कोरोना कहरः ज्यान रहे पो जिन्दगानी, ज्यानै नरहे...

आतंकित नबनौं, वेवास्ता पनि नगरौं, शिक्षण संस्था, उद्योगधन्दा र भीडभाड सबै बन्द गरौं!

dainikonline
डिल्ली मल्ल | फागुन २०, २०७६ मंगलबार | 0

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको आतंक फैलिएको छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ भने विश्वका धेरै देशहरुले पनि आ–आफ्नो देशमा उच्च सतर्कता अपनाउन विभिन्न उपाय अबलम्बन गरिरहेका छन् ।

उत्तरी छिमेकी देश चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका ७३ देशमा फैलिइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ। डब्लुएचओको मार्च ३ अर्थात् मंगलबार दिउँसोसम्मको तथ्याङ्कअनुसार चीनसहित ११ देशका ३११० जनाको मृत्यु भइसकेको छ भने ९० हजार ८९२ जनामा संक्रमित भइसकेको अवस्था छ।

कोरोना भाइरस आतंक यसरी फैलिएको छ कि विश्वभरका मानिसहरुको दिनचर्या, जीवनशैली र कामकाज नराम्ररी प्रभावित हुन पुगेको छ। विश्वका मानिसहरु कोरोना भाइरसले असर कहाँ कसरी भइरहेको छ भनेर सञ्चारमाध्यामहरुकै भर पर्नुपर्ने स्थिति आइलागेको छ।

उसो त अनलाइन, टिभी र रेडियोजस्ता विद्युतीय सञ्चारमाध्यामहरु हरेक क्षण, हरेक घण्टा विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुने र संक्रमित हुनेहरुको समाचार ‘ब्रेक’ गरिरहेका छन् भने अखबारहरु हिजो भन्दा आज कति जनाको मृत्यु भयो, कति संक्रमित भए हिसाब गर्दै समाचार लेख्नुपर्ने स्थितिमा पुगेका छन्।

के हो नेपालको अवस्था?

नेपालमा कोरोना भाइरस भित्रिइसकेको कुरा पुष्टि भइसकेको छैन। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा हेर्दा नेपालमा एक जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको देखाएको छ। तर त्यो कहाँ, कहिले देखियो भन्ने सरकारी तहबाट पुष्टि भएको छैन। चीनबाट फर्काइएका १७५ जना नेपाली विद्यार्थीहरुलाई १४ दिन खरिपाटीस्थित क्वारेन्टाइनमा निगरानीमा राखिएको थियो। तर १४ दिनसम्म क्वारेन्टाइनमा राखी नियमित स्वास्थ्य जाँच गर्दा सबै स्वस्थ देखिएपछि आइतबार नै घर–घर पठाइसकिएको छ।  

विश्व स्वास्थ्य संगठनले नेपालको नामै लिएर कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको भन्दै आवश्यक सतर्कता, पूर्वतयारी र जोखिम नियन्त्रणका उपाय अपनाउन निर्देशन नै गरिसकेको अवस्था छ।

उसो त हामी आफैले बुझ्नुपर्ने पनि के हो भने नेपालमा चीन र भारतबाट जे कुरा पनि सजिलै भित्रिन सक्छ। नियमित रुपमा ठूलो मात्रामा व्यापारिक तथा अन्य सामान भित्रिने, मान्छेहरुको आवतजावत भइरहने मात्रै होइन, उत्तर र दक्षिणको राजनीतिक, सामाजिक, साँस्कृतिक र वातावरणीय प्रभावसमेत पर्ने नेपालमा कोरोना भाइरस आउदैन भन्ने के आधार छ र? चीनमा उत्पत्ति भएको यो भाइरस चीनसँग प्रत्यक्ष नजोडिएका देशहरुमा समेत देखिन थालेको अवस्थामा नेपाल त झन् सिमाना नै जोडिएको र हवाई तथा स्थलमार्गबाट नियमित आवतजावत चलिरहने ठाउँ भएकाले झन् त्यो जोखिम बढिरहेको छ। 

पछिल्ला केही दिनयता दक्षिण कोरियामा बढ्दै गएको भाइरसको प्रभावले पनि नेपाललाई प्रत्यक्ष असर गर्ने स्थिति छ। किनकि दक्षिण कोरियामा अहिले करिब ४४ हजारको हाराहारीमा नेपाली नागरिकहरु कामदारको रुपमा बसिरहेका छन्। त्यहाँका नेपाली नागरिकहरुलाई संक्रमण हुनु भनेको पनि नेपालकै क्षति हो। त्यस्तै, नेपाली नागरिकहरु रहेका र आउजाउ चलिरहने देशहरुका भाइरसको प्रभाव बढ्दै जानु पनि खतराको संकेत हो। नेपालीहरु बानी के भने जहिले पनि आफूलाई थाहा त हुन्छ तर विश्वास गर्दैनन्, जे कुरा पनि अरुले भनिदिनुपर्छ। अहिले कोरोना भाइरसको जोखिमका बारेमा पनि विश्व स्वास्थ्य संगठनले बोलिसकेपछि नेपाली सरकारी अधिकारीहरु हतारिएको जस्तो देखिन्छ। 

विश्व स्वास्थ्य संगठनले नभन्दादेखि नै नेपाल कोरोना भाइरसको उच्च जोखिममै थियो। अन्तर्राष्ट्रिय समुदाय नै कराएपछि नेपालीहरु आत्तिनु र तात्तिनु त नानीदेखिकै बानी भइहाल्यो। त्यसमा हामीले के टिप्पणी गर्नु र! 

कोरोना भित्रिएपछिको जोखिम कति?

नेपाल किन सुरक्षित छ? हामी किन सुरक्षित छौं? यस्ता बहस चल्दा भन्ने गरिन्छ, कसैले केही नगरेको हुँदा हामी सुरक्षित छौं अर्थात् कसैले नमारेको हुँदा हामी बाँचिरहेका छौं। कसैले चाह्यो भने हामीलाई जतिबेला होस् जसरी नि उडाइदिन सक्छ। ठीक त्यस्तै यतिबेला नेपालमा कोरोना भाइरसले नचाहेकै भएर पो हामी बाँचिरहेका हौं कि?

सामान्यतः नेपालमा केही महामारी आयो भने त्यसको सामना कसरी गर्ने भन्ने हाम्रो रणनीतिक योजना नै छैन। महामारीको सामना गर्ने शक्ति, पूर्वाधार र साधनस्रोत कस्तो छ भनेर हेर्ने हो भने निकै चिन्ताजनक अवस्था छ। उदाहरणका लागि हामीले २०६६ सालमा जाजरकोटमा फैलिएको झाडापखालाको महामारीले डेढ सय बढीलाई गुमाउनु परेको थियो भने २०७१ चैत र २०७२ बैशाखमा जाजरकोटमै देखिएको मौसमी रुघाखोकीले २७ जनाको ज्यान लिएको थियो। सयौंको संख्यामा प्रभावित भएका थिए। अहिलेको जमानामा सामान्यजस्तै लाग्ने झाडापखाला र मौसमी रुघाखोकीले त त्यति धेरैको ज्यान लिएको थियो भने चीन, कोरिया, अमेरिका जस्ता शक्तिसम्पन्न राष्ट्रलाई समेत आच्छुआच्छु बनाउने यो कोरोना भाइरस नेपालमा फैलिए के हालत होला? 

के गर्दैछ सरकार?

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भाइरस भित्रिने र फैलिने सम्भावित जोखिमहरुको आँकलन गर्दै सरकारले केही निर्णयहरु गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष २०२० तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। त्यस्तै, विश्वभरबाट अतिथिहरु बोलाएर गर्ने भनिएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ।

कोरोना भाइरसको संक्रमण देखिएका देशहरुमा अत्यावश्यक काम बाहेक नजान आग्रह गर्दै सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी नै जारी गरेको छ। मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन। तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपील गरेको छ।

त्यस्तै, दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार नपठाउने निर्णय गर्नुका साथै अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर दिन रोक लगाइएको छ। 

यसैबीच सोमबार नै सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिइसकेको छ। त्यसबारेमा सरकारले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिम नियन्त्रणका लागि सबैले आवश्यक सतर्कता अपनाउन सार्वजनिक अपील गर्नुका साथै सरकारी तथा निजी सबैखाले अस्पताल, स्वास्थ्य संस्थाहरुलाई आइसोलेसन वार्डहरु बनाउन, आइपरेमा सबैखाले उपचारको तयारी गर्न निर्देशन नै गरेको छ।

त्यस्तै, आम नागरिकहरुलाई अति आवश्यक काम बाहेक भीडभाडमा नजान, ठूला कार्यक्रम, भोजहरु आयोजना नगर्न, मास्क लगाएर हिड्न, सरसफाइमा विशेष ख्याल गर्न आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रियबाट भित्रिने सबै यात्रुहरुको स्वास्थ्य जाँचमा कडाइ गरिएको र शंकास्पद यात्रुहरुलाई स्वास्थ्य उपचार इकाईमा राखेर थप जाँच गरेर मात्रै पठाउने प्रक्रिया शुरु गरेको छ। 

यसबीचमा कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना सबै कार्यक्रमहरु रद्द गरिएको जनाउनुभएको छ भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार हुने भनिएको प्रदेश नं. १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरेको छ। 

त्यस्तै, नेकपा (मसाल)ले कोरोनाको सम्भावित खतरालाई ध्यान दिदै अनिश्चितकालका लागि ठूलो जमघट हुने पार्टी र पार्टीनिकटका जनवर्गीय संगठनका भेला, सम्मेलन, जनसभा तथा कार्यक्रमहरु नगर्ने निर्णय गरेको जनाएको छ।

सबैभन्दा जोखिममा विद्यार्थी

नेपालको शैक्षिक क्यालेन्डरअनुसार फागुन चैत भनेको अन्तिम परीक्षाको समय हो। शिशु कक्षादेखि एसईईसम्मको अन्तिम परीक्षा चैतमै हुने गरेको छ। त्यसैले परीक्षा र त्यसभन्दा अघिका दिनहरु अध्ययनका लागि स्कूल जानैपर्ने दिनहरु हुन्। 

अहिले दिनहुँ लाखौं विद्यार्थीहरु विद्यालय, क्याम्पसमा भेला भइरहेका हुन्छन्। यदि कुनै एउटा विद्यालयको एक जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भयो भने त्यो अन्यत्रभन्दा सबैतिर छिटो छिटो फैलिन्छ। सरकारले राजनीतिक तथा गैरराजनीतिक भेला तथा भीडभाडहरुलाई रोक्न आह्वान गरिरहँदा शिक्षण संस्थातर्फ ध्यान नदिएको जस्तो देखिन्छ। यसतर्फ सरकार र सम्बन्धित मन्त्रालयको ध्यान जानु जरुरी छ। त्यसैले विद्यालय, क्याम्पस लगायतका सम्पूर्ण शैक्षिक संस्थाहरु धेरै भीडभाड हुने र भाइरस संक्रमणको सबैभन्दा जोखिमपूर्ण क्षेत्र हुन् भन्ने मनन् गरी यो संकट नटर्दासम्मका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्नु नै बुद्धिमानी हुन्छ। 

हो, शैक्षिक हिसाबले यो समय परीक्षाको मौसम हो तर ज्यानका अगाडि परीक्षा ठूलो होइन। मान्छे बाँचे पो परीक्षा गर्ने, मान्छे नै नरहे..? त्यसैले परीक्षा केही हप्ता वा महिना पर सारौं, पढाइ केही दिन थाँती राखौं र कोरोना भाइरसविरुद्धको लडाइँमा सबै एकजुट भएर लडौं। कोरोना भाइरसले वर्ग, जात, धर्म, विचार र लिङ्ग छुट्याउँदैन, यो महामारी सम्पूर्ण मानव जातिको विनासको हुन्डरी हो, यसबाट बच्न मानव हुनुको नाताले सम्पूर्ण मानव समुदाय एक होऔं, जसले जहाँबाट, जसरी हुन्छ लडौं, यसमै हामी सबैको कल्याण हुनेछ।

नेपालमा सामान्य बिरामीहरुलाई पर्याप्त उपचार गर्न त कठिनाइ भइरहेको बेला कोरोना भाइरस नै फैलियो भने त्यो हाम्रो लागि निकै दुर्भाग्य हुनेछ र अहिले कोरोनासँग लडिरहेका चीन, कोरिया, इरानभन्दा नेपाललाई निकै महंगो हुनेछ। किनकि न त हामीलाई कोरोना प्रभावित क्षेत्रहरु ‘बन्द’ गरेर उपचार गर्नसक्ने क्षमता छ, न पर्याप्त अस्पताल, स्वास्थ्यकर्मी र भाइरस फैलिन रोक्न सक्ने सामथ्र्य नै। 

अतः रोग लागेपछि उपचार गर्नेभन्दा रोग नै लाग्न नदिनु भन्ने मर्मलाई आत्मसात गर्दै कोरोना भाइरसलाई नेपालमा कसरी रोक्न सकिन्छ भन्नेतर्फ सबैले दिमाग लगाऔं। आफ्ना आनीबानीमा परिवर्तन गरौं, जति सकिन्छ दुःख, कष्ट अहिले नै झेलौं र कोरोना भाइरसलाई रोकौं। नेपालमा कोरोना भाइरसको संक्रमण फैलियो भने जिन्दगी नै हाम्रो हातमा हुने छैन। हामीलाई पशुपतिनाथको कृपाले मात्रै बचाउने छैन र देश नै ठूलो चिहानमा बदलिन बेर लाग्ने छैन। 

डिल्ली मल्ल

मल्ल राजनीति र साहित्यकलाका क्षेत्रमा कलम चलाउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय