सरकारको नाममा बिन्तीपत्र

dainikonline
गणेश शाही | बैशाख ६, २०७७ शनिबार | 0

हामी युद्व लडिरहेका छौं
सिंगो मानव समुदायका लागि
होम क्वारेन्टाइनबाट, सेल्फ क्वारेन्टाइनबाट
कोभिड भाइरस १९ को युद्ध।

कोही, व्यवस्था गरिएका क्वारेन्टाइनहरुबाट
कोही, अस्पतालका आइसोलेसन वार्डहरुबाट
कोही, मृत्युु शैय्याबाट
कोही, अनुसन्धानका प्रयोगशालाहरुबाट

सबैले सबैलाई तोकिएका एसाल्टहरुबाट।

सरकार !
बन्दाबन्दी छ यतिबेला
घरमै बसौं, सुरक्षित रहौं भन्ने उदघोष छ
रहर त हामीलाई पनि थियो
आफ्नै झुपडीमा बस्न र सुरक्षित रहन
रहेर बालबच्चाहरु सँगै मनभरिका कुरा गर्न
र, रमाइला गीत र कथाहरु सुनाउन
गीत र संगीतहरुको धुनमा नाँच्न र रमाउन
आत्मबल बढाउन योगा गर्न र भक्तिहरु गाउन
तर , ए सरकार !
केही समय पहिले म आफू नै
आफ्ना गीत र कथाहरुका लागि
आफ्ना पीडा र ब्यथाहरुले
आफ्नो प्यारो घरभन्दा पर
आफ्नो सीमाभन्दा पनि पर
परदेश छिरेको थिएँ
आफ्ना सपनाहरुका लागि, आफ्नो सिमाको पनि सिमा भित्र
आफ्नै भोकको महामारीको युद्धमा सामेल थिएँ
एउटा सिपाही भएर।

सरकार !
आदेश मान्नुपर्छ हामीले पनि
र, बोली सुन्नुपर्छ तिमीले पनि
किनकि यो युद्ध हाम्रै लागि हो
हामी मिलेर जित्नै पर्नेछ
तर, सरकार !
यो टन्टलापुर घाममा खाली पैतलाहरुले
नाप्नु थियो किन- बाटो र सडकहरु
भोको पेटले, किन- उक्लिनु र ओर्लिनु थियो उकाली ओरालीहरु
र, ज्यानको बाजी थापेर किन- खियाउनु थियो त्यो नदीको बेगलाई
किनकि मान्छेलाई आफ्नै झुपडी प्यारो लाग्छ
आफ्नै माटोको सुगन्ध प्यारो लाग्छ
सरकारलाई जति प्यारो लाग्छ आफ्नै सरकार
हो, हामीलाई पनि त्यतिकै प्यारो छ हाम्रो सरकार
सरकार हाम्रो पनि छ एउटा- आफ्नै सरकार।

सरकार !
तिमीले तिम्रो जन्मोत्सव मनाउँदा
चाहिएको छैन उडाएका वायु यानहरु
किनकि हाम्रोतिर हेलिप्याड छैनन्
चाहिएन ती पजेरो र कारहरु
सुविधाले भरिपूर्ण डिलक्स गाडीहरु
हाम्रो घरलाई फनफनी फन्को मारी
बरु तिमीले खनिदिएको एउटा सडक छ धुले सडक
हो, त्यहीँसम्म पुग्ने एउटा बाहन चाहिएको छ।

सरकार !
त्यहाँ हाम्रो संसार छ
रोगले थलिएकी मेरी आमा छिन्
गरिबीले थिलो थिलो परेका मेरा बा पनि
माया, स्नेहको अभावमा पिरोलिएका नानीबाबुहरु
र, एक्लोपनले छट्पटीएकी प्यारी पनि
हो सरकार !
बरु, तिम्रा सर्तनाहरु मान्य छ मलाई
तर, मलाई मेरो सरकारको सामिप्यता चाहिएको छ।
सरकार !
उर्दी आयो एउटा अर्को सरकारको
तिमी यो ठाउँ छोडेर जाऊ आफ्नै ठाउँ
आशमा बसेका हामीहरु राहतको
झोली, गुम्टा बोकेर राजमार्गभरि
आँसुका धारा पिउँदै पिउँदै तय भएको यात्रा
सरकार ! एउटा कुरा याद छ?
अस्ति मात्रै हो
मतदाता नामावलीमा नाम खोजी खोजी
बुथकेन्द्रमा भोकभोकै लाइन लागेर
रोजी-रोजी छाप लगाएको हामी नै हो
दुई तिहाईको उपमाले सजिएको तिम्रो उँचो शीर
यीनै गोठाला, खेताला र मजदुरहरुको औंठाछाप हो।
सुनेका यिनै मेरा कानहरु हुन्
गरिबी, अभाव र बेरोजगारी
सदा सदाको लागि हट्नेछ भनेर
सरकार! कुरा जस्ता काम गर र काम जस्ता कुरा गर
किनकि सरकारको जयजयकार गर्नु छ
एकमुठी सास रहुन्जेलसम्म
मेरो सरकार- जिन्दावाद भन्नू छ मैले पनि।

२०७७ बैशाख ५, कोहलपुर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय