कविता | उ एक्लो भएको छ

dainikonline
दैनिक अनलाइन | चैत २६, २०७६ बुधबार | 0

उ हिजो हैसियत प्रर्दशन गर्न शहर निस्कन्थ्यो
पद र प्रतिष्ठा देखाउन समाजसेवी कहलाउँथ्यो
ज्ञान प्रदर्शन गर्न 
चिया र भट्टी पसलहरुमा टेबल ठटाउँथ्यो
तर, आज ऊ एक्लो भएको छ।

उ हिजो धनी देखिन चिल्ला गाडीले धुलो उडाउँथ्यो
घाँटीमा लगाएको तीन तोलाको सिक्री देखाउनकै लागि जकेट छोडाउँथ्यो
उसको मनमा सधै धन सम्पत्ति, पद र प्रतिष्ठा मात्रै आउँथ्यो
उ हरेक रात सपनामा पैसाको चाङमा सुत्थ्यो

उ हिजो मान्छे भन्दा पैसालाई ठूलो देख्थ्यो
आफन्त भन्दा धनलाई प्यारो मान्थ्यो
श्रीमती भन्दा तरुनीलाई सुन्दर देख्थ्यो
आमा भन्दा ग्राहकलाई प्यारो देख्थ्यो

उ हिजो आफूलाई संसारकै शक्तिशाली ठान्दथ्यो
आफ्ना वरिपरि मान्छेहरु घेरिरहून् भन्ने चाहन्थ्यो
समाजको मूल्यांकनकर्ता आफू कहलाउँथ्यो
भविष्यका सुन्दर सपनाहरु कल्पना गर्दथ्यो

तर, आज उ घरभित्र लुकेको छ
आफ्नो पद, प्रतिष्ठा र धनसम्पत्ति बिर्सिएको छ
आज उसलाई आमा प्रिय लागेको छ
श्रीमती सुन्दर देख्न थालेको छ

उसले आज आफूलाई दुनियाकै गरिब ठानेको छ
किनकि उसले आफूले चाहेअनुसार केही गर्न पाएकै छैन
एउटा कैदीसरह घरभित्र कोचिएको छ
आफ्नो सबै ज्ञान बिर्सेको छ

न उसले आज कमाएको खर्च गर्न पाएको छ
न ज्ञान प्रदर्शन गर्न पाएको छ
आफ्नो बारेमा भन्न र देखाउन नपाएको कैयौं दिन भइसक्यो
चिया र भट्टी पसलहरु उसका लागि डरलाग्दो ठाउँ भएका छन्

उसका साथीभाईहरु टाढा भएका छन्
उ अहिले आफूलाई निकै कमजोर ठानिरहेको छ
आजकाल उसले धनी र गरिब समान मान्न थालेको छ
दुनियाँमा मृत्यु के हो राम्रैसँग बुझेको छ

आज उसले कमाएका सबै धन सम्पत्ति बिर्सिएको छ
भगवानसँग जीवनको भीख मागेको छ
घमण्ड, दम्भ र इष्र्या त्यागेको छ
उसले दुनियाँ सबैलाई बराबरी देख्न थालेको छ 

आफूमा भएका सबै चिज बिर्सेको छ
बल्ल उसले सत्य स्वीकारेको छ
जीवनलाई गहिरोसँग नियालिरहेको छ
आज उ एक्लो भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय