जहाँ कोरोना संक्रमण देखिन्छ, त्यहाँ विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टर जाने

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताउनुभएको छ। 
    
सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिनुभयो । “प्रदेश सरकारले जहाँ कोरोनाको सङ्क्रमण देखिन्छ त्यही ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्बुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टरमार्फत विशेषज्ञसहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौँ,” मन्त्री रावलले भन्नुभयो ।
    
प्रदेश सरकारले १० जिल्लाका अस्पतालको स्तरोन्नतिलाइ रु ५०/५० लाख उपलब्ध गराएको जानकारी दिनुभयो । “हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सबै अस्पतालमा पठाइसकेका छौँ, अब आवश्यकता र मागका आधारमा सबै पालिकामा उपलब्ध गराउने योजना छ”, मन्त्री रावलले भन्नुभयो । 
    
प्रदेशभित्रका सबै अस्पतालमा कोरोना उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी भर्ना गर्न मन्त्रीले आग्रह गर्नुभएको छ । “हामीले कोरोना रोकथामका लागि आवश्यक जनशक्ति भर्ना गर्न निर्देशन दिइसकेका छौँ आवश्यकताका आधारमा भर्ना गर्नुस् सरकारले प्रभावकारी काम खोजेको छ”, मन्त्री रावलले भन्नुभयो ।     
    
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्न लागको जानकारी दिनुभयो । “देश लकडाउन भएको कारणले विपन्न, ज्याला मजदूरी गरेर खानेका लागि प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्न लागेको छ”, मन्त्री ज्वालाले भन्नुभयो । “कोरोनासँग लड्न तयारी पूरा गरेका छौँ, सरकार तपाईहरुको साथमा छ, नआत्तिएर सतर्कताका साथ जिम्मेवारी पुरा गर्नुस्”, मन्त्री ज्वालाले भन्नुभयो । 
    
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा लकडाउनको पूर्णरुपमा पालना भएको र सबै स्थानीय तहले विपन्नको तथ्याङ्क सङ्कलन गरी खाद्यान्न वितरण अगाडि बढाइरकेको बताउनुभयो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय