हेर्ने विभागीय मन्त्रालय, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, सरकार यी सबैले केही सोचेका छन् कि छैनन्? कि एक आदेशको भरमा सुरक्षाकर्मीलाई सडकमा खटाएर लकडाउन गरिरहने र स्वास्थ्यकर्मीहरुलाई अस्पतालमा खटाएर कोरोना नियन्त्रण भइहाल्ने हो र?

समाचार अनुसार आजै मात्र कञ्चनपुरमा र्यापिड टेष्ट गर्दा एक जना प्रहरीमा एन्टीबडी पोजेटिभ देखिएको छ। उनी अहिलेसम्म ड्यूटीमा थिए र समूहमै थिए होलान्। यदि उनको स्वाब पीसीआर प्रविधिबाट परीक्षण गर्दा पोजेटिभ देखियो भने स्थिति के होला ? 

त्यसैले सबैतिर सुरक्षाका मापदण्डका कुरा गरिरहँदा सुरक्षाकर्मीहरुको सुरक्षा गर्ने सवालमा सरकार कतै चुकिरहेको त छैन?

एउटा लठ्ठी, सिट्ठी र मास्कको भरमा ड्यूटीमा खटिएका सुरक्षाकर्मीले हाम्रो सुरक्षा त गर्लान्, तर कोरोना भाइरसबाट आफूलाई सुरक्षित गर्न सकेनन् भने....!

त्यसैले सुरक्षाकर्मीहरुलाई उनीहरुको कामको प्रकृति हेरेर सुरक्षित मास्क, सेनिटाइजर, पीपीई जस्ता सुरक्षा सामग्रीले सुसज्जित नगरी कोरोना विरुद्धको लडाईंमा उनीहरु खरो उत्रन सक्दैनन्।

जसरी स्वास्थ्यकर्मीहरु अस्पतालमा व्यक्तिगत सुरक्षा उपकरणबिना बिरामीको उपचारमा खट्न सक्दैनन्, त्यसैगरी सुरक्षाकर्मीहरु पनि आफू सुरक्षित छु भन्ने महसुस नगर्दासम्म ढुक्कसँग अग्रपंक्तिमा खट्न सक्दैनन्।

अझ सुरक्षाकर्मीलाई सडक मात्रै सम्हालेर पुग्दैन। जहाँ आपत विपद आइपर्छ, त्यहीँ कुद्नुपर्छ। अहिलेको अवस्थामा जहाँ कोरोना संक्रमितहरुलाई उद्धार गर्नुपर्छ, त्यहाँ सुरक्षाकर्मी पुग्नैपर्छ।

आशा गरौं, नेपालमा त्यस्तो भयावह महामारी नआओस्, यदि महामारी आएर भकाभक मान्छेहरु मर्न थाले भने मरेका मान्छेहरुको शव व्यवस्थापनका लागि पनि सुरक्षाकर्मीलाई नै खटाइन्छ।

सरकारले 'स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा उपकरणहरु पर्याप्त उपलब्ध गराइएको छ' भन्छ। तर, भनेजस्तो छैन। सुरक्षाकर्मीहरु सडकको धूलो छेक्न भनी फेन्सी पसलबाट किनेको सामान्य कपडाको मास्क लगाएर ड्यूटीमा खटिएका छन्। कतै कसैले व्यक्तिगत सुरक्षा उपकरण पाएको भए अपवाद होला, नत्र पीपीई भनेको सडकमा खटिने सुरक्षाकर्मीलाई थाहा नै छैन भन्दा पनि हुन्छ। 

अतः अहिले ठूलो समूहमा बस्ने, एउटै मेसमा खाने र ड्यूटीका लागि दशतिर खटिने सुरक्षाकर्मीबाहेक अरु छैनन्। उनीहरुको सुरक्षाका लागि विशेष सतर्कता अपनाएर आवश्यक कदम नचाल्ने हो भने भोलि नेपालमा ठूलो संक्रमणको खतरा सुरक्षाकर्मीको क्याम्पमै हुनसक्छ। अनि सुरक्षाकर्मीजति क्वारेन्टाइन र आइसोलेसनमा बस्ने स्थिति आयो भने सडक फेरि 'साँढे'जस्ता मान्छेहरुले लिन्छन् र बाँचुञ्जेल कोरोना भाइरसको चौथो रुप हेर्दै बस्नुको विकल्प हुने छैन।

समूहमा बस्ने र कपडाको मास्कको भरमा खट्ने सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण भए त्यसले ल्याउने परिणाम भयावह हुनेछ। यसतर्फ सरकार र सम्बन्धित निकाय बेलैमा सतर्क हुन जरुरी छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय