लकडाउनले संकटमा उपत्यकाका गाई किसान

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ। सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो। 

पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायतको मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन् । लकडाउन थपिएसंगै दाना, भुसा, पराल लगायत आपुर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन्।

काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाईन छाडेपछि किसान को आक्रोश बढ्दै गएको छ । उनीहरु गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका छन्।

लकडाउनले दाना पराल ल्याउन नपाएपछि गाईपालकको अगाडि गाईलाई बचाईराख्ने र उत्पादित दुधको व्यवस्थापन मुख्य समस्याको विषय बनेका छन्। खानाको कमिले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै दुध उत्पादनमा पनि कमि आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन सकेको छैन।

निलबाराही मिश्रीत कृषक समुहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारी र अर्का गाईपालक किसान गाईलाई खुवाउने आहारको अभावको स्थिति आएकाले आफूहरु गाइ फुकाएर छोड्न बाध्य हुने अवस्थामा पुगेको बताए।

गाईपालक कृषक श्रेष्ठले भने “नेपाल सरकारले केही गरेर मान्छेलाई पाले जस्तै गाईबस्तु पनि पाल्नुपर्छ बचाउनुपर्छ है भने ठिकै हो। होइन भने फुकाउने छोड्ने भन्दा विकल्प छैन हाम्रो।”

भण्डारीको गाई फाममा अहिले २० वटा गाई छन्। दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दुध उत्पादनमा पनि कमि आएको छ। त्यही दुधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपर्दा भण्डारी चिन्तित छन्। निलबाराही मिश्रीत कृषक समुहमा ८० जना  व्यवसायीक गाईपालक कृषक आवद्ध छन्। उनीहरुको फार्ममा झण्डै ३ हजार गाई छन्। यो समुहमा आवद्ध भएका गाईपालकहरुले मात्रै दैनिक १६ हजार लिटर दुध उत्पादन गर्दे आएका थिए। अहिले दाना र आवश्यक भुसाको अभावमा उपादन घटेर ४ हजार लिटरमा झरेको छ। त्यो ४ हजार लिटर दुधको पनि व्यवस्थापन गर्न नसक्दा कृषक थप मर्कामा परेका हुन्। सरकारले तत्काल कुनै निर्णय नलिने हो भने गाईपालक किसान व्यवसायबाट नै पलायन हुनसक्ने अबस्था आउने गाईपालक किसान भण्डारीले बताए।

उनले भने, “लकडाउन लम्बियो भने धेरै प्रतिशत मान्छेहरु यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ। बैकको लोनले डुब्ने स्थिति छ। घर घडेरी, जग्गा जाने स्थिति छ। व्यवसाय नै चौपट हुन्छ। सरकारले बेलैमा ध्यान देओस।”

अन्य व्यवसाय जस्तो सटर बन्द गरेर हिड्न मिल्ने व्यवसाय नभएकाले गाईलाई बचाई राख्नुको साथै गाईपालक कृषकको लगानी डुब्न नदिन सरकारले दाना र दुधको व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए । दाना अभावमा गाईलाई आधा पेट खुवाएर राख्दा त्यसले दिर्घकालिन उत्पादनमा असर पर्ने भण्डारीले बताए।

अर्का कृषक रविन शर्मा लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरेपनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे । उनी गाईलाई खुवाउने दाना र उत्पादित दुध व्यवस्थापनको प्रबन्ध मिलाईदिए सरकारसग अरु आशा र अपेक्षा नरहेको बताए।

उनले भने “दाना, भूसा केही नपाउँदा गाई बचाउन गाहे भईराखेको छ। सरकार हामी किसानहरुलाई हेरिदिनुपर्यो। सहज तरिकाले हेरिदिनुपर्यो। हाम्रो व्यवसाय नडुबोस् । दाना, पीठो , चोकर चाही ल्याउन पाईयोस्। खुवाउन पाईयोस्। त्यत्तिचाही खुल्ला गरिदिए हुन्थ्यो। हाम्रो व्यवसायलाई रोकावट नगरि निरन्तर गर्न पाए हुन्थ्यो।”

काठमाण्डौ उपत्यकामा झण्डै ५ लाख गाई रहेको अनुमान गरिन्छ।

गाईपालकहरु लकडाउनको समय थपिदै जाने क्रम संगै गाईको आहारमा समस्या हुदा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै सयौ गाई खान नपाएर मर्ने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरुले गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपुर्तिको समयमै व्यवस्था गर्नुको साथै उत्पादितको दुध व्यवस्थापनको प्रबन्ध मिलाई गाईपालक कृषकका लागि पनि सरकारले राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय