भारतमाथी कारवाही गर्ने ट्रम्पको धम्की पछि भारतमा हलचल, यस्तो छ कारण!

dainikonline
दैनिक अनलाइन | चैत २५, २०७६ मंगलबार | 0

एजेन्सी । घातक कोरोना भाइरसको महाव्याधीसँग जुधिरहेको अमेरिकाले भारतसँग औषधी मागेको छ।

२ दिन अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर हाइड्रोक्सीक्लोरोक्वीन नामक औषधी पठाउन अनुरोध गरेका हुन।

कोरोनाले आफै सङ्कटमा पर्दै गएको भारतले औषधी पठाउँला/नपठाउला भन्नेबारे प्रश्न उठ्न थालेका छन्।

घरेलु खपतनै धेरै रहेको यो औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ। सङ्कटका बेला यस्तो औषधीको झन् भारतमै माग बढ्दै गएको छ।

सोमबार ह्वाइटहाउसमा आयोजित ब्रिफिङमा पत्रकारले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले यदि भारतले औषधी नपठाए जवाफी बदला लिने धम्की दिएका छन्।

पत्रकारले ट्रम्पलाई सोधेका थिए- 'तपाईं भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा हाइड्रोक्लोरोक्वाइन लगायतका औषधी निर्यातमा लगाएको प्रतिबन्धपछि चिन्तित त हुनुहुन्न?'

जवाफमा ट्रम्पले भने, 'मेरो यसबारे मोदीसँग आइतबार फोनसंवाद भएको छ। औषधी पठाइदिए आभारी हुने प्रतिक्रिया दिएको छु। यदि आषैधी आउन रोकिन्छ भने त्यसको पक्कै पनि बदला हुनेछ। जवाफ किन नदिने?'

मलेरियाबाट ज्वरो आएका बिरामीको उपचारमा प्रयोग गरिने यो औषधीको उत्पादन भारतमा बढि रहेको बताइन्छ।

भारतले कोरोना भाइरस विरुद्धको उपचारमा यो औषधी प्रयोग गर्न स्वीकृति दिएको छ।

विज्ञहरूका अनुसार कोरोनाका बिरामीका लागि यो औषधी निकै उपयोगी रहेको छ।

तथापि यो विषय वैज्ञानिक रुपमा प्रमाणित हुन क्लिनिकल परीक्षणको आवश्यकता पर्छ।

कोरोनाकै लागि भनेर हालसम्म विश्वभर कुनै विशेष औषधी छैन।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए)ले पनि उक्त औषधी प्रयोग गर्न स्वीकृति दिएको छ।

अमेरिकामा माग अत्यधिक बढेपछि विज्ञहरुको सल्लाह अनुसार ट्रम्पले भारतसँग औषधी माग गरेका हुन।

भारतको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधी नपठाए बदला लिने धम्की दिएपछि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले आफ्ना जनताका लागि पर्याप्त मात्रामा उक्त औषधी स्टक रहेकाले निर्यात माथि लगाएको प्रतिबन्ध फुकुवा गरिएको बताएका छन्।

परराष्ट्र मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ''सञ्चार माध्यममा कोभिड १९ सँग जोडिएका औषधी र फर्मास्युटिकल्सको बारेमा अनावश्यक विवाद खडा भइरहेका छन्। कुनै पनि जिम्मेवार सरकार जस्तै हामीले पनि यो सुनिश्चित गर्नु थियो कि हामीसँग जनताका लागि औषधीहरूको पर्याप्त स्टक होस। त्यसैले केही औषधिहरूको निर्यात रोक्न अस्थायी कदम चालिएको थियो। यसका साथै सम्भावित आवश्यकतालाई पनि विभिन्न परिस्थितिमा विचार गरिएको थियो। आवश्यक औषधिहरूको पर्याप्त उपलब्धता पुष्टि भए पछि प्रतिबन्ध हटाइएको छ। औषधी विभागले सोमबार देखि १४ प्रकारका औषधिमा लगाइएको प्रतिबन्ध हटाएको जानकारी दिएको छ। प्यारासिटामोल र हाइड्रोक्लोरोक्वाइनको मागमाथि निरन्तर अनुगमन गरिनेछ। भण्डारणको स्थितिलाई ध्यानमा राखेर कम्पनीहरूले उनीहरूको सम्झौता बमोजिम निर्यात गर्न सक्दछन्।''

महामारीको समयमा मानवियताको पक्षलाई समेत ध्यानमा राख्दै यस्तो निर्णय लिइएको भारतीय परराष्ट्र मन्त्रालयले जनाएको छ।  

ट्रम्पको धम्कीपछि भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले एक ट्विट गर्दै मित्रतामा बदला नहुने उल्लेख गरेका छन्।

राहुल गान्धीले ट्वीटमा भनेका छन्, 'मित्रता बदलाको लागि होइन। भारतले सबै देशहरूलाई कठिन समयमा सहयोग गर्नुपर्दछ, तर जीवन बचाउने औषधी भारतीयहरूको लागि पर्याप्त मात्रामा उपलब्ध हुनुपर्दछ।'
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय