बिहानभरि च्याउवाला, दिउँसो जुत्ता सिलाइ

dainikonline
सृजना सेन | माघ ७, २०७६ मंगलबार | 0

प्यूठान । ‘च्याउवाला आयो, च्याउवाला आयो’ यो आवाज प्यूठान खलंगाबासीले हरेक बिहानजसो सुनिरहन्छन् । 

जिविकोपार्जनका लागि घर–घर पुगेर च्याउ बेच्दै हिड्ने एक श्रमिकको कथा हो यो । खलंगाका घर घरमा यसरी बिहान बिहानै च्याउ बोकेर हिड्ने ती व्यक्ति प्यूठान नगरपालिका वडा नं. ४ का रुमबहादुर नेपाली हुन् । 

खासमा जुत्ता सिलाउने व्यवसाय गर्दै आएका रुमबहादुर घरमै उत्पादन गरिएको च्याउ बेच्ने काम पनि गर्छन् । 

घरमै श्रीमतीको सीप र लगनले उत्पादन गरिएको च्याउ उनी घर घर डुलेर बेच्छन् र त्यसबाट आएको आम्दानीले घर खर्च टार्छन् । बिहानभरि च्याउ बोकेर घर घर पुग्ने उनी आफूले बोकेको च्याउ नसकिदासम्म यसरी नै ‘च्याउवाला आयो, च्याउवाला आयो’ भन्दै कराइरहेको भेटिन्छन् । 

‘घरधन्दाको काम सकेर बचेको समयमा श्रीमतीले च्याउ उत्पादन गर्छिन्, रुमबहादुर भन्छन्, ‘त्यहीँ च्याउ बेच्न म बजारसम्म पुग्छु, घर–घरमा पु¥याउँछु ।’

श्रीमती कौशिला नेपालीले च्याउ उत्पादन गर्ने तालिम लिएपछि घरमै च्याउको खेती गर्न थालेको उनले बताए । च्याउ खेतीबाट एक सिजनमा ३० हजारसम्म आम्दानी हुने र काम गर्नलाई खासै गाह्रो नभएको उनको अनुभव छ । 

औपचारिक शिक्षाका हिसाबले कक्षा १ मात्रै पढेका उनी जीवन व्यवहारमा भने निकै खारिएका छन् । बाबाले शु्रु गरेको जुत्ता सिलाउने कामलाई निरन्तरता दिएका उनी आयआर्जनको दोस्रो माध्यमका रुपमा च्याउ खेतीलाई बनाएका छन् । 

मल्लरानी गाउँपालिका–४ खलंगा बजारमा जुत्ता सिलाउने पसल खोलेका उनी दिनभरि भने त्यहीँ पसलमा भेटिन्छन् ।

‘जुत्ता सिलाउने पेसा बाको हो, सानैदेखि म पनि बासँगै यहीँ जुत्ता सिलाउने पेसा सिकें, उनी भन्छन्, ‘अब मेरो जीवन पनि यसमै जान लाग्यो ।’

यहीँ पेसाबाट पक्की घर र मोटरसाइकल जोडेका रुमबहादुरले ३ भाई छोरा र एउटी छोरीको पढाइ पनि जुटाइरहेको बताए । ‘जेठो छोरा १२ कक्षासम्म पढेर प्रहरीमा जागिर खायो, तीन भाइबहिनी पढ्दैछन्, उनले भने, ‘आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउन सकेजति गर्छु ।’ 

जुनसुकै काम गर्दा पनि समस्या हुने भए पनि जुत्ता सिलाउँदा भने अलि फरक समस्या भोग्नुपरेको उनको अनुभव छ । 

‘काम गर्दा कहिले हातमा घाउचोट लाग्छ, उनी भन्छन्, ‘बुढापाका मान्छेहरु कहिलेकाँही तल्लो जातको भनी नाक खुम्च्याउँछन् तर जे जस्तो भए पनि काम त गर्नैप¥यो ।’ जुत्ता चप्पल सिलाएको १० रुपैयाँदेखि १ सय ३० रुपैयाँसम्म लिने गरेको भन्दै रुमबहादुर दिनमा १२ सयसम्म कमाउने गरेको बताउँछन् ।

१८ बर्षअघि झोला सिलाउने तालिम गरेका रुमबहादुरले त्यसको बजार नदेखेपछि जुत्ता सिलाउन लागेको बताउँछन् । ‘शुरुमा झोला सिलाउने तालिम लिएको थिएँ, उनले भने, ‘त्यसले खासै बजार लिने नदेखेपछि जुत्ता सिलाउनतिर लागें ।’

शुरुमा काम शुरु गर्दा निकै संघर्ष गर्नुपरेको उनको भोगाइ छ । ‘शुरु–शुरुमा निकै दुःख गरियो, घरको गरगहनाजति धितो राखें, गरिबी निवारणबाट ऋण लिएँ, उनले भने, ‘त्यतिबेलाको दुःख सम्झिदा आजभोलि सन्तोष लाग्छ ।’ 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय