कोरोनाको विपतमा सञ्चारमाध्यमले के गर्ने ?

dainikonline
खगेन्द्र फुयाँल | चैत १०, २०७६ सोमबार | 0

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट चैत १० गतेसम्म विश्वभरिमा १२ हजार ९ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । २ लाख ९४ हजार १ सय १० जना संक्रमण भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को औषधि बनिनसकेको हुँदा संक्रमित तथा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । 

चीनको हुवेई राज्यको होङ्स्यान जिल्लास्थित वुहानबाट सुरु भएको कोरोना भाइरस पूर्वी एशिया, यूरोप, बेलायत, अमेरिका, क्यानाडा हुँदै अस्ट्रेलियासम्म पुगिसकेको छ । हाल इटाली, इरान, स्पेन, जर्मनी, अमेरिका, बेलायत, दक्षिण कोरिया, बेल्जियम, इन्डोनेसिया लगायतका देशमा कोरोनाबाट संक्रमित भई मृत्यु हुनेको संख्या बढ्दो छ ।

चीनमा मात्रै ८१ हजार ४ सय ९९ जना कोरोना भाइरसबाट संक्रमण भएकामा ३ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । शुरुमा देखिएको कोरोना भाइरस (कोभिड–१९) वुहानमा हाल संक्रमित हुनेको संख्या शून्यमा झरिसकेको चिनिया सञ्चारमाध्यहरुले जनाएका छन् ।

नेपालसहित १ सय ८६ देशमा देखिएको कोरोना भाइरसका विरामीहरु नेपालसहित केही देशमा निको भइसकेका छन् । कोभिड–१९ बाट संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वमै बढिरहेका कारण सावधानी नअपनाउने हो भने आगामी दिनमा यो भाइरसका विरामी नेपालमा पनि नथपिएलान भन्न सकिदैन । 
विश्व स्वास्थ्य संगठनले विश्वमै कोरोना भाइरसको संक्रमण तथा मृत्युदर बढिरहेका कारण हालको अवस्थालाई नियन्त्रण भन्दा बाहिर रहेको भन्दै स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेको छ । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न २५ जनाभन्दा बढी भेला भएर हुने सबै खालका कार्यक्रम बन्द गर्न आग्रह गरेको छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
 
हाल चलचित्र घर, स्कुल तथा विश्विद्यालय जस्ता मानिसको चहलपहल हुने स्थानहरुमा चैत मसान्तसम्मका लागि बन्द गरिएका छन् । लामो दुरीका सार्वजनिक यातायात तथा अन्तराष्ट्रिय हवाई उडान चैत १० गतेदेखि केही दिनका लागि बन्द गर्ने घोषणा गरिसकेको छ । 

कोरोना भाइरसको महामारीका कारण बजारमा स्यानीटाइजर, मास्क, खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल लगायतका खाद्यबस्तुको कृत्रिम अभाव गर्ने र चर्को मूल्यमा बेच्ने जस्ता हर्कत बढ्न थालेका छन् ।

कोरोना भाइरसका कारण सिर्जना भएको महामारीको यो अवस्थामा सञ्चारमाध्यमको भूमिका अत्यन्तै संवेदनशील तथा महत्वपूर्ण हुन्छ । जसरी २०७२ सालको भूकम्पपछि सञ्चारमाध्यमहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरे त्यसैगरी कोभिड–१९ को महामारीको यो घडीमा सत्यतथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न आवश्यक छ । 

केही अनलाइन तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले सूचनालाई तोडमोड गरी पाठकमाझ भ्रम तथा आतंक सिर्जना हुनेगरी समाचारका शीर्षक बनाई समाचार लेख्ने गरेका छन् । महामारीको यो अवस्थामा सञ्चारमाध्यमले सत्यतथ्य समाचारमार्फत जनतालाई संयम गराउनेतर्फ जोड दिनुपर्छ । 

विपतको यस घडीमा सञ्चारमाध्यमहरुले भ्रामक तथा गलत सूचना सम्प्रेषण हुनबाट रोक्न समाचार संकलन, छनोट, सम्प्रेषण, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता पत्रकारिताको प्रक्रियामा विशेष ध्यान दिन जरुरी छ । पत्रकारले समाचारसँग खेल्दै गर्दा समाचार तथा सूचनाको शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नौतिकता, स्वच्छता कायम गरी उत्तरदायी भई समाजमा रहेका भ्रमलाई चिर्नुपर्छ । 

कोरोना भाइरस संक्रमण रोकथाम गर्ने औषधि तथा यसको उपचार विधिबारे सामाजिक सञ्जालमा भ्रामक हल्लाहरु फैलिइरहेका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता भ्रमलाई आगोमा तेल हाल्ने काम गरेका छन् । भ्रम चिर्नु तथा सत्यतथ्य जानकारी दिनु सधै सञ्चारमाध्यमको पहिलो शर्त हुन्छ ।
 
वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा समाचार लेख्नुपर्छ । अनधिकृत सूचना वा हल्लालाई सञ्चारमाध्यमले स्थान दिनु हुँदैन । सरकारी तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरुले दिएका आधिकारिक सूचना मात्रै सम्प्रेषण गर्नुपर्छ । सकारात्मक समाचारहरुले मानिसको मनोबल बढाउने हुँदा नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरु सम्प्रेषण गर्न निरुत्साहन गर्नुपर्छ । 

पाठक तथा स्रोताले समाचारको विश्वसनीयताका लागि आधिकारिक सञ्चारमाध्यम तथा तिनका सामाजिक सञ्जाललाई मात्रै आधार मान्नुपर्छ । केही अनलाइन सञ्चारमाध्यमले भ्यूयर्स बढाउन भ्रम सिर्जना हुनेगरी समाचारका शीर्षक राखेका छन् । अनलाइनको यो रोग पुरानै भएपनि संकटको अवस्थामा सञ्चारमाध्यम हुन वा सामाजिक सञ्जाल प्रयोगकर्ता, भ्रमलाई दुरुत्साहन गर्नुपर्छ ।
 
अहिले धेरैजसो सञ्चारमाध्यमहरुले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित तथा मृत्यु हुनेको संख्या र देशसम्बन्धी समाचारलाई विशेष ध्यान दिएका छन् । कोरोना भाइरसले विश्वभरी नै महामारीको रुप लिइसकेको अवस्थामा कोभिड–१९ को संक्रमण कसरी हुन्छ ? संक्रमण भइहाले के गर्ने ? साथै, यसको सावधानीका उपाय जस्ता सूचनालाई अग्रस्थान दिनुपर्छ ।

विपतको यो घडीमा राज्यका संयन्त्र एउटै विषयमा केन्द्रित हुँदा सबै क्षेत्रमा राज्यको उपस्थिति नहुन सक्छ । त्यसैले आम नागरिकको भूमिका बढेको छ । समाजमा रहेका हरेक वर्ग तथा समुदायबीच आपसी समझदारी कायम गर्नु, सहयोग र सहकार्य गर्नु, शान्ति तथा सद्भाव कायम गर्नु आजको मुख्य आवश्यकता हो । 

खगेन्द्र फुयाँल

(फुयाँल प्रेस स्वतन्त्रतासम्बन्धी अनुसन्धानमा क्रियाशील हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय