ऐना: अ रिफ्लेक्सन अफ लभ

dainikonline
महेन्द्र महक | फागुन ३, २०७६ शनिबार | 0

झ्याल

हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ। र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ। हो, त्यही घामको किरण र हावाको झोक्कालाई समूल समेट्न हामी घरमा झ्याल राख्छौंं। जिन्दगीलाई जीवनको आश्वासन दिइरहन मान्छेले आफ्नो घरमा झ्याल राख्न सिक्यो।  

यस्तै एउटा झ्याल म बसेको कोठामा पनि थियो। झ्याल उनीहरु बसेको घरमा पनि थियो। 

दृश्य

झ्यालबाट दृश्यहरु देखिन्छन्। झ्याल खोलेर हेर्दा छिमेकमा आमाले आफ्नो बच्चालाई मनतातो पानीमा नुहाइदिदै गरेको देखिन्छ। छिल्लिदै हिँडेका केटाहरुले लुते कुकुरलाई हिर्काउँदा कुकुर कुइँकुइँ कराउँदै सानो गल्लीभित्र छिरेको पनि देखिन्छ।

पर... कतैबाट हुर्रिदै आएको बाइक र बाइकमा सवार ठिटोलाई बेवास्ता गर्दै मोबाइलमा एकतमास बात मार्दैै हिँडिरहेकी तपाइँको साथीको बहिनी/छोरी देखिन्छे वा फोहर बटुल्न घर घर डुली हिँड्ने ठेलावाला सुनिन्छ– ‘टुटा फुटा पिलासटिक, कागत, फलामका टुकरा।’ 

१२/१५ वर्षअघि झ्याल अलि फरक थिए। उज्यालो किरण र उन्मत्त हावा झ्याल ढोका बन्द गरी बस्नुपर्ने कफ्र्युका आदेश बोकी ल्याउँथे र जीवन उसै गरी चलिरहको मधुरो आश्वासन दिएर जान्थे। 

त्यो प्रतिकूल समयमा पनि मेरो झ्याल खुल्लै रहन्थ्यो दिउँसभरि। किनकि, मेरो झ्यालबाट त्यो झ्यालमा बसेर गीत गाइरहने उनलाई देख्न सक्थें। एकोहोरो भएर किताब हेरिरहेको बेला ऐना देखाइदिने उनलाई देख्न सक्थें। र, मलाई अत्तालिएको देखेर खुशी हुँदै हाँसेको उन्मत्त हाँसो सुन्न सक्थें। हामी बस्ने ती घरका झ्यालहरु खुल्लै रहन्थे किनकि हामी सजिलै बिना शब्द जिस्कन सक्थ्यौं, आत्मविभोर हुन सक्थ्यौं। 

अभिव्यक्ति : फक्रदो प्रेमको 

उनीहरु चार जना थिइन्, पक्की घरको त्यो पल्लो झ्यालमा। म एक्लै थिएँ, कच्ची घरको वल्लो झ्यालमा। दूरी यति थियो कि उनीहरुको अनु्हारसम्म देखिने। सामिप्यता यति थियो कि उनीहरु कोठामा अलि ठूलो आवाजमा बोले मैले सुन्ने। म झ्याल खोलेर मात्र पढ्न बस्थें, (भएको एउटा मात्रै झ्याल बन्द गरिदिए त कोठा गुम्सिएको जस्तो हुन्थ्यो ।) पढ्ने बेलामा गीत सुन्दै लेखपढ गर्नुपर्ने मेरो अजीबको लत थियो। हिन्दी नेपाली गीतका थुप्रै क्यासेट थिए कोठामा।

ऊ पनि झ्यालमा आएर घाम ताप्दै बस्थी र बेला–बेला गीतका बोलहरु सुरिलो आवाजमा गुनगुनाउँथी। उसको सुरिलो आवाज सुनेपछि मैले क्यासेट बन्द गरिदिन्थें। बिहानीको सुकोमल घामको पहेंलो किरण उनीहरुको झ्यालमा पथ्र्यो। तर, मेरो कोठा भने उल्टो पथ्र्यो। र, जिस्कन मन लागेको दिन त्यो घामको किरण ऐना देखाएर मेरो अनुहारमा पारिदिन्थी– ‘झ्यालमा बसेर हामीलाई हेर्ने।’

जिस्क्याएको हो या धम्क्याएको, बुझ्न सकिनँ मैले कहिल्यै पनि।

साँझ साँझ घामले बिदा लिनुअघि उनीहरु बाहिर निस्किन्थिन् र सिसौंघारीको चौरमा बसेर गीत गाउँथिन्, हाँस्थिन् र रमाउँथिन्। झ्यालमा बसेर मैले उनीहरुलाई हेरिरहेकै हुन्थें।

ती मध्ये एउटी उफ्रिन्थी, जुडो कराटेका पोज देखाउँथी र हावामा किक हान्थी। 

एक दिन रहर लाग्यो, उनीहरुमध्ये झ्यालमा बसेर गीत गाउनेलाई चिन्न मन लाग्यो। उनीहरु बसिरहेको सिसौंघारीमा पसें। उसका जुडोका पोज देखेर नै डराएँ र अलि वरै उभिरहेंं। त्यहाँ भएकी सबैमा सुन्दर भने ऊ नै थिई। कति ठिक भन्दा रहेछन् बुढाहरु, ‘राम्रो फूल त भीरमै फुल्छ बाबै।’ मैले उसको नाम मनमनै माधुरी राखिदिएँ। सिनेमाकी गोरी हिरोइन माधुरी।  

त्यतिबेला हिउँदे बिदाको समय थियो, कलेज बन्द थियो। त्यसैले त्यो रमाइलो हेर्ने फूर्सद थियो। 

मैले एक साँझ एउटा कविता लेखें उसको नाममा–

आऊ– मेरो हात समाऊ प्रिय
तिमी र म सँगै हिँड्नु छ 
र पुग्नु छ,
ऊ.... त्यो पारी देखिने क्षितिजसम्म
र बसाउनु छ मायाले भरिएको एक बस्ती 
जहाँ तिमी र म हुनेछौं 
र, सँगै हुनेछन् हाम्रा प्रेमिल सपनाहरु
सपना देख्ने उमेरमा लेखेको त्यो कविता कहिल्यै छापिएन ।

सुरिलो एक साँझ

लोडसेडिङको समय। अँध्यारो गहिरिदै गएपछि वा ठिक्क खाना पकाउने बेला या खाना खाने बेला बत्ती जानु पुरानो रोग हो, त्यो रोगको निदान अझैं पनि भइसकेको छैन यो देशमा। तर, मेरो लागि भने यो समय सबैभन्दा आनन्ददायी थियो। किनकि, बत्ती गएपछि ऊ झ्यालमा बसेर गीत गाउँथी र म उसका गीत सुन्दै खाना पकाउँथें। 

त्यसदिन साथी कोठामा आएको थियो। समीर। गीत गाइरहनुपर्ने साथी। उसका किशोरवयका दिनहरु दोहोरी गाएर नै बितेका थिए। ऊ अलि अबेर मात्रै आएको थियो कोठामा। अँध्यारो–अँध्यारो हुन लागेको बेलामा। 

‘सधैंभरि पानी र पँधेरो 
एक्लो ज्यान संसारै अँध्यारो।’

परको त्यो झ्यालबाट आवाज गुञ्जियो। 

खाना पकाउँदै गर्दा गीत गाएको सुमधुर आवाजले उसलाई तान्यो। 

साथी रमाइलो मुडमा थियो। त्यो मौकालाई त्यसै जान दिएन। र, जवाफ तुरुन्तै दियो।

‘सम्साँझै विरही कस्तो 
गीत सुन्दा उडी जाउँ है जस्तो।’

लोडसेडिङको अँध्यारो साँझ गीतको मधुरतामा लठ्ठिन थाल्यो। म बस्ने घरका सबै सदस्य कान चनाखा गरी सुनिरहेका थिए भने ऊ बस्ने घरका मान्छे पनि दोहोरीको मजा लिइरहेका थिए। न मादल थियो। न दोहरीको खाल थियो। गीत गाउनेहरुले एक–अर्कालाई देखेका थिएनन्। 

अब यसले के भन्छ? सुन्नेहरु झन चनाखो भएर सुन्दै थिए। 

अचानक बत्ती आयो। दोहोरी रोकियो। र, झ्यालहरु बन्द भए। 

‘दोहोरी त गजबै गाउनुहुँदो रहेछ।’ पानी भर्न बाहिर आएको बेला घरबेटी दिदीले भनिन्। मैले म होइन भनें, ‘साथी आएको छ। म होइन।’ 

‘ए, हो र।’ उनले सायद पत्याइनन्। 

त्यो साँझ मीठो वार्तालापमा बित्यो। विदेश जानुअघि भेट्न आएको साथीले आफ्ना सपना सुनायो अनि भावी योजना बतायो। 

स्कुल पढ्दा कसलाई कसरी कस्तो प्रेम पत्र लेख्यो, सबै बतायो र राती अबेरसम्म हँसायो। 

बिहान ऊ पहिलो गाडी भेट्ने गरी निस्कियो। अँध्यारो नै थियो ऊ जाँदा। पुस महिना। बिहानको पाँच बजे त मजस्ता अल्छीहरुले ओछ्यान छोडेकै हुँदैनन्। त्यसदिन पनि छोडिनँ, सुतिरहें । उसले बिदा माग्यो र हिँड्यो। 

दिउँसो सिसौघारीमा घुम्न निस्केको थिएँ। उनीहरु उसैगरी चौरमा बसी रमाइरहेकी थिइन्। र, माधुरी उसैगरी जुडोका पोज दिँदै थिई, उफ्रिदै थिई। मलाई देखेर माधुरी मुस्कुराई। संसार जितेजस्तो लाग्यो। मनभरी गुँरास फुल्यो। तर नजिक जाने आँट आएन। माधुरीका साथीहरु भने मलाई हेर्दै खासखुस कुरा गर्दै हाँस्न थाले। 

त्यससाँझ माधुरीको यादमा एउटा गजल लेखें–

तिमी मुस्कुरायौ यो दिल जलायौ 
त्यो नजरको प्यालाले भन के पिलायौ?      

जादू ग¥यौ तिमीले यस्तो मलाई 
कि तिमीलाई भुल्नै नसक्ने बनायौ।

बेहोस छु मदहोस छु तिम्रो यादमा 
मधुर मधुर यो मायामा के मिलायौ? 

गजलको लहर थियो त्यो। बेपरवाह नियम नमिलेका गजल लेख्ने। गजलमा अरु कुरा नमिले पनि मेरो अव्यक्त प्रेम व्यक्त भएको थियो। माधुरी हुनुको आभास थियो गजलमा। तर, यो गजल कहिलै प्रकाशित भएन। बरु बानी थियो– लेख्यो फाल्यो वा सिरानीमुनि कतै लुकायो अनि डेरा सर्ने बेला हरायो। यो गजल पनि हराएको थियो। भेटियो पुरानो पुस्तकभित्र। र, सँगै भेटिए झ्यालबाटै साटिएका केही अव्यक्त प्रेमिल भावनाहरु पनि।  
०००

नीलो छाया

यो बीच दश वर्षको समय बितेछ। 

देशमा जनआन्दोलन भयो। राजाको युग सकियो। गणतन्त्रको उदय भयो। संंविधानसभाको चुनाव भयो। 

म प्रवास पसें। तीन/चार वर्ष बसेर फर्किएँ। सडकमा गणतन्त्रका नारा लगाउँदा म पनि थिएँ। उफ्रिदै चिच्याउँदै नारा लगाएको थिएँ, सोच्थें समय बदलिने छ। 

समयले मलाई बदल्यो र खाडी पु¥यायो। 

राजनीतिप्रति चासो मर्दै गयो। शहरतिर बसाइ सरेंं। घर परिवार र आम्दानी खोज्न थालेंं। 

गएको महिना साथीको बुबा बित्नुभयो। साथीको बुबाको तेह्रौं दिनको तिथिमा गएको थिएँ। आगन्तुकलाई चिया खुवाउने हरियो साडी लगाएकी सुन्दरीलाई देखेर झस्किएँ। कतै देखेजस्तो लाग्यो। 

ऊ मुस्कुराई।

म पनि मुस्काइदिएँ। तर यस्तो लाग्यो, कुनै समयमा त्यो मुस्कानको म दिवाना नै थिएँ सायद। त्यो मुस्कानको नीलो छाया मेरो मनको गहिराईमा थियो सायद। म भ¥याङ उक्लिएर छतमा पुगें।

छतमा एक दुई जना केटाकेटी थिए। मलाई देखेर उनीहरु तल झरे। साथीको बुबा बितेकोमा मलाई दुःख लागेको थियो। त्यो भन्दा बढी दुःख आफ्नै मनको गहिराइमा लुकेको सम्झनाको नीलो छायालाई भेट्न नसकेकोमा थियो। 

हरियो साडी लगाएकी उनी माथि उक्लिइन्, छतको एक किनारमा थुपारिएका केही टपरी लिनका लागि रहेछ। 

‘हाम्रो भेट यो भन्दा पहिला कतै भएको थियो?’ मैले मनको खुल्दुली मेट्न चाहें। 

उनी मुस्काइन्। 

उफ। त्यो मुस्कान।

‘सायद। ..... सम्झिने प्रयास गर्नुहोस न।’ फेरि त्यही मुस्कान। 

कुनै विद्युतीय तरंगजस्तो मेरो जिब्रोमा नाम आयो, ‘तपाइँ माधुरी हो?’

‘को माधुरी? अहँ, मेरो नाम त श्रद्धा हो।’ 

‘तपाइँ ऊ .... त्यहाँ पारी बस्नुहुन्थेन र कलेज पढ्दा?’

मैले ‘झ्याल भएका ती यादगार घरहरु भएतिर ईशारा गरें।’

‘थ्याङ्क गड’ केही त याद रहेछ। रातैभरि दोहरी गाउने अनि मान्छे चाहिँ बिर्सिहाल्ने? अनि यो माधुरी चाहिँ को नि?’

एक पटक त मन भयो, भनिदिउँ, ‘माधुरी मेरी स्वप्न सुन्दरी हो। र त्यो सुन्दरी तिमी हौ जसलाई म अब चाहेर पनि प्राप्त गर्न सक्दिनँ। अनि त्यो दोहरी गाउने म होइन। मलाई त गाउनु कुन चरीको नाम हो, थाहै छैन।’ तर जिब्रो चलेन। 

‘थिइन् एक जना।’ मैले यत्ति मात्र भनें। 

हामी मौन रह्यौं एकछिन। 

‘तपाइँ गीत त साहै मीठो गाउनुहुन्छ नि।’ 

उनी मौन रहिन्। सायद, मेरो प्रश्नमा गम्दै थिइन्। अनि भनिन्, ‘गीत त तपाइँले गाउनुहुन्छ। मोहनी लाउने गरी।’

ऐना 

संयोग। स्पष्टीकरण दिनुपर्ने शब्द– सत्य हो, तिमीले सोचे जस्तो होइन, यस्तो भएको हो। तर म स्पष्टीकरण दिन चाहन्नँ। तपाइँलाई पत्याउने र नपत्याउने दुवै अधिकार छ। बलजफ्ती केही छैन। 

माधुरी अर्थात श्रद्धासँग भेट भएको तेस्रो दिन म राजधानी जाँदै थिएँ– रात्रीबसबाट। माधुरी र मेरो सीट सँगसँगै परेछ। हामी फेरि भेट भयौं। 

ऊ उसैगरी मुस्कुराउँदै आई। तर यसपटक दिल जलेन। म मुस्कुराइदिएँ। हामी सँगसँगै यात्रा गर्दै थियौं। 

‘एउटा नानु छ– छोरी। उतै काठमाडौंतिरै छु म। सात/आठ वर्ष नै भइसक्यो।’ 

ऊ निर्धक्क बोलिरहेकी थिई। निडर। आत्मविश्वासी। उस्तै मुस्कान। 

‘अनि सरले के गर्नुहुन्छ नि?’ मैले उसको श्रीमान्को बारेमा जान्न चाहें। 

‘खै अहिले के गर्दैछ। चार वर्ष पहिले डिभोर्स गरेदेखिन् भेट भएको छैन।’

म आश्चर्यमा परें। कति सजिलै उसले आफूले पारपाचूके गरेको कुरा बताई। 

‘जीवन हो। सधैं अघि बढिरहन्छ।’ उसको विवाह र पारपाचूके थाहा पाएर मैले यो बाहेक अन्य कुरा भन्न सकिनँ। 

‘हैन... मान्छे बेइमान परेछ कि। अति भएर नै छोड्नु प¥यो। हैन भने त स्वास्नीमान्छेलाई एक्लै बाँच्न कहाँ पो सजिलो छ हौ।’ उसले धाराप्रवाह बताई। 

‘कराते त तपाइँ खूब खेल्नुहुन्थ्यो नि त्यतिबेला।’ म विगततिर फर्किएँ, माधुरीलाई सम्झिन। 

‘स्कुल पढ्दा सिकेको थिएँ अलि–अलि। त्यो बेला आर्मीमा जाने कस्तो रहर थियो। पछि के–के मिलेन मिलेन।’ उसले भनी।

बसको आवाजमा मिसिएको पुराना गीतको समधुर आवाजमा मलाई निद्रा लागेछ। मौन मौन भएको बेला हामी दुवै निदायौ होला सायद। उसो त हामी उहिल्यैदेखि मौन थियौं।

आँखामा चर्कै उज्यालो परेको अनुभूतिले मलाई ब्युँझायो। माधुरी....होइन श्रद्धा मेकअप मिलाइरहेकी थिई, सानो ऐना हेर्दै। त्यसमा परेको घामको किरण मेरो आँखामा परेको रहेछ। 

‘फेरि पनि ऐना देखाइदिएँ नि।’ उस्तै मुस्कान। फेरि बुझिनँ त्यो ऐना देखाइदिनुको रहस्य। 

म पनि मुस्कुराई दिएँ। मोबाइल बज्यो। साथीको रहेछ। ‘तँलाई भेट्न मन हो।’

‘म त धेरै अगाडि आइसकें। अब भेट हुँदैन। ..........’ फोन डिस्कनेक्ट भयो। श्रद्धाले उसै गरी ऐना हेर्दै मेकअप मिलाउँदै थिई, मेरो मनमा भने माधुरीको याद ताजा हुँदै गएको थियो। त्यो झ्याल, त्यो ऐना र ती गीत–गजल पनि। अनि, त्यो मधुर–मधुर एक साँझ पनि।

महेन्द्र महक

कथाकार महक कथाका अतिरिक्त निबन्ध र कवितामा पनि कलम चलाउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय