महिला हिंसाको कुरा धेरै भयो, एकछिन पुरूष हिंसाको कुरा गरौं

dainikonline
देवी काफ्ले | माघ ६, २०७६ सोमबार | 0

सबैभन्दा बढी पुरूष हिंसामा ती परेका छन्, जो घरखर्च, सुरक्षित भविष्य, आर्थिक सम्पन्नताको सपना बोकेर खाडी मुलुक भासिएका छन् ।

विदेशिएका लोग्ने ठगेर अर्कै लोग्नेसँग रंगरेलिया मनाउँदै घर, छोराछोरी, लोग्नेको सम्पत्ति लथालिङ्ग पारेर हिँडेका महिलाहरुले अधिकांश पुरूषहरुलाई बिचल्ली पारेका छन् । समाजमा देखिएका ताजा घटना हुन् यस्ता । अष्ट्रेलिया जाने लोभले नक्कली विवाह गर्ने, सारा खर्च बेहोर्न लगाउने, अष्ट्रेलिया पुगेपछि डिभोर्स माग्ने, पढाई खर्च र पालनपोषण खर्च उक्त केटाबाटै भराउने, सकेसम्म नेपालमा रहेको पैतृक सम्पत्तिको समेत अंश दाबी गर्ने जस्ता साहसिक काम गर्न आजका युवतीहरू सहज ठान्न थालेका छन् । यसैमा उनीहरू गर्व गर्छन् ।

विवाह गर्दा दश लाख खर्चेर विवाहपछि फेरि लाख, दुई लाख खर्चेर साउदी, कतार हानिन्छन् । बिवाहको केही महिनापछि श्रीमती घरमा बाआमासँग बस्न कठिन भएको, पढाइलाई अगाडि बढाउनुपर्ने, बच्चा पढाउनुपर्ने आदि समस्या देखाउँदै शहरबजारतिर बसाइँ सर्ने प्रपन्च मिलाउँछन् । उनलाई परिवारको जुठो भाँडो, घरको सरसफाई, खेतबारीको काम गर्न पटक्कै मन लाग्दैन । लागोस् पनि कसरी ? सँगै पढेकी साथी शहरमा बस्छे । मनखुशी डुल्छे, घुम्छे । आखिर मनै त हो । ऊभन्दा म के कम भन्ने भावनाले ग्रस्त भएपछि... ।

घरमा बृद्ध बाआमा, बिहेको ऋणले अत्तालिएको छोरो, नौली स्वास्नीबाट टाढा रहनु बाध्यता हुन्छ । तर, के गरोस् उसले ? फोनमै भएका मायाप्रेमका कुराले लट्ठिएपछि श्रीमतीले भनेको कसरी नमानोस् । घरतिर कमाई पठाउनुभन्दा भविष्य बनाउनु पर्छ भन्दै श्रीमतीकै झोलीमा सरसापट गरेर पैसा पठाउँछ । यता श्रीमती के कम ? जवानीको जोश, होटलमा खाना, रेष्टुरेण्टको खाजा, साथीसँग डुलघुम र मस्ती हुँदाहुँदै नयाँ साथीको बाहुपाशमा लट्ठिएर ‘म बाँचेको हेर्ने भए खुरूक्क पैसा पठाऊ’ भन्ने आदेश गर्छे । आदेश पाउनासाथ इमान्दारीसाथ आइएमई गरिहाल्छ । सोंचेको हुन्छ– अब घर जाँदा शहरको छेउँछाउँमा भए पछि एउटा घडेरी जोडिन् होला प्रियाले । सानो परिवारलाई ६ महिना पुग्ने खेतबारी पो किनिन् कि ? यस्तै यस्तै सोंचेर मख्खिन्छ ऊ ।

लोग्ने विदेश । राम्रो लाउने, मिठो खाने रहर कसलाई हुँदैन र ? गहना जोड्नु पर्यो, पैसा पठाऊ । घरभाडा, लत्ताकपडा, बच्चाको शुल्क, घरखर्च भन्दाभन्दै उता कमाएको पैसाले कसरी थेग्नु ? तैपनि येनकेन गरेर पठाएको पैसो कुटुरी पारेर नयाँ साथीसँग भाग्ने गरेका घटना अति विकराल रूपमा बढेका छन् । लगभग दिनहुँजसो घट्ने यस्ता घटनाले सबैको विश्वासमाथि शंका उत्पन्न गराएको देखिन्छ । यस्ता घटनाले धेरै युवाको घर तहसनहस भएको छ । विदेशमा काम गर्दागर्दै कति युवाले ज्यान गुमाएका छन् । कति अंगभंग भएर घर फर्किन बाध्य छन् । तर कतिपयले कमाएर पठाएको कमाईमा अर्कैले मोजमस्ती गरेर घरवारविहीन बनेका छन् । कतिपय युवा त जीवनभर निको नहुने रोग बोकेर घर फर्केका छन् । उनीहरू आर्थिक, मानसिक र शारीरिकरूपमा अशक्त बन्नुको कारण उनका पत्नीहरू देखिएका छन् । बच्चाहरू घर न घाटका भएका छन् । न कमाएको धन छ, न स्वस्थ ज्यान छ, न घरमा श्रीमती छ । फलतः अत्यन्त पीडादायी जीवन बिताउन बाध्य छन् दाजुभाइहरू ।

आखिर यस्तो प्रवृति कसरी बढ्यो ?
यस्ता घटनाहरू न्यूनिकरण कसरी गर्ने ?

देशमा बेरोजगारीको चरम अवस्था हुनु सबैभन्दा ठूलो कारण देखिन्छ । अधिकांश नेपाली गरीबीको मारमा च्यापिएका छन् । बिहानको खाना जुटाए पनि बेलुका के खाऊँ ? भन्ने अवस्था जस्ताको तस्तै छ । यस्तो अबस्थामा बैदेशिक रोजगारमा जानु, केही कमाई गरेर ल्याएपछि परिवार पाल्न सहज हुन्छ भन्ने आशाले युवाहरु विदेश पलायन भइरहेका छन् । भर्खरको खाऊँ खाउँ र लाऊँ लाऊँको उमेरमा बिहे गरेर श्रीमती छोडेर बिदेशिनु पर्दा यस्ता घटनाबाट धेरै युवाहरू पीडित बनेका छन् ।

कृषिमा निर्भर हुन नसक्नु अथवा राज्यले त्यसतर्फ उचित ध्यान नदिनुले पनि यस्ता घटना दोहोरिएका छन् । देशको सम्पूर्ण भूभागको ६८ प्रतिशत जमिन पहाडी भूभागमा पर्छ । जहाँ खेतीयोग्य जमिनको उपयोग हुन सकेको छैन । बाली लगाउँदा उत्पादनभन्दा खर्च धेरै हुन्छ । समयमा मल, बीउ पाइँदैन । सिंचाईको ब्यबस्था छैन । जब उत्पादन हुँदैन, घरको जोहो टार्न, त्यसमा भविष्य नदेखेपछि युवा बिदेसिन्छन् र यस्ता समस्याका शिकार हुन पुग्छन् ।

आजकल मानिसहरू संयुक्त परिवारमा बस्न मन पराउँदैनन् । यसकारण पनि उल्लिखित घटनामा बृद्धि भइरहेको पाइन्छ । पारिवारिक झमेला बेहोर्न मन गर्दैनन् । आफुखुशी डुल्न, घुम्न नपाइने, कामको जिम्मेवारी हुने हुनाले पनि बाहिर एकल परिवारमा बस्न रूचाउने हुनाले पनि यस्ता घटनाहरूले व्यापकता पाएको छ ।

यसको अर्को प्रमुख कारणको रूपमा त सामाजिक सञ्जाल नै देखिन्छ । जब मान्छे फुर्सदमा हुन्छ, दिमागमा अनेक कुराहरू खेल्छ । त्यसपछि सामाजिक सञ्जालमा कुरा गर्दै जाँदा सम्बन्ध नजिकिन्छ । भेटघाट बाक्लिन्छ र यसबाट भावनात्मक सम्बन्ध बढ्न थाल्छ । 

माथि उल्लिखित यावत कारणले गर्दा आज केही पुरूषहरू पीडित नभएका होइनन् तर यसको पूरा दोषी महिला मात्रै भने अबश्य होइनन् । मान्छे कुनै न कुनै काममा ब्यस्त हुनुपर्छ । ‘खाली दिमाग शैतानका घर’ भन्ने त नेपालमा प्रख्यात उखानै छ । खाली हुनासाथ अनेक तर्कबितर्क गर्न थाल्छ र गलत बाटो अपनाउन थाल्छ ।

देशमा रोजगारीको ब्यवस्था भयो भने परिवार छोडेर बिदेशिनु पर्दैन युवालाई । फलतः घटना न्यूनीकरण हुन्छ । छोराछोरीलाई सानैदेखि जिम्मेवार बनाउनु पर्छ । संयुक्त परिवारको महत्व बुझाउनु पर्छ । नैतिक शिक्षा सिकाउनु पर्छ । यसले पनि घटना न्यूनिकरण हुन्छ ।

सरकारले पहाडबाट बसाइ सर्ने प्रवृत्तिलाई निरूत्साहन गर्ने योजना ल्याउनु पर्छ । कृषिमा निर्भर हुने आधार जुटाइदिनु पर्छ । यसो गर्दा युवा परिवारसँगै बस्न सकून् । आफ्नो उत्पादनमा रमाउन सकून् । सपरिवार एकै ठाउँमा भएपछि यस्ता घटना स्वतः घटेर जान्छ । यहाँ हरेक गलत कामको जिम्मा पुरूषलाई नै दिइने भएर पनि हो कि ? कानूनले दिएको अधिकारको दुरुपयोग पनि भएको देखिन्छ । दोषी दुबै पक्ष हुन्छन् ।
 

देवी काफ्ले

(काफ्ले साहित्य र महिला अधिकारका विषयमा कलम चलाउनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय