बेदुराम भुसालः १३ वर्ष जेल जीवन, डेढ दशकपछि पुनः राष्ट्रिय सभामा

dainikonline
डिल्ली मल्ल | माघ ९, २०७६ बिहिबार | 0

२०५८ सालदेखि जनआन्दोलनभर राष्ट्रिय सभा सदस्यको जिम्मेवारी सम्हाल्नुभएका नेकपाका अध्ययनशील र बौद्धिक नेता बेदुराम भुसाल डेढ दशकपछि पुनः राष्ट्रिय सभामा प्रवेश गर्नुभएको छ।

दुई वर्षअघि २०७४ सालमै राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. ३ बाट उम्मेदवारी दिनुभएका भुसालले खुलातर्फ तत्कालीन माओवादीसँगको चुनावी तालमेलका कारण फिर्ता लिनुभएको थियो ।

२०७४ सालमा गरेको त्यागको प्रतिफल दुई वर्षपछि भुसाल राष्ट्रिय सभा सदस्यका रुपमा संघीय संसदमा प्रवेश गर्नुभएको छ ।

भर्खरैमात्र ‘जबजको ऐतिहासिक विकासक्रम’ शीर्षकमा विद्यावारिधि (पिएचडी) गर्नुभएका भुसालको राजनीतिक जीवन निकै लामो भए पनि राजकीय जिम्मेवारीमा आएको यो दोस्रो पटक हो ।

जन्म, शिक्षा र राजनीतिक यात्रा

वि.सं. २०११ असार १५ गते अर्घाखाँचीको धनचौरमा जन्मिनुभएका भुसालको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो । उहाँको जन्मेको ४ वर्षपछि मात्रै धनचौरमा स्कुल खुलेको थियो । उहाँले त्यहीँ स्कुलबाट कक्षा ५ सम्म अध्ययन गर्नुभएको थियो ।

गाउँमा माथिल्लो कक्षा पढ्नलाई स्कूल नभएपछि उहाँ आफै र अग्रजहरुसँग लागेर विद्यालय खोल्ने अभियानमा लाग्नुभयो । त्यसकै प्रतिफल धनचौरमा वि.सं. २०२८ सालमा जनजागृति मावि खुल्यो ।

सोही विद्यालयमा कक्षा ६ बाट पढाइ शुरु गर्नुभएका उहाँ २०२७ सालदेखि नै राजनीतिक आन्दोलनमा लागिसक्नुभएको थियो । राजनीति र पढाइ सँगसँगै अघि बढाउनुभएका उहाँले अर्घाखाँचीमा चर्चित बर्रे आन्दोलनमा सहभागिता जनाउनुभएको थियो।

राज्यसत्ताविरोधी आन्दोलनमा लागेको भन्दै २०३० सालमा पक्राउ पर्नुभएका भुसालले जेलबाटै एसएलसी, आइए, बीएसम्म उतीर्ण गर्न भ्याउनुभयो । १३ वर्ष लामो जेल जीवन बिताउनुभएका उहाँ २०४३ सालमा जेलमुक्त हुनुभएको थियो । जेलबाट छुट्दा एमए दोस्रो वर्षको अध्ययन गरिरहनुभएका उहाँले त्यसपछि राजनीति र पढाइलाई सँगसँगै बढाउँदै जानुभएको थियो ।

२०२७ सालदेखि नै राजनीतिमा होमिनुभएका उहाँ २०२९ सालमा पार्टी सेल कमिटीको सदस्य बनिसक्नुभएको थियो ।

२०४३ सालमा काठमाडौं जेलबाट छुटेपछि उहाँ भूमिगत राजनीतिमा होमिदै चितवनलाई कर्मथलो बनाउनुभयो । 

उहाँले त्यो बेला गुल्मी–अर्घाखाँची संयुक्त कमिटी, पाल्पा–रुपन्देही कमिटीलगायतमा रहेर पार्टीको काम गर्नुभएको थियो । 

२०४७ मा तत्कालीन नेकपा मालेको कपिलवस्तु जिल्ला कमिटी सचिवको जिम्मेवारीमा रहेर काम गर्नुभएका उहाँले २०५७ सालमा पार्टी एकीकरण भइसकेपछि नेकपा एमाले केन्द्रीय विभागको सचिवको जिम्मेवारी वहन गर्नुभयो । 

एमालेको नवौं महाधिवेशनबाट पोलिटव्यूरो सदस्य बन्नुभएका उहाँ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य हुनुहुन्छ । 

कांग्रेस नेता सिके प्रसाईंले २०४७ सालमा कम्युनिष्टहरुले ६० वर्ष कटेका बुढाबुढीलाई गोली हानेर मार्छन् भन्ने आरोप लगाएर पुस्तक लेखेपछि त्यसको जवाफमा भुसालल ‘सिके प्रसाईलाई जवाफ’नामक सानो पुस्तक प्रकाशन गर्नुभएको थियो ।

त्यसपछि २०६५ मा दर्शनशास्त्रको परिचय नामक अर्को पुस्तक पनि प्रकाशन गर्नुभएका भुसालले जनताको बहुदलीय जनवादको दार्शनिक मान्यता, माक्र्सवादी दर्शन, नेपालमा प्रचलित चिन्तनहरु लगायतका थुप्रै पुस्तकहरु लेख्नुभएको छ । 


 

डिल्ली मल्ल

मल्ल राजनीति र साहित्यकलाका क्षेत्रमा कलम चलाउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय