सभामुखका उम्मेद्वार सापकोटामाथि अझै कुनै मुद्दा छ ?

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

सभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभए लगत्तै अग्नि सापकोटालाई प्रक्राउ गर्नु पर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। यो मुद्दाको पेशी आइतबार अर्थात भोलिका लागि तोकिएको छ ।

उहाँविरुद्ध शुक्रबार दिनेश त्रिपाठीले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया सुरु गर्नु पर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न–नगराउन, निर्वाचन प्रक्रिया तत्काल रोक्न, पक्राउ गरेर अनुसन्धान गर्न, लामो समयसम्म अभियोजन नगरिएकाले प्रहरी अधिकारीहरुलाई पनि कारबाही गरिनु पर्ने तथा अग्नि सापकोटामाथिको अनुसन्धान गर्न टाक्स फोर्स बनाउनु पर्ने माग गरिएको छ। 

सापकोटामाथि कुनै मुद्दा छैन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सभामुखका उम्मेद्वार सापकोटामाथि लागेको आरोपको खण्डन गर्नुभएको छ। उहाँले सापकोटामाथि कुनै पनि मुद्दा नभएको स्पष्ट पार्नुभएको छ। शुक्रबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार गलत भएको बताउनुभएको छ। 

“मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको छ। उहाँले फेरि भन्नुभयो, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन।”

के हो घटना ?

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको अपहरण भएको थियो। 

लामाको शव अपहरणको दुई महिनापछि गाडेको अवस्थामा फेला परेको थियो। घटनामा सापकोटाको नाम पनि मुछिएको थियो। तर सापकोटाले पटक पटक यो घटनामा आफ्नो संलग्नता नभएको पुष्ट्याउँदै आउनुभएको छ। यसै क्रममा तत्कालिन माओवादीका अध्यक्ष समेत रहनुभएका प्रचण्डले पनि उक्त मुद्दामा सापकोटाको संलग्नता नभएको प्रष्ट पार्नुभएको हो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय