लकडाउनले अलपत्र परेका २४ पर्यटकलाई पोखराबाट काठमाडौँ पठाइयो

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | बैशाख ४, २०७७ बिहिबार | 0
फाइल फोटो

कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारणले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई आज स्थलमार्गबाट काठमाडौँ पठाइएको छ । 

नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो।

उद्धार गरिएका पर्यटकमा फ्रान्सेली १०, बेलायतका सात, अमेरिकी र चिनियाँ दुई÷दुई तथा ट्रकी, स्वीडेन र इटालीका एक÷एक जना रहेका छन्।

उनीहरुलाई लेकसाइडस्थित बाराहीघाटमा जम्मा गरेर पठाइएको थियो।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पर्यटक बसमार्फत उनीहरुलाई राजधानी काठमाडौँ पठाइएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख गणेश खनालले जानकारी दिनुभयो।  
    
नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी कार्यालय तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले अलपत्र पर्यटकको उद्धारमा समन्वय गरेका थिए।

फ्रान्सले शुक्रबार विशेष चार्टर्ड विमानमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने तयारी गरिएको बताइन्छ।

लकडाउन आदेश जारी भएपछि हालसम्म पोखराबाट ८६८ अलपत्र पर्यटकको उद्धार गरिसकिएको पर्यटक प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय