कविता | दुःस्वप्न

dainikonline
केएल पीडित | माघ ११, २०७६ शनिबार | 0

अचेल,
आतंककारीको हुलियामा 
केही थान ध्वाँसे कविहरु 
मेरो सिसमहल भएर 
ओहोरदोहोर गरिरहन्छन् 
र, हरेक पटक 
छरिएर सहिदचोकको छेउछाऊ 
‘रक्की’मा खटिएका गुरिल्लाझैं
जासुसी नजरले मेरो सिसमहल घेर्छन् 

०००

ऐश्वर्य र वैभव छचल्किएको यो सिसमहल 
एक सूचक हो शान्ति र समृद्धिको 
एक स्तम्भ हो लोकतन्त्र र गणतन्त्रको 
हरेक बिहान
यसकै छतबाट ओर्लन्छ एउटा जिउँदो सूर्य
उघ्रन्छन् अनि एक–एक गरी
हरेक सिंहदरबारका फलामे द्वारहरु 
शुरु हुन्छ लिलामी सहिदका बासी सपनाहरुको 
र, यो रोगी देश फेरि अलिकति तङ्ग्रिन्छ । 

०००

झारेर आकाशका सबै जून र ताराहरु
सारेर बागका सारा फूल र लहराहरु
र, चोरेर संगीत चरा, छहरा र नदीहरुको
एक अद्भूत स्वर्ग रचेको छु यो सिसमहलमा 
कुँदेको छु सहिदका रगतले 
हरेक भित्ता र टुँडालहरुमा 
कहिल्यै नमेटिने 
समृद्धिका तिलस्मी बुट्टाहरु ।

०००

यो उत्सवको रंगीन समयमा 
यो चियर्सको मादक समयमा 
यी भुस्याहा कविहरु 
किन भट्किरहेछन् यसरी !?
रेबिज लागेको हो यी कविहरुलाई !?
या, यो शहरमा
फेरि शुरु भएको हो कविताको याम !?
उफ् !? 
अचेल फेरि 
एक दुःस्वप्नले ठुंग्न थालेको छ मलाई ।

२०७६ कार्तिक ४, दाङ
 

केएल पीडित

(पीडित नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, साहित्यकार तथा चलचित्र लेखक र निर्देशक हुन्)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय