कोरोना तिमी

dainikonline
दैनिक अनलाइन | बैशाख ६, २०७७ शनिबार | 0

निलिमा पुन 

सङ्सार चहार्दै आएछौ कोरोना तिमी 
आफ्नै बाटो जाऊ
विश्व भ्रमणमा हिडेका तिमी 
विश्व नियाल्दै जाउ
मलाई बाँच्ने मन छ कोरोना 
मेरो हात नसमाऊ
मानवबिना सुनसान हुन्छ धर्ती 
अब धेरै नसताऊ
कोरोना तिमी निर्दयी छौ 
आफ्नै बाटो जाऊ
विश्व यात्रामा हिडेका तिमी 
आफ्नै यात्रामा रमाऊ

बच्चादेखि वृद्धासम्म कहालिन्छन् यहाँ झनै
तिम्रो नाम सुन्दा तर्सेर घरभित्रै लुक्छन् सबै 
धेरै भयो आफन्त भेट्न पाएको छैन मैले
कस्तो त्रास लिएर आयौ ढुक्क हुने कहिले ?
कोरोना तिमी निष्ठुरी बनी धेरैको ज्यान लियौ
बाँच्नेहरुलाई जीवनभर पीडा तिमीले दियौ

धनी र गरिब भनेनौ तिमीले 
मान्छे भन्दा फरकै भयौ
समान व्यवहार त देखायौ तिमीले 
तर दया कत्ति देखाएनौ
आफ्ना कठोर नियतिलाई छर्लङ्ग तिमीले पार्यौ
रुन हुन्न भन्नेलाई चिच्याएर रुने गरायौ
कोरोना तिमी अपराधी हौ आफ्नो बाटो जाऊ
गर्नु विध्वंस गरायौ तिमीले अब धेरै नगराऊ

मान्छे मात्र नभएको भए कसलाई माथ्र्यौ खोइ ?
विचल्लीमा पार्यौ तिमीले रुँदै हिँड्छन् कोही 
दुनियाँलाई घात गरी घरै रित्तो पार्यौ
एकपछि अर्कोतर्फ सर्दैसर्दै गयौ
कोरोना तिमी घाती छौ आफ्नै बाटो जाऊ
मान्छेहरुको सँगत छाडी आफ्नै यात्रामा रमाऊ

संसारभरि फैलिएर तिमी किन दुःख दिन्छौ ?
मानवबस्तीमा सल्किएर तिमीले केको बदला लिन्छौ ?
आकाश धरती सुनसान छ यहाँ कस्तो पीडा छ अहिले ?
एकपटक आउने चोला हो यो फर्कदैन कहिले ?
कोरोना तिमीलाई बिन्ती छ आफ्नै बाटो जाऊ
बाँच्न देऊ मानवलाई अब धेरै नसताऊ

कति विद्वान ढले यहाँ, कति डाक्टर ढले
सर्वसाधारणको हिसाबै छैन कति आपतमा परे ?
कोही ढले सडकमा कोही अस्पतालमा 
कस्तो भाइरस रहेछौ तिमी मार्छौ अकालमा 
कोरोना तिमीले मानवजातिलाई आतंकितै पार्यौ
तिमीलाई चिन्ने महान व्यक्तिलाई तिमीले नै मार्यौ

मर्नु त एकदिन छँदैछ हामीले गर्नु पनि त धेरै बाँकी छ
जीवन रहे पो संसार बन्छ गर्नेहरुको यहाँ इतिहास साक्षी छ
रोदन, चित्कार, पीडाहरु त छँदैछ नि जीवनमा 
विश्वास, आँट र साहस बोकी हिड्नुपर्छ यो मनमा 
कोरोना तिमी जुन बाटो आयौ त्यही बाटो जाऊ
बाँच्न देऊ मानवलाई भो अब धेरै नसताऊ
भो अब धेरै नसताऊ !
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय