हेलो कोरोना... आई हेट यु !

dainikonline
धर्मेन्द्र झा | चैत ५, २०७६ बुधबार | 0

हेलो कोरोना... आई हेट यु। कोरोना म तिमीलाई घृणा गर्छु। कोरोना माने कोरोना भाइरस। तिमीलाई घृणा गर्नुपर्ने अनेक कारण छन्। तिमीले छिटै नियन्त्रित हुनुको विकल्प छैन। तिमीलाई किन घृणा गर्ने? छलफलका लागि केही आधार यहाँ प्रस्तुत गर्दैछु। 

कोरोना नाम स्वयंमा नयाँ होइन। कोरोनाका नाममा विश्वमा लोकप्रिय वियर उपलब्ध छन्, जो पश्चिमा देशमा निकै प्रसिद्ध छन्। नेपालकै राजधानी काठमाडौमा कोरोना नामबाट एक विद्यालय सञ्चालित छ। हिजोसम्म यी सबै गुमनाम थिए। तर आज अचानक यो नाम चर्चाको शिखरमा पुगेको छ। यसको कारण हो, कोरोना भाइरसको आतङ्क।

विज्ञहरुका अनुसार कोरोना भाइरस पनि स्वयंमा नयाँ होइन। विगतमा पनि कुनै न कुनै रुपमा यो अस्तित्वमा थियो। तर यतिविघ्न आतङ्क थिएन। हालसम्म प्राप्त विवरणका आधारमा विश्लेषण गर्ने हो भने यो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर)सँग जोडिएको छ। जुन भूगोलका व्यक्तिमा इम्युनिटी पावर कमजोर र स्वास्थ्य सेवाको जटिल उपलब्धता छ, त्यहाँ यसले बढी आक्रमण गरेको पाइएको छ। कमजोर इम्युनिटी पावरकै कारण यस भाइरसले ६० वर्षभन्दा माथिका व्यक्तिलाई बढी समस्याग्रस्त बनाएको पाइएको छ।
  
त्यसो त यसका सन्दर्भमा अनेक विश्लेषण गरेर विद्वता देखाउनेहरुको कमी छैन। हुँदाहुँदा एकजना विश्लेषकको एउटा आलेख नाम चलेको पत्रिकामा प्रकाशित भयो। तिनले यसको सम्बन्ध पूँजीवादी व्यवस्थासँग पनि जोडे। यस्ता मत राख्नेहरुका अनुसार पूँजीवादीहरुले आफ्नो व्यापार बढाउन कोरोनाको आतङ्क प्रसार गरेका हुन्। अर्काथरि कथित विद्वान छन्, उनीहरुले यसमा जैविक हतियारको सम्भावना देख्छन्। त्यस्ताका अनुसार यो अमेरिका र चीनबीचको संघर्षको परिणाम हो र कोरोनालाई जैविक हतियारका रुपमा परीक्षण गरिएको हो। तर त्यस्ता विद्वान अमेरिका र चीनबीच कस्तो र केका लागि संघर्ष छ भन्ने कुरा चाहिँ खुलाउन चाहँदैनन्। 

यस्तै एकथरि स्वनामधारी छन्, जो कोरोनाको आतङ्क प्रसारमा पश्चिमा मिडियाको चलखेल देख्छन्। उनीहरुका अनुसार कोरोना जति खतरनाक छ, त्यो भन्दा बढी खतरनाक यसलाई पश्चिमा मिडियाले बनाएका छन्। उनीहरुले आफ्ना पक्षमा अतिरञ्जित तरिकाले कोरोनालाई जनसमक्ष पस्केका छन्। सत्य जेसुकै पनि हुन सक्छ वा सत्य यीमध्ये केही नहुन पनि सक्छ। एउटा सत्य कुरा चाहिँ के हो भने कोरोना कमजोर भाइरस हो। कतिपय सन्दर्भमा रुघाखोकीको सामान्य औषधि र केही सचेतनामूलक कार्यहरुले यो भाइरस परास्त हुन सक्छ। सबभन्दा चिन्ताको कुरा के हो भने यसमा एक ठाउँबाट अर्को ठाउँसम्म सर्नसक्ने क्षमता धेरै छ। आम व्यक्ति सबभन्दा बढी सचेत हुनुपर्ने यसै सन्दर्भमा हो।
 
आज कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले सम्पूर्ण विश्व त्रस्त र आक्रान्त बन्न पुगेको छ। बुधबार बिहानसम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्दा विश्वका १५९ देशमा अहिले यो भाइरसले एक किसिमले वितण्डा मच्चाएको छ। समकालीन विश्वमा महामारीको रुप ग्रहण गरिरहेको यो भाइरसजन्य रोग अहिले स्वास्थ्य विज्ञानका लागि चुनौती बनेको छ। विज्ञहरुका अनुसार निमोनियाजस्तै रोग निम्त्याउने यो भाइरसले सामान्यतया रुघा, खोकी र ज्वरोको लक्षण देखाउँछ। शरीर दुख्ने, अत्यधिक थकान अनुभव हुने र श्वास लिन कठिन हुनेजस्ता समस्यालाई विस्तार गर्दै यो भाइरसले मानिसलाई मृत्युको मुखसम्म लैजाने कुरा विज्ञहरुले बताएका छन्। 

विश्वमा यो भाइरस पछिल्लोपटक सबभन्दा पहिले चीनमा देखिएको हो। गत डिसेम्बरमा चीनमा पहिचान भएको यो भाइरसजन्य रोग सोही समयमा जापानी–कोरियाली प्रायद्वीपमा पनि देखिएको बताइएको छ। डिसेम्बरपछि विश्वभरि यस रोगबाट कति जनाको मृत्यु भएको कुरा हालसम्म यकिन हुनसकेको छैन तर एउटा कुरा के सत्य हो भने उपयुक्त औषधिको अभावमा थुप्रै व्यक्तिले समस्या भोग्नु परेको छ। यस रोगबाट मृत्यु हुनेमा सबभन्दा बढी चीनमा छन् भने त्यसपछि इटाली र इरानमा रहेका छन्।
 
यो भाइरस हालसम्म नेपालमा प्रवेश नगरेको विश्वास गरिएको छ। अहिलेसम्म नेपालमा परीक्षण गरिएका विरामीहरुमा कोरोना भाइरस पाइएको छैन तर भविष्यमा यो भाइरस नेपालमा आउँदै आउँदैन भनेर भन्न सकिने अवस्था चाहिँ होइन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अति जोखिमको सम्भावना भएको मुलुकको सूचीमा राखी नेपाललाई कोरोना भाइरसबाट सतर्क रहन आव्हान गरेको छ। तर दूर्भाग्य डब्लुएचओको आव्हानपछि पनि नेपाल सरकारले यस दिशामा पर्याप्त सतर्कता र सावधानी अपनाएको पाइएको छैन। राजधानीमा जनस्तरबाटै केही सचेतना अपनाइएको पाइए पनि सरकारले त्यसमा सहयोगी भूमिका निर्वाह गर्न नसक्नु दुःखद छ।

यो भाइरस हावाभन्दा पनि सिंगान, खकार, हाँच्छ्यु, पसिना, हातको सम्पर्क आदिबाट सर्ने सम्भावना व्यक्त गरिएको छ। विज्ञहरुले जनसामान्यलाई मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन, स्यानीटाइजरको प्रयोग गरी हात सफा राख्न, भीडभाडमा नजान, एकआपसमा हात नमिलाउन जस्ता सावधानी अपनाउन आव्हान गर्दै आएका छन्। यस आधारमा सरकारले पनि आवश्यक तयारी गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन। 

जनतालाई परेको यस पीडाबाट लाभ उठाउन व्यापारीहरुले कालाबजारीलाई प्रश्रय दिएको पाइएको छ तर नियन्त्रणका दिशामा सरकार मौन देखिएको छ। अहिले राजधानीका बजारमा सर्जिकल मास्क उपलब्ध छैन वा भए पनि मूल्यमा निकै ठूलो वृद्धि भएको पाइएको छ। यस्तै राजधानीका पसलमा स्यानीटाइजर पनि लुकाइएको छ। पछिल्लो समयमा रातारात खुलेका कम्पनीहरु गुणस्तरहीन स्यानिटाइजर बनाएर बजार पठाइरहेका छन् र ब्रम्हलुट गरिरहेका छन्। तर यस सम्बन्धमा सरकारको कुनै पनि अनुगमन भएको पाइएको छैन।

यस्तै भीडभाडमा जनसामान्यलाई नजान भनिए पनि सार्वजनिक यातायातका साधनको संख्या र स्तरमा सुधारतर्फ भने सरकारले हालसम्म कुनै तदारुकता अपनाएको पाइँदैन। देशको राजधानीकै यो हालत छ भने देशका दूरदराजका गाउँको हालत के होला? स्वतः अनुमान गर्न सकिन्छ। 

नेपाली जनता धैर्यवान र चेतनशील छन्। जस्तै समस्याको समाधान पनि जनस्तरबाटै खोज्न सक्ने क्षमताका धनी छन्। यसपटक पनि समस्याको समाधान मिलेरै गर्नेछन्। यो भाइरसलाई जुन प्रकारले हौवा बनाइएको छ, खासमा त्यस्तो होइन। यो शक्ति राष्ट्रबीचको संघर्षको परिणाम पनि होइन। यो पूँजीवादी शक्तिहरुको रणनीति पनि होइन। यो त सामान्य भाइरस हो जो मानिसकै कारणले अत्यधिक प्रसार हुने अवस्थामा आयो। कोरोना भाइरसबाट लाग्ने रोगको मृत्युदर अत्यन्त न्यून भएको पाइएबाट यो रोग चर्चामा रहेजस्तो भयानक होइन। तर समस्या के हो भने यसको कुनै औषधि अहिलेसम्म निर्माण हुन सकेको छैन। त्यसैले सावधानी अपनाउनु नै यो रोगको प्रतिकारको मुख्य औजार हो। 

यसमा देशका प्रत्येक तहका सरकारको भूमिका सहयोगी हुनु अनिवार्य छ। तर सरकार सहयोगी भएन भन्दैमा आमव्यक्तिले हतोत्साही हुनु पर्ने कुनै कारण छैन। सावधानी र सतर्कता अपनाइए यस भाइरसबाट हुने जोखिम न्यून गर्न सकिन्छ। निश्चय पनि, नेपाली जनता यसका लागि तयार रहेको विश्वास गर्न सकिन्छ।

धर्मेन्द्र झा

(झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय