निबन्ध | औल्याल

dainikonline
वीरेन्द्र शाही | माघ ११, २०७६ शनिबार | 0

यसपालि औल्यालले अलिकति घ्यू लिएर आयो । गत साल जुफालमा उक्लेकै साँझ केही भालेहरू हराएको थियो उसले । 

कहिले सुन्तला, कहिले चामल, कहिले अदुवा, कहिले चाउचाउ, कहिले बिस्कुट, कहिले भेडा बोकेर डोल्पा छिर्ने औल्याल सधैंझैं यो पटक पनि अलिकति विवशता, छोराको चाहना छोरीको रहर, श्रीमतीको आवश्यकता, साहुको व्याज बोकेर आयो ।  

औंला देखिने जुत्ता, मयलको काती जमेको भोटो, किनारा फाट्दै गएको टोपी, जिङरिङ्ग्र परेको कपाल, धजा परेको धरो, कक्रक्क परेका ओठ, निन्याउरो अनुहार, रोपाइपछि ठूलै खडेरी भोगेझैं चिरा परेका पैताला, थाप्लोमा जेउरो । 

बस ! औल्यालको चिनारी ।

‘घ्यू राख्नुहुन्छ हजुर ।’ 

प्रत्येक दैलोमा विनम्रको सूचना । 

‘कसरी हो घ्यू औल्याल ?’

घरभित्रबाट मालिकको भावमा प्रश्न । 

‘दुई सय रुपैयाँ माना ।’ नम्र भावमा उत्तर । 

मोलमोलाई घ्यूमा । 

‘औल्याल ठग्दो हामी ति ।’ डोल्पाली लवज ।

‘चाख्नुहोस् हजुर पेवर घ्यू हो ।’ औल्यालको अनुरोध ।

उत्पादक मालिक नहुने देश । ऊ घ्यू चखाउँदै हिड्छ । 

घ्यू बेची सिध्याएर औल्याल कामको जोहो गर्छ ।

जुफालको एक कुना । जीर्ण घर । साथीसँगै छ उसको डेरा । 

एकाबिहानै एयरपोर्ट पुग्छ । भारी खोज्न । 

‘प्लेन उठ्यो रे ।’ हल्ली–खल्ली । 

अलिकति हाँस्यो । काम पाउने आसमा । 

नेपालगञ्जबाट कुन कार्यालयको हाकिम आएछन् । उसले थोरै भारी पायो दुनैसम्मको । 

जुफाल–दुनै । दुनै–जुफाल । 

एवम् रीत ।

भातको गास धान्न नि कति गाह्रो । महङ्गी नि कस्तो यो डोल्पामा ? औलजस्तो कहाँ हो र ?  

उसले घर सम्झ्यो । 

श्रीमतीले गाँठैगाँठा पारेर लगाएको धोती सम्झ्यो । छोराको कापी कलमको भाग । 

छोरी स्कुल जाने उमेर भएको सम्झ्यो । 

ऊ आधा पेट खाएर काम गर्छ । केही आशा केही सपना पूरा गर्न । 

एकाबिहानै ऊ निसास भो । प्लेन क्यान्सिलको नाममा । 

ऊ जेउरो समाएर फक्र्यो डेरा । 

अर्को दिन उसले विदेशी पर्यटकको भारी पायो । 

ऊ भारी बोकेर फोक्सुन्डो, से गुम्बा पुग्यो । उसले पर्यटकको भारी बोक्यो तर तेञ्जिङ बन्न सकेन । 

पोटरको नाममा पाएको टिप्स उसले थाप्न पाएन । थाप्यो उसको मालीले । 

औल्यालको टिप्पणी– ‘विदेशी पर्यटक उसको दुःखलाई पैसासँंग साट्छन् र लजमा आनन्द मनाउँछन्।’ 

उसको दुःखलाई पर्यटकले हे¥यो तर हर्न सकेन। 

पर्यटकले उसका धेरै फोटो खिच्यो । ती फोटो कहाँ बिक्री गरेर ऊ पैसा कमाउँछ। 

बिचरा औल्याललाई के थाहा ?  

ऊ फोटो खिचिदिएकोमा खुसी थियो । ऊ साथीहरूलाई भन्थ्यो, गोरेले मेरो फोटो खिच्यो ! 

भोटबाट फर्केको भोलिपल्ट उसले बगैँचामा काम पायो । 

स्याउ रोप्ने बारी बनायो । खाल्डो खन्यो । स्याउ रोप्यो । स्याउमा मल हाल्यो । स्याउ गोड्यो । स्याउ कटिङ ग¥यो । चुना लगायो । पसिनाले सिंचेर निर्माण ग¥यो सुन्दर बगैंचा। 

उचनिचको एउटा दृश्य । 

मालिक नामको मान्छे महात्म्य कहन्छ औल्यालको नाममा । 

औल्याल जाली हुन्छन् । बदमास हुन्छन् । ठग हुन्छन् । औल्याल भनेको औल्याल हो । 

ऊ बोल्न चाह्यो तर बोलेन । प्रतिवादमा उसको परिश्रमको मूल्यस्फिति हुन सक्छ। 

उसले घर सम्झ्यो । उसका लागि यो ज्यान महत्वपूर्ण लागेन । ऊ महत्वपूर्ण थियो यो ज्यानसँग जोडिएका ज्यानका लागि । 

उसले सम्झ्यो । एउटा पाखुरामा श्रीमती, अर्को पाखुरामा छोराछोरी झुण्डिएका थिए । 

‘मल बोक्नु छ है औल्याल भाइ ।’ एउटा भन्थ्यो । 

दाउरा काटिदिन अर्को भन्थ्यो । 

ट्वाइलेट सफा गर्न भन्थ्यो कोही ।

ढुङ्गा फोर्न, घर बनाउन, बारी खन्न... काम गराउनेको ताँती । 

ऊ थकित फर्किन्थ्यो डेरामा । 

ऊ थकानको विशाल सङ्ग्रहालय हो । 

थकान मेट्न ओर्लेको प्रत्येक रातमा दुःखको गणित गर्छ ऊ । 

निन्द्रा भाँचिन्छ मध्यरातमा जाडोले । 

ऊ सम्झन्छ भोकै हुर्केको । भारी बोक्दै हुर्केको । किताब कलम बोक्नुपर्ने बेलामा आफूले सुन्तला, कुखुरा, घिउ बोकेको सम्झन्छ । 

सम्झन्छ आफ्ना छोराछोरीलाई । 

प्रण गर्छ । भारी बोकेरै पनि छोराछोरी पढाउँछु । 

हेर्छ बाहिर रात शान्त छ । उसको मन अशान्त छ । रात चिसो छ । मन तातेको छ । रात एकान्त छ । मनमा छ कोलाहल । 

उसले पाए जति काम ग¥यो । पसिना बगायो । रगत बगायो ।

श्रमको मूल्यस्फिति । 

मानवता, भातृत्व र देश कहिले भोग्ने औल्यालहरूले । 

कतिले श्रम लुटे । कतिले पैसा ठगे । कतिले अपमान गरे । कतिले गाली । उसको यो ठाउँमा कुनै संविधान, कानुन, अदालत र न्यायिक समाज छैन । जसरी लुटे नि भो । जसरी चुसे नि भो । जसरी ठगे नि भो । 

उसको रक्षार्थ खटिएको उसको कूल देवता मात्र हो । ऊ एकाबिहानै कूल देवता पुकार्छ रक्षार्थ । 

एकाबिहानै सेठनीबाट मजदुरीभन्दा बढ्ता गाली र घृणा प्राप्त गर्छ । भयानक पीडा र अपमान एकत्रित गरेर औल्याल बोल्छ–

‘अर्काको देशमा के गर्न सकिन्छ र?’ 

औल्यालले देशभित्र देश महसुस नगरेको यो क्षण । ठूलो मौनता ओर्लन्छ म भित्र । 

एकल संवाद । जिब्रो सुकेझैं महसुस हुन्छ । म बोल्न चाहें तर बोलिनँ । 

मैले झ्यालबाट देखेको दृश्य कति गम्भीर । कति हृदयस्पर्शी । देशभित्र देश भोग्न नसक्नुको पीडा । 

एक दिन औल्यालले सोध्यो मसँग, ‘हामी पनि यही राज्यका नागरिक हौं त?’ 

कति कठिन प्रश्न । 

उत्तरमा खोजें, औल्यालको भागमा देश खै ? 

कहिले यी औल्याल डोट्यालीको नाममा कालापहाड पस्छन् । कहिले नेपालीको नाममा अरब पस्छन् । कहिले हिमालतिर। 

कति छन् देशमा यस्ता औल्यालहरू, रोटीको नाममा सुगौली सन्धिझैं असमानता बाँचिरहेका । 

औल्यालः रोल्पा, रुकुम, जाजरकोट, सल्यानबाट डोल्पामा काम गर्न गएका मान्छेलाई डोल्पालीले हेपेर गर्ने सम्बोधन
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय