स्वास्थ्य सामग्री खरिद प्रकरणका भ्रष्टहरुलाई कारवाही गर्नुपर्छ : खनाल

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा अनियमितता भएको भए त्यसको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । वरिष्ठ नेता खनालले सरकारले नै सबै कुराको जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।

‘यो बेलामा जहाँ पाउन सकिन्छ, राम्रो औषधिहरू चाँडोभन्दा चाँडो ल्याउने र नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो’, वरिष्ठ नेता खनालले थप्नुभयो, ‘यसलाई अन्यथा ढंगले कसैले केही गर्छ भने त्यस्तो खालको अपराध गर्नेलाई कडाभन्दा कडा सजाय दिनुको कुनै विकल्प छैन ।’ सरकारले गरेको गडबडीको पार्टीले समेत अध्ययन गर्ने भन्दै नेता खनालले दोषीलाई उम्कन नदिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताउनु भयो । 

‘समसामयिक विषयमा छलफल गर्न पार्टीको सचिवालय बैठक बोलाउने कोशिस भइरहेको बताउँदै नेता खनालले भन्नुभयो, ‘जुन जरूरी पनि छ ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटमा समेत चीनबाट स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने क्रममा भएको अनियमितताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्री ओलीसँग चासो व्यक्त गर्नुभएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय