जुम्ला सदरमुकाममा खानेपानी अभाव

dainikonline
रासस | फागुन २९, २०७६ बिहिबार | 0

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ। खानेपानी अभावले हरेक हप्ताको दुई दिन बढी मानिस खानेपानी खोज्न मुहानदेखि खोला र धारामा समेत जाने गर्छन्। 

जनसङ्ख्या बढ्ने तर खानेपानीको मात्रा घट्दै जाने भएकाले समस्या बढ्दै गएको हो। विसं २०५६ मा स्थापना भएको खलङ्गा खानेपानीले अहिले सदरमुकाममा आपूर्ति गर्दै आए पनि पानी कम आउने गर्छ। 

हप्ताको एक–दुई दिन पानी ठप्पै हुँने समस्याले उपभोक्तालाई हैरान पार्दै आएको छ। एकातिर खानेपानीकै अभाव छ भने अर्को सरसफाइलाई पनि पर्याप्त पानी नहुँदा समस्या परेको छ।   

सदरमुकाममा अहिले एक हजार चार सय ८२ घरधुरी खानेपानीका ग्राहक छन्। खानेपानीको माग बढ्दै गएकाले अभाव भएको खलङ्गा खानेपानी कार्यालय जुम्लाका कर्मचारी अर्जुन बरालले बताउनुभयो। बरालले विगतको संरचनाअनुसार बनाइएको खानेपानीको मात्रा अहिले नपुगेकाले अब थप खानेपानीको मुहान पहिचान गरी योजना अगाडि बढाउने काम भइरहेको जानकारी दिनुभयो। 

खानेपानी कार्यालयका अनुसार हाल सदरमुकामका लागि करीब चार लाख लिटर रिजर्भ ट्याङ्की रहेको तर बढ्दो जनसङ्ख्यासँगै खानेपानीको माग बढ्दो छ। 

अहिले पातारासी गाउँपालिकाको बातागाउँमा मुहान खरिद गरी पानी ल्याएको, प्रदेश सरकारको रु ३० लाख सहयोग तथा अन्य सानोतिनो सहयोगले दुई लाख लिटर खानेपानी सङ्कलन हुने काम भइरहेको बरालले बताउनुभयो। दश हजार लिटरको रु एक सयका दरले उपभोक्ताले पानी पाइरहेको तर पनि कोही घर र कार्यालयमा रु पाँच सयभन्दा पनि बढी बिल आउने गरेको कार्यालयले जनाएको छ। 

पानी अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई एकजना स्थानीयवासीले मुहान दान गर्नुभएको छ। चन्दननाथ नगरपालिका–३ निवासी पदम खत्रीले मुहान दान गरेपछि अहिले प्रतिष्ठानलाई पर्याप्त खानेपानी भएको छ। प्रमुख प्रशासकीय अधिकृत दन्दबहादुर शाहीका अनुसार बजारको पानीले अभाव भएपछि खोलिकोट निवासी खत्रीले आफ्नो जग्गामा भएको मुहान दिएर सहयोग गर्नुभएको बताउनुभयो। 

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भएपछि नेपाल सरकारले बृहत् खानेपानी आयोजनाको तयारी गरेको छ। यहाँको धौलीघाट पाटनमा रहेको खानेपानीका लागि सङ्घीय सरकारले दुई अर्ब २५ करोड बजेट विनियोजन गरेको सङ्घीय खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख महेश न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार असार अगावै टेन्डर गरिने तयारी भइरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय