हुम्लामा मौसमी फ्लुः पाँच जनाको मृत्यु

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

हुम्ला । हुम्लामा हिमपातपछि बढेको चिसोका कारण मौसमी रुघाखोकी फैलिएको छ। हुम्लाको चंखेली गाउँपालिकामा मौसमी फ्लुका कारण अहिलेसम्म ५ जनाको ज्यान गएको छ। 

मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ४५ वर्षीय मदन शाही, ५० वर्षीय जुनकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षीया प्याउरी शाही रहेका छन्। एक हप्तादेखि फैलिएको मौसमी फ्लुका कारण अहिले गाउँका धेरैजसोमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। 

गाउँमा मौसमी फ्लु फैलिएका कारण यसको रोकथाम तथा उपचारका लागि शनिबार कर्णाली प्रदेश सरकारसँग छलफल समेत गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले दैनिक अनलाइनलाई जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, 'हिमपातपछि बढेको चिसोका कारण यहाँ मौसमी रुघाखोकीको समस्या देखिएको हो। यसले महामारीको रुप भने लिइसकेको छैन्। तर बेलैमा यसको रोकधाम नगरे थप समस्या निम्तिन सक्छ। हिजो मात्रै यस बारेमा कर्णाली प्रदेश सरकारसँग कुरा गरेका छौँ। चाडो भन्दा चाडो उपचारका लागि चिकित्सकको टोली परिचालन गर्ने कुरा भएको छ।'

उहाँका अनुसार चिसोका कारण दीर्घ रोगी तथा वृद्धवृद्धामा यसको समस्या बढी देखिएको छ। मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस हुने लक्षण देखिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय