एसीसी इस्टर्न रिजन टी २० का लागि नेपाली क्रिकेट टोली थाइल्याण्डमा

dainikonline
दैनिक अनलाइन | फागुन १६, २०७६ शुक्रबार | 0

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड पुगेको नेपाली क्रिकेट टोली शनिबार मलेसियासँग भिड्ने भएको छ। दुई दिनअघि थाइल्याण्ड गएको नेपालले शुक्रबार प्रतियोगिताका लागि अभ्यास गरेको थियो।

शनिबारदेखि शुरु हुने यस प्रतियोगितामा नेपालको पहिलो खेल मलेसियासँग हुनेछ। नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा थाइल्याण्ड, सिंगापुर, हङकङ र मलेसियाका क्रिकेट टोली सहभागी हुनेछन्।

प्रतियोगिताको उद्घाटन खेल भने घरेलु टोली थाइल्याण्डले सिंगापुरसंग खेल्नेछ भने नेपालले दोस्रो खेल १ मार्चमा हङकङसँग खेल्नेछ।

नेपालले तेस्रो खेल ४ मार्चमा आयोजक थाइल्याण्डसँग खेल्नेछ भने ६ मार्चमा सिंगापुरसँग अन्तिम खेल खेल्नेछ। 

कोरोना भाइरसको संक्रमणको कारण चीन, म्यानमार र भुटानले यस प्रतियोगितामा सहभागिता नजनाएपछि इस्टर्न रिजनमा पाँच टोलीले मात्र खेल्न लागेका हुन्।

नेपाल, थाइल्याण्ड, सिंगापुर, मलेसिया र हङकङले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेपछि अंकतालिकामा शीर्ष दुईमा रहने टिम अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरमा पुग्नेछन्।

वेष्टर्न रिजनबाट यसअघि नै युएई र कुवेत छनोट भइसकेका छन्। चार टोली सम्मिलित क्वालिफायरको विजेता टोली मात्र सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ। जसमा पाँच टेष्ट राष्ट्रसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

के हो एसीसी कप ?

सन् १९९६ मा भएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ट्रफीबाट नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो।

एसीसीले आफ्नो एसोसियट र एफिलिएटेड सदस्यबीच यो प्रतियोगिता आयोजना गथ्र्यो। यसको महत्व के थियो भने शीर्ष दुईमा पुग्ने टोली टेस्ट राष्ट्रसमेत सामेल हुने एसिया कप खेल्न पाउथेँ।

नेपालले २००२ मा भएको एसीसी ट्रफीको शीर्ष दुईमा रहँदै पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको थियो। दश टोली सहभागी प्रतियोगिताको फाइनल पुगेका नेपाल र यूएई एसिया कपमा सामेल भएका थिए।

तर, बिडम्बना भारत–पाकिस्तानबीचको राजनीतिक समस्याका कारण २००३–४ मा हुनुपर्ने एसिया कप भएन र नेपालको पहिलो एसिया कप खेल्ने सपना अधुरै रह्यो।

त्यसयता एसियाली क्रिकेटको यो शीर्ष प्रतियोगिता खेल्ने नेपालको प्रयास हरेक पटक असफलतामा टुंगिने गरेको छ। पछिल्लो पटक दुई वर्षअघि नेपालले एसिया कप छनोट खेलेको थियो। ६ मध्ये शीर्ष स्थानमा रहने टोली एसिया कपमा छनोट हुने प्रावधान थियो। तर, चौथो भएपछि नेपाल एसिया कपमा छनोट हुन सकेन।

नेपालले फेरि एसिया कप खेल्ने अभियान शनिबारबाट थाल्दैछ। त्यसको पहिलो खुड्किलो हो, थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिता। यसपटकको खेल कस्तो हुन्छ र नेपाली क्रिकेट टोलीको एसिया कप खेल्ने सपना पूरा हुन्छ कि हुँदैन, त्यो हेर्न भने केही दिन कुर्नैपर्दछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय