टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को अध्यक्षमा ईश्वर शर्मा निर्वाचित हुनुभएको छ । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा सुजन आचार्य तथा सदस्यमा चिरञ्जीवी रेग्मी र अशोक अर्याल निर्वाचित हुनुभएको छ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो । प्रवक्ता तामाङले टुरिष्ट बसले आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवालाई चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले पर्यटकीय क्षेत्रको सुधारका लागि स्थानीय सरकार पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । “पर्यटक बसपार्क निर्माणका लागि महानगरपालिका सकारात्मक छ”, उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकीय बसले गुणस्तरीय यातायात सेवा दिन खेलेको भूमिका सराहनीय भएको बताउनुभयो । पर्यटकीय बसपार्क निर्माणमा बोर्डको सहयोग रहने उहाँको भनाइ थियो । 

राससकर्मी रेग्मीलाई पत्रकारिता पुरस्कार  

सो कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीलाई बट्टुकाजी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशी १५ हजार नगद र सम्मानपत्र रहेको छ।  एशोसिएशनले पर्यटकीय बस र पर्यटक बसपार्क निर्माणको क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै रेग्मीलाई बट्टुकाजी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय