जगप्रसाद शर्मा ‘अपार’ : सधैं ओझेलमा, बल्ल माननीयज्यू !

dainikonline
नरेन्द्र केसी | माघ १०, २०७६ शुक्रबार | 0

जिन्दगीको लामो कालखण्डसम्म उहाँ ओझेलमै रहनु भयो । २०२८ सालमा जन्मिएर २०४६ सालको आसपासबाटै राजनीतिमा हेलिएका जगप्रसाद शर्मा ‘अपार’ले झण्डै ३ दशक लामो राजनीतिक संघर्षको यात्रा पार गरिसक्नु भएको छ । यद्यपि, उहाँ सधैंभरि ओझेलमै रहनु भयो । ‘एक दिन अवश्य आउँछ’ भनेझैं उहाँको जीवनमा पनि ‘दिन’ आएरै छाड्यो । प्रदेश नं. ५ को अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उहाँ राष्ट्रियसभाको सदस्यमा विजयी हुनुभएको छ । प्रदेशसभा निर्वाचनमा पराजय भोग्नुभएका शर्माले ५ हजार ४ सय २४ मतभार ल्याएर विजयी हुनुभएको हो ।

शव्दचित्रमा जगप्रसाद शर्मा ‘अपार’
नेपालमा दश बर्षसम्म जनयुद्ध सञ्चालन गरेको पार्टी तत्कालीन नेकपा माओवादी खुला भएर शान्ति प्रक्रियामा आएको २०६३ सालमा हो, तर सो पार्टीका केही नेताहरुको पहिचान लामो समयसम्म पनि भूमिगत रहेको थियो । त्यहीमध्येका एक नेताको नाम हो– जगप्रसाद शर्मा ‘अपार’ । 

शान्ति प्रक्रियासँगै धेरै नेताहरु राज्यको शासकीय पदमा पुगे पनि त्यस्तो पदमा चासो नदिएकाले पनि हुनसक्छ, उहाँको नाम धेरै समयसम्म गुमनाम रह्यो । पूर्वी र पश्चिम नेपालदेखि भारतमा समेत बसेर राजनीतिमा खारिएका ‘अपार’ले सार्वजनिक पहिचानमा भने सँधै पर्दा पछाडि रहेर नै काम गर्नुभयो । गत प्रदेशसभा चुनावमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (क)बाट चुनाव लडेपछि जनस्तरमा सार्वजनिक पहिचान बनाउन थाल्नुभएका उहाँले चुनाव भने जित्न सक्नुभएन । केही समयअघि भएको दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख)को उपनिर्वाचनमा चुनाव कमाण्डर बनेर आफ्नो पार्टीका उम्मेदवारलाई भारी मतान्तरले चुनाव जिताएपछि उहाँको राजनीतिक प्रभावको थप चर्चा हुन थाल्यो । अहिले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट उम्मेदवारी दिएपछि बल्ल अपारको शासकीय पदतर्फको यात्रा सोझिएको छ ।

पहिलोपटक भेट्नेहरु उहाँको राजनीतिक परिपक्वताबाट प्रभावित त हुन्छन् नै तर अपार कुशल संगठक र त्योभन्दा पहिले सैन्य कमाण्डर हो भन्ने कमैले जान्दछन् । अपारको पहिलो राजनीतिक यात्रा नै सैन्य कमाण्डरबाट शुरु भएको थियो । त्यसो त उहाँले सैन्य कारवाहीकै क्रममा दुबै आँखा गुमाउनुभयो पनि भयो ।
 
जनयुद्ध शुरु हुनुअघि नै छापामार कमाण्डर
तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि घोषितरुपमा जनयुद्ध शुरु गरेको थियो तर रुकुम रोल्पाका गाउँहरुमा भने उसले त्यसअघि नै छापामार कारवाही शुरु गरिसकेको थियो– ग्रामीण वर्ग संघर्षको नाममा । २०२८ माघ २५ गते रुकुमको तत्कालीन नुवाकोट गाविस ४ (हाल रुकुमपश्चिमको चौरजहारी नगरपालिका १४)मा जन्मनुभएका अपारले २०४३ सालदेखि नै मावि खोलागाउँबाट विद्यार्थी संगठनको राजनीति शुरु गर्नुभयो । विद्यार्थीको इकाइ समिति हुँदै उहाँ २०४५ सालमा विद्यार्थीको जिल्ला सदस्य र २०४६–०४७ सालमा जिल्ला कोषाध्यक्ष हुनुभयो । कक्षा ९ मा पुग्दा उहाँ विद्यार्थीको जिल्ला कोषाध्यक्ष भइसक्नुभएको थियो । मावि खोलागाउँमा ८ सम्म तथा त्रिभुवन जनता मावि खलंगा मुसीकोटमा कक्षा ९ र १० पढेपछि उहाँ उच्च शिक्षाका लागि महेन्द्र बहुमुुखी क्याम्पस दाङमा झर्नुभयो । २०४८–४९ दाङमा विद्यार्थी संगठनमा जोडिए पनि उहाँको मूल संगठन रुकुममै थियो किनकि त्यतिबेला उहाँ पार्टीकै एरिया सदस्य हुनुहुन्थ्यो ।

२०४६ सालमा तत्कालीन नेकपा मशालको पार्टी सदस्यता प्राप्त गर्नुभएका अपार २०४७ सालमा एरिया सदस्य बन्नुभएको थियो ।  २०४८ को पार्टी एकतापछि नेकपा एकताकेन्द्रको एरिया सदस्य नै रहनुभयो भने उहाँ २०५० सालमा स्वयंसवेक दलको कमाण्डर हुनुभएको थियो । माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध शुरु गरे पनि त्यसअघि नै गाउँमा छापामार कारवाही अघि बढाइसकेको थियो । २०४६ सालमा बहुदल आए पनि गाउँमा सामन्ती गतिबिधि बढेकोे, गरीब जनतामाथिको अत्याचार नयाँ ढंगले आएको र पुराना पञ्चहरु रुप बदलेर कम्युनिष्टमाथि दमन गर्न नयाँ ढंगबाट आएको भन्दै तत्कालीन नेकपा एकताकेन्द्रले  ‘शोषक सामन्तमाथि कारवाही गर्न स्वयंसवेदक दल’ गठन गरेको थियो । त्यसको रुकुम जिल्ला कमाण्डर अपार हुनुभएको थियो । स्वयंसेवक दलले जिल्लाब्यापीरुपमा नै ‘सामन्तमाथिको कारवाही’ घनिभूत बनाएको थियो, जसको प्रत्यक्ष नेतृत्व अपारले नै गर्नुभएको थियो । जनयुद्ध शुरु हुनुभन्दा एक बर्षअघि २०५१ सालमै भूमिगत हुनुभएको उहाँ २०५२ सालमा पार्टी जिल्ला सदस्य र पूर्वी कमाण्ड इञ्चार्ज बन्नुभयो । रुकुमलाई पूर्वी, मध्ये र पश्चिम गरी तीन कमाण्डमा बिभाजन गरिएको थियो । हालको रुकुम पूर्वको सम्पूर्ण भूभाग पूर्वी कमाण्डमा थियो, जसको नेतृत्व जनयुद्धको शुरुवात अघिदेखि नै अपारले लिनुभएको थियो ।
 
पहिलो सफल एम्बुस, जसले अपारलाई कुशल कमाण्डर बनायो
२०५२ साल फागुन १ गते जनयुद्ध थाल्दा माओवादीले रुकुमको आठबीसकोट राडी चौकी, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीमाडी र गोरखाको कृषि विकास बैंक गरी देशका चार ठाउँमा एकैरात आक्रमण गरेको थियो । जसमध्ये रुकुमको राडी चौकी आक्रमणमा अपारले लडाकू दलको सदस्यको रुपमा आक्रमणमा भाग लिनुभएको थियो, जसको कमाण्डर गणेशमान पुन हुनुहुन्थ्यो । त्यसको झण्डै एक बर्षपछि अपारकै नेतृत्वमा रुकुममा एउटा सफल हमला गरियो, जसलाई जनयुद्धकै पहिलो सफल एम्बुस मानिन्छ । २०५४ बैशाख २४ गते रुकुम तकसेराको घुम्लीवाङमा प्रहरी आउँदैछन् भनेर एम्बुस थापिएको थियो, जसको नेतृत्व अपारले नै गर्नुभएको थियो । तीन प्रहरी हताहत भएको यो हमला नै, माओवादी जनयुद्धको इतिहासमा पहिलो सफल एम्बुस मानिन्छ । त्यसपछि क्रमशः देशका अन्य भागमा एम्बुस आक्रमणका घटना विस्तार हुन थाले ।

प्रचण्डको नजरमा परेको ‘सक अभियान’, जसले जनयुद्धलाई नयाँ उचाइँमा उठायो
त्यस्तै अर्को एउटा कार्यक्रमले पनि अपारलाई माओवादी आन्दोलनमा स्थापित मात्र गरेन, सर्वोच्च कमाण्डर प्रचण्डको नजरसम्म पु¥यायो, त्यो थियो ‘सक अभियान’ । अपारकै प्रस्ताव र निर्णयमा रुकुमको पूर्वी कमाण्डमा ‘सशस्त्र कब्जा’ अभियान शुरु गरियो । सशस्त्र जनयुद्ध शुरु भएको एक बर्ष बिते पनि खासै सशस्त्र गतिबिधि हुन सकिरहेका थिएनन् । त्यसमा पनि अझ माओवादी छामापार हतियार बोकेकै अवस्थामा कम मात्र देखिन्थे । राति गतिबिधि गर्ने र दिउँसो घरका बुइङ्गल वा जंगलमा आश्रय लिएर बस्ने शैलीलाई तोड्नुपर्छ भनेर अपारले आफ्नो कमाण्डभित्र हतियारसहित दिउँसै जनताको बीचमा देखिने, सरकारी गतिबिधिलाई चुनौति दिने र प्रहरीमाथि छिटपुट हमलासमेत गर्ने योजना थाल्नुभयो ।
 
प्रहरीले रुकुमकै मेलगैरीमा ६ खत्रीबन्धुको हत्या गर्यो भने काँक्रीमा घरमै बसिरहेका महिलाहरुको हत्या गर्यो । एकपछि अर्को सरकारी आक्रमणले मनोवैज्ञानिकरुपमा नेता कार्यकर्ताको पंक्तिमा केही त्रासभाव सिर्जना गरिरहेको थियो । यही बेला अपारले अघि सारेको ‘सक अभियान’ फौजी हमलाको आरम्भ र फौजी मनोविज्ञान विकाको आधार बन्न पुग्यो । यही अभियानकै शुरुवात थियो– घुम्लीवाङको सफल एम्बुस । यसकै निरन्तरता स्वरुप रुकुमै कोल फल्नैमा गरिएको अर्को एम्बुस पनि सफल भएपछि यसले अझ बढी चर्चा पायो । रुकुमले शुरु गरेको यो अभियान डेढ बर्ष जति चलेपछि माओवादी वृत्तमा देशभरि नै चर्चा हुन थाल्यो र २०५५ सालमा बसेको केन्द्रीय समिति बैठकले ‘रुकुमबाट शुरु भएको सक अभियानलाई विस्तार गर्दै सवि (सशस्त्र विस्तार) सञ्चालन गर्ने निर्णय ग¥यो, जो अहिले पनि केन्द्रीय समितिका निर्णयहरुको दस्तावेजमा पढ्न पाइन्छ । यही अभियान देशब्यापी भएपछि २०५५ सालदेखि माओवादी आन्दोलनले थप गति लियो ।

एउटा कारवाही, जसले अपारलाई अन्धकारमा धकेल्यो    
२०५४ सालमा माओवादीले रुकुम र सल्यानको संयुक्त जिल्ला कमिटी बनाएको थियो । दुबै जिल्लाका मुख्य चार नेताको रुपमा स्थापित थिए– जिल्ला सेक्रेटरी गणेशमान पुन, पूर्ण घर्ती, टेकबहादुर बस्नेत र अपार । गणेशमानको समग्र नेतृत्व, पूर्णको सांगठनिक नेतृत्व, अपारको फौजी नेतृत्व र टेकबहादुरको सल्यान हेर्ने जिम्मेवारी थियो । रुकुमबाट घनिभूत आन्दोलन अघि बढाउँदै छापामार तयार गर्दै अपारको टीम सल्यान प्रवेश गरेको थियो । ‘सक अभियान’ विस्तार गर्दै ‘आधार इलाकाबाट श्वेत इकालामा प्रभाव विस्तार’ गर्न अपारको टीम सल्यान पुगेको थियो । यसको फौजी उद्देश्य थियो– प्रहरीलाई चौकीबाहिर बोलाएर हमला गर्ने । त्यही क्रममा चौकीभन्दा केही टाढा बिष्फोट गर्ने, प्रहरी बोलाउने र हमला गर्ने योजना बनेको थियो । हतियारको आँखा हुँदैन भन्ने उक्ति लागु भयो र सल्यानको बामे राइरा चौकीनजिक बिष्फोट गराउँदै गर्दा बम आफैतिर आएर अपारको आँखा नै उडाइदियो । कमाण्डर नै घाइते भएपछि थप आक्रमणको योजना त असफल भयो नै, यो घटनापछि अपारको जीवन पनि मोडियो । ग्रिनेडको मुख्य छर्रा नै आँखामा परेपछि उहाँ दुबै आँखा देख्न नसक्ने अवस्थामा पुग्नुभयो । उपचारका लागि अपारलाई काठमाडौं लगियो, त्यहाँ उपचार हुन नसकेपछि भारत रिफर गरियो र भारत जानुभयो । झण्डै ६ महिनाको उपचारपछि एउटा आँखा सँधैका लागि लागि गुमाउनुभयो, जसमा नक्कली आँखा राखिएको छ । अर्को आँखामा नानी प्रत्यारोपण गरेपछि २५ देखि ३० प्रतिशतसम्म काम गर्छ, अहिले यसकै सहारामा उहाँले संसार देखिरहनुभएको र बाँकी जीवनमा अघि बढाइरहनुभएको छ ।

भारतमा देखाएको त्यो संगठनकलाः जसबाट प्रचण्डले थप पत्याए
आँखा गुमाएपछि अपारको गति केही रोकिए पनि राजनीतिक जीवन नै सकिएन । उहाँले भारतमै प्रवास शाखा सदस्यको रुपमा काम गर्न थाल्नुभयो । २०५६ देखि ०५९ सम्म उहाँ भारत शाखामै रहनुभयो । २०५७ सालमा भारतमै भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । अध्यक्ष प्रचण्डसँग नजिक रहेर काम गरे पनि प्रचण्डलाई अपार सैन्य क्षेत्रमा काम गर्न सक्ने व्यक्ति हो भन्ने त थियो तर संगठनमा गर्न सक्छ कि सक्दैन भन्ने आशंका नै थियो । त्यतिबेला नै देशभित्र जनमुक्ति सेना र कार्यकर्ताको अभाव हुन थालेको पार्टीलाई महसुस भइरहेको थियो । भारतमा रहेका नेपाली युवालाई संगठित गरेर जनमुिक्त सेनामा पठाउन भारतमा पनि वाइसिएल बनाइएको थियो, त्यसको अध्यक्ष अपार नै हुनुहुन्थ्यो । त्यहीबेला उहाँले एक हजार कार्यकर्तालाई पूर्णकालीन बनाएर देशभित्र पठाइदिनुभयो, जसमध्ये अधिकांश जनमुक्ति सेनामा सामेल भए । यो घटनापछि प्रचण्डको आशंका हट्यो र अपारले संगठन पनि हाँक्नसक्ने विश्वास पलायो । जसका कारण २०५९ सालमा पार्टीले  कोशी अञ्चल इञ्चार्ज बनाएर नेपाल पठायो । केही समयपछि मेची इञ्चार्ज बनाइयो भने मेची–कोशी ब्यूरोमा रहेर उहाँले काम गर्नुभयो । 
पार्टी संरचना राज्य तहमा गएपछि अपारलाई २०६४ देखि ०६६ सम्म कोचिला राज्य समिति सचिवको जिम्मेवारी दिइयो । गृहजिल्ला र आन्दोलनमा प्रारम्भिक योगदान पश्चिम नेपालमै भए पनि उहाँलाई २०६७ सालमा मात्रै पार्टीले पश्चिम नेपाल पठायो– थारुवान राज्यको सहइञ्चार्जको रुपमा । २०६९ सालमा पार्टी विभाजन भएपछि एकीकृत नेकपा माओवादीको थारुवान इञ्चार्जको रुपमा पनि काम गर्नुभयो भने पार्टी पोलिटब्यूरो सदस्य हुँदै केन्द्रीय सचिवालय सदस्यमा पनि पुग्नुभयो । 

पार्टी एकताको क्रममा नेकपा केन्द्रीय सदस्य रहनुभएका अपार नेकपा प्रादेशिक संरचनामा गएपछि प्रदेश ५ को सचिवको रुपमा क्रियाशील रहनुभएको छ । गत निर्वाचनमा प्रदेशसभा निर्वाचनमा असफल भए पनि २०७६ सालको मध्यतिर आएर उहाँको यात्रा राष्ट्रियसभामा पुगेको छ । जगप्रसाद शर्मा ‘अपार’लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

नरेन्द्र केसी

(केसी करीव दुई दशकदेखि पत्रकारिता र लेखनमा क्रियाशील हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय