दुई जिउकी महिलाले जब बीच बजारमा च्याप्प समातिन्

dainikonline
केएल पीडित | चैत ३०, २०७६ आइतबार | 0

फागुनको एक दोपहर । म काम विशेषले घोराहीबाट देउखुरी जाँदै थिएँ । एउटा महत्वपूर्ण भेटघाट सकाएर घोराहीचोक (साबिक तुलसीपुरचोक) पुग्दै गर्दा एउटा पुरानो बस चोकको उत्तर मोहडानेर आएर रोकियो । म छिटोछिटो बस चढें । बसको खलाँसी छिटो चढ्नुस् भन्दै यात्रुहरुलाई निकै अत्याइरहेको थियो । बसपार्कबाट नै त्यो बस यात्रुले खचाखच भएर आएको थियो । त्यसकारण त्यो चोकमा धेरैबेर बस रोकिने छाँटकाँट थिएन । 

बस लगभग भरिएको थियो ।  केही यात्रुहरु अझैं ठेलम ठेल गर्दै बस चढ्दै थिए । शायद उनीहरु पनि म जस्तै गन्तव्यमा पुग्न निकै हतारोमा थिए । सीट नपाएपछि म बीच भागमा डण्डी समातेर उभिएको थिएँ । बस हिंड्नै लागेको थियो । ठेलमठेलकै बीचमा कसैले मलाई च्याप्प समात्यो । म जोडले झस्किएँ । भित्रभित्रै तमासले थरथराउँदै यसो हेरें, मलाई समात्ने १९÷२० वर्षकी एक महिला थिइन् । मेरो जीउ डरले सन्न भयो । उफ् ! के आइलग्यो यस्तो !?

‘मेरो यस्तो हालत बनाएर तपाईं भाग्दै हिड्ने ?’ ती महिला एकाएक बर्बराउन थालिन्, ‘मलाई अलपत्र पार्ने !? अब म यस्तो अवस्थामा कहाँ जाम् ?’ उनी मेरो जीउमा झुण्डिएर क्वाँ क्वाँ रुन थालिन् । ‘कि मार्नुस् मलाई कि आफूसँग लैजानुस् । मेरो तपाईंबाहेक जाने ठाउँ कहीँ छैन ।’ उनी हिंक्क हिंक्क गर्दै र अश्रुधारा बगाउँदै बर्बराउन थालिन् ।

जीउभन्दा ठूलो, एकदम पुरानो र मैलो सुरुवाल कुर्ता लगाएकी ती महिला दुई जिउकी थिइन् । प्रसव समय शायद नजिकै थियो । उनको पेट अस्वभाविकरुपमा बाहिर आएको थियो, ट्वाल्ल । सुरुवालको पछाडि कालो दाग प्रष्टै देखिन्थ्यो । कपाल जगल्टा परेको थियो । अनुहार फुङ्ग उडेको थियो । ओंठहरु कलेटी परेका थिए । उनको समग्र हुलिया र मनोदशा निकै टिठलाग्दो थियो । 

एकैछिनमा बसमा मेरो विषयमा ठूलो खल्याङबल्याङ शुरु भयो । घोर घृणाभावका साथ सबका नजरले मलाई घेरिरहेका थिए मानौं म एक खुँखार अपराधी थिएँ । म लाज र डरले मरेतुल्य भएँ । अब के गर्ने ? कसो गर्ने ? मैले केही मेसो भेटाइन । मेरो सम्पूर्ण होस गुम भएको थियो । न त्यहाँबाट भाग्ने हुती थियो न त्यो परिस्थितिको सामना गर्ने आँट ! एकदम विवश र विचलित थिएँ म ।

‘तपाईं कहाँ जान लाग्नु भा’छ ? उनले आँसुले टालिएका आँखाले मलाई हेरिन् । ‘भन्नुस् न कहाँ जान लाग्नु भा’छ ?’ उनले मेरो कठालो समातेर बरोबर झट्कारिरहिन् मलाई । अहँ, म पट् बोल्न सकिन । मूर्तिवत् ठिङ्ग उभिइरहे एकनासले । बोल्न त सकिन सकिन उनीसँग आँखा पनि जुधाउन सकिन मैले । हाय ! म ??!!! यो कस्तो विपत !??

उनका जब्बर प्रश्नहरुको लगातारको ठुंगाइपछि म असह्य भएर घोसेमुन्टो लगाउँदै छिट्छिटो बसबाट ओर्लिएँ । उनी पनि ‘मलाई छोडेर भाग्न पाइन्न’ भन्दै मेरो जीउमा झुण्डिएरै ओर्लिन् । 

बस घुइयँ गर्दै गन्तव्यतिर बढ्यो । खलाँसीले ढोकातिर झुण्डिएर हामीलाई फर्की फर्की हेर्दै थियो । 

बसबाट त ओर्लियो । तर अब के गर्ने ? म अझै बिलखबन्दमा थिएँ । अहिलेसम्म समाधानको कुनै उपाय फुरेको थिएन । कस्तो सकस हो यो ?! म भित्रभित्रै खुब छटपटिएको थिएँ । समाधानको उपायबारे पनि दिमाग उत्तिकै चलाइरहेको थिएँ । जे गर्नु थियो छिटो गर्नु थियो । उपाय नभेटिए चौराहामा ठूलो तमासा हुने निश्चित थियो । तर उपाय के त ? निप्टारा पाउने कसरी !!!??

खासमा म त्यहाँबाट छिटोभन्दा छिटो भाग्न चाहन्थें । भाग्नुमा नै मेरो कल्याण थियो । तर उनको पञ्जाबाट उम्किन मलाई त्यति सजिलो थिएन । उनले आफ्ना दुई हातले मेरो देब्रे हातको पाखुरा यति जोड्ले पकडेकी थिइन् कि त्यहाँ उम्कने कुनै गुन्जायस थिएन ।

‘मेरो हात छोड न । म कहीँ भाग्दैन’ मैले टिठलाग्दो स्वरमा अनुनय गरे ।

‘अहँ, म त आज ज्यान गए छोड्दिन ।’ उनले पकड कस्सिलो बनाइन्, ‘फेरि भाग्ने विचार होला ।’  राताराता आँखाले हेर्दै उनले अनुहार एकदम डरलाग्दो बनाइन् । 

यसपटक उनी मलाई कुनै पनि हालतमा उम्किन दिने पक्षमा थिइनन् । उनको मनस्थिति हेर्दा उनी जिन्दगीको निर्णायक लडाइँमा थिइन् । 

‘तपाईं त लोग्ने मान्छे जहाँ गए नि जे गरे नि केही हुन्न । तर हामी महिलालाई पाइला पाइलामा जुध्नुपर्छ । जीउको यस्तो अवस्था छ । म कहाँ जाने ? कसरी बाँच्ने ?! तपाईंले यसरी बेहाल बनाएर मलाई जिउँदै मार्न खोज्नु भा हो ? मार्ने भए अहिले मार्नुस् । ल मेरो घाँटी थिचेर मार्नुस् । म तपाईंको हातबाट मर्न तयार छु । ल मार्नुस् मलाई ।’ बल्ल थामिएकी उनी फेरि डाँको छोडेर रुन थालिन् । स्थिति सम्हालिन्छ कि भनेको बेला झन् गडबड पो भयो त !? उफ् !?

उनको रुवाई सुनेर वरपरका मान्छेहरु तिरमिर गर्न थाले । कोही कोही त नजिक आएर कान थाप्न थाले । हेर्दाहेर्दै गजबको रमिता हुने स्थिति आइहाल्यो । हत्तेरिका !!

त्यहाँ उभिरहन सक्ने स्थिति अब रहेन । मनमा उधुमको औडाहा र छटपटीसँगै शरीरको तापक्रम ह्वात्तै बढेको थियो । पसिनाले पूरै जीउ च्यापच्याप भएको थियो । केही सम्हालिदैं र घोसेमुन्टो लाएर म छिट्छिटो अगाडि बढेँ । उनी पनि मसँगै जोडिएर अगाडि बढिन् । ‘आज त भागम्ला भन्ने सोच्दै नसोच्नुस् । म कुनै हालतमा छोड्नीवाली छैन ।’ सडकको पल्लो छेउँ पुग्दासम्म पनि उनी अझैं बर्बराइरहेकी थिइन् ।

यतिबेलासम्म भने लथ्रक्क गलिसकेको थिएँ । उनीसँग सबै हिसाबले हारिसकेको थिएँ । अब आत्मसमर्पण गर्नुबाहेक अरु कुनै उपाय थिएन । 

‘ह्याँ यस्तो जात्रा गरेर हुँदैन । अब म कतै भाग्दैन । तिमीसँगै जान्छु । मलाई जहाँ लैजान्छौ लैजाउ ।’ म उनको शरणमा परें । उनले केही फरक भावले मलाई हेरिन् र सन्तोषको सास फेरिन्, स्वाँ स्वाँ ।

लगभग १५÷२० दिन पहिले एउटा चिर्कटो थमाएर म उनीबाट लगभग सधैंको लागि भागेको थिए । ‘म धैरै टाढा जाँदैछु र अब हाम्रो भेट शायद नहुन सक्छ । अब एक्लै सम्हाल्नु आफूलाई ।’ त्यो चिर्कटोमा मैले यस्तै लेखेको थिएँ । त्यो चिर्कटो उनको एक आफन्तलाई थमाएर फर्कदा मन थाम्न नसकेर म केही वर आई घोप्टो परेर खुब रोएको थिएँ । कस्सम ! खुब रोएको थिएँ । त्यसको केही दिनसम्म पनि म सहज हुन सकिरहेको थिएन । हरेक पल आँखामा उनी आउँथिन् । जे गर्दा पनि झल्को उनकै आउँथ्यो । उनको सम्झनामा म कैयौं  रात निदाइन । 

‘आज मेरो माइत जाम् न त’ उनले आँसु पुछ्दै भनिन् ‘तपाईंसँग जिन्दगीका धेरै कुरा गर्नु छ ।’

‘हुन्छ नि’ म पनि तयार भएँ ।

हामी उनको माइत जाने बस चढ्यौं । घोराहीदेखि करीब ८÷१० किलोमिटरको दूरीमा उनको माइत पथ्र्यो । बसमा चढेदेखि उनको माइतीघर नपुग्दासम्म उनले मेरो हात छोडिनन् । वाह उनको माया !!

त्यो साँझ भातभान्साको काम उनले गरिन् र धेरैपछि सँगै बसेर हामीले खुब मजाले खाना खायौं । उनी त्यो दिन खुब फुरुङ्ग थिइन् । राति अबेरसम्म हामीबीच जिन्दगीका धेरै धेरै कुराहरु भए । कुरा गर्दैगर्दा कहिले खुबसँग हास्यौं त कहिले खुबसँग रोयौं । 

बिहान ब्युँझिदा उनले उस्तैगरी मेरो हात पकडेकी थिइन् ।

(पाठकवृन्द ! ती महिला अरु कोही थिएनन्, मेरी श्रीमती थिइन् । वि.सं. २०५७ सालमा जनयुद्धमा लाग्ने भनेर मैले घर छोडेपछि उनी रुँदै मलाई खोज्दै थिइन् । र, उनी दुई जिउकी थिइन् ।)
 

केएल पीडित

(पीडित नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, साहित्यकार तथा चलचित्र लेखक र निर्देशक हुन्)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय