विश्वमै एकमात्र कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैयाको निधन

dainikonline
रासस | माघ ११, २०७६ शनिबार | 0

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो। 

उहाँ विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति हुनुहुन्छ । उहाँको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिनुभयो । “विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।”
 
कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी पर्नुभएको थियो । उहाँको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । उहाँको अवस्था सुधार नभएपछि उहाँलाई घरमै राखिएको थियो । त्यही क्रममा आज उहाँको निधन भएको बुहारी आशा पुनमगरले बताउनुभयो । अब दाङको लमहीमा उहाँकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जान्नुभएको छ । 

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियोे । उहाँका दुई छोरीको विवाह भइसकेको छ । घरमा उहाँकी बुहारीले नै हेरचाह गर्दै आउनुभएको थियो । 

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय