कसलाई बनाउँदैछ नेकपाले सभामुख ?

dainikonline
डिल्ली मल्ल | माघ ५, २०७६ आइतबार | 0

संघीय संसदको पाँचौं अधिवेशन शुरु भएको आज ठीक एक महिना एक दिन भएको छ । तर गत पुस ४ गते पाँचौं अधिवेशनको उद्घाटन बैठकका रुपमा बसेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको दोस्रो बैठक एक महिना बितिसक्दा पनि बस्न सकेको छैन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने विषय टुङ्गोमा नपुग्दा एक महिनादेखि प्रतिनिधि सभा अवरुद्ध बनेको हो । 

नेकपाभित्र विभिन्न चरणमा औपचारिक बैठक तथा अनौपचारिक छलफल भए पनि सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा व्यक्तिगत तथा समूहगत चासो बढ्दै जाँदा अनिर्णयको स्थिति बन्दै गएको छ ।

गत पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको दोस्रो बैठकको सम्भावित कार्यसूचीमा सभामुखको चयन राखिएको थियो । पूर्वसभामुख कृष्णबहादुर महराको राजीनामासँगै रिक्त रहेको सभामुखमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र सहमति हुन नसक्दा तीन पटक सूचना टाँस गरेर प्रतिनिधि सभा बैठक सारिएको छ ।

पछिल्लो पटक पुस २७ गते सूचना टाँस गरी प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो । सोही सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, अहिलेसम्म नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भनेर टुङ्ग्याउन सकेको छैन ।

आइतबार बिहान झण्डै दुई घण्टा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि सभामुखमा सहमति नजिक पुगेको चर्चा भए औपचारिक निर्णय भइसकेको छैन । सम्भवतः आजै दिउँसो ४ बजे बोलाइएको नेकपा सचिवालयको बैठकले सभामुखको उम्मेदवार चयनका बारेमा औपचारिक निर्णय गर्नेछ ।

बिहानको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रतिनिधि सभाको जारी गतिरोधलाई निकास दिन ढिला गर्न नहुनेबारे छलफल भएको स्रोतको भनाई छ । दुई अध्यक्षबीचको छलफलमा भएको सहमतिमा कुनै नयाँ ‘ट्वीस्ट’ आएन भने अग्नि सापकोटा सभामुख हुने सम्भावना बलियो रहेको स्रोतको दावी छ ।

आइतबार विभिन्न अनलाइन मिडियाहरुमा अग्नि सापकोटा सभामुख बन्ने चर्चासहितका समाचारहरु आउन थालेपछि दिउँसो पौने २ बजेतिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो ४ बजे पार्टी सचिवालयको बैठक बोलाउनेबारे अध्यक्षद्वयले सहमति गरेको र सभामुख बन्ने पात्रको सम्बन्धमा छलफल जारी रहेको फेसबुकमार्फत् जानकारी गराउनुभएको छ ।

थापाकै भनाईलाई हेर्दा पनि सभामुखको पात्र चयनका विषयमा अझैं पनि सहमति भइसकेको छैन भन्ने सन्देश दिन खोजेको देखिन्छ । 

पछिल्लो एक महिनामा नेकपाकै नेताहरुको भनाइलाई आधार मानेर हेर्दा अहिले सभामुखको उम्मेदवारका रुपमा तीन जना पात्रको अलि बढी चर्चा हुने गरेको छ । 

त्यसमा पूर्वसभामुख तथा नेकपा संसदीय दलका नेता सुबासचन्द्र नेम्बाङ र नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा बलियो दाबेदारका रुपमा रहनुभएको छ भने उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि आफूलाई ‘बढुवा गर्नुपर्ने’ लबिङमा खरो उत्रिनुभएको छ ।

सभामुख कसलाई बनाउने बहस चर्किदै जाँदा नेकपाभित्र अहिले विशेष गरी एउटा विषय जबर्जस्त उठिरहेको छ । 

राजकीय पदहरुमा पूर्वसमूहका आधारमा सन्तुलन मिलाउने कि क्षमताका आधारमा जोसुकै पर्छन्, परुन् भनेर निर्णय गर्ने ?

सभामुखको उम्मेदवार चयनका सन्दर्भमा पूर्वएमाले समूहका अधिकांश नेताहरु पार्टी एकता भइसकेपछि फेरि पूर्वसमूहका नाममा भागबण्डा गरिनुहुन्न, सक्षम र सबैलाई स्वीकार्य हुने व्यक्तिलाई सभामुख बनाउनुपर्छ भन्दै लबिङ गरिरहेका छन् । यसमा प्रष्टै हुनुपर्ने के हो भने यदि पूर्वसमूहको हिसाब गर्ने हो भने सभामुख तत्कालीन एमाले समूहका नेताहरु यो रिङबाटै आउट हुन्छन्, त्यसैले पनि यो तर्क उनीहरुका लागि महत्वपूर्ण छ ।

अर्कोतर्फ पूर्वमाओवादी समूहका नेताहरु पार्टीको एकता प्रक्रिया नटुङ्गिएको अवस्थामा सबैतिर सन्तुलन मिलाउन राजकीय पदहरुमा पार्टी एकताको भावना र मनोविज्ञानलाई नजरअन्दाज गरिनुहुँदैन भन्दै आएका छन् । पार्टी एकता हुनुपूर्व आफ्नो भागमा परेको सभामुख पद अहिले पूर्वमाओवादी समूहका नेताहरु गुमाउन चाहदैनन् ।

पूर्वमाओवादी नेताहरुको भनाईमा अहिले पनि पूर्णरुपमा पार्टी एकता प्रक्रिया टुङ्गिएको छैन । एउटै पार्टीको दुइटा अध्यक्ष रहेको अवस्था छ भने पार्टीका तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकताको काम बाँकी नै छ । यस्तो अवस्थामा राजकीय पदहरुमा पनि विगतको धारलाई सन्तुलित रुपमा मिलाउन पार्टी नेतृत्वले सचेतरुपमै मिलाउनुपर्छ । 

उनीहरुको तर्क छ, पार्टी एकता घोषणा गरिसक्यौं अब किन पूर्वसमूहका कुरा गर्ने भन्ने हो भने एउटै पार्टीका दुइटा अध्यक्ष किन बनाएको, अध्यक्ष एउटै बनाए भैगो नि । एउटा अध्यक्ष, एउटा प्रधानमन्त्री हुनुस्। 

अबको निकास के ?

सभामुखमा पूर्वएमाले समूहले ‘सक्षम, अनुभवी र ज्ञाता’ भनेर सिफारिस गर्न खोजेको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नै हो । २०६३ सालको पुनःस्थापित संसद, २०६४–२०६९ सम्मको पहिलो संविधानसभा र २०७०–२०७२ सम्मको दोस्रो संविधानसभाको नेतृत्व गर्नुभएका नेम्वाङलाई फेरि पनि सभामुख बनाउनु नेकपाका लागि कति जायज होला ?

कतिपयको तर्क छ, अहिलेको संघीय संसदभन्दा नेपालको गणतान्त्रिक संविधान निर्माण गरेको ऐतिहासिक संविधानसभाको अध्यक्ष पद सम्मानित होइन र ? त्यसैले नेम्वाङलाई फेरि पनि सभामुखको जिम्मा लगाउनु उहाँलाई ‘घटुवा’ गर्नु हो । 

कोही पनि जन्मिदै क्षमतावान्, सक्षम र अनुभवी हुँदैन । काम गर्दै जाँदा सिक्ने हो, काम गरेर नै अनुभवी हुने हो । लोकतान्त्रिक संस्कार अनुसार पनि एउटै व्यक्ति आजीवनजस्तो एउटै पदमा रहनु त्यति सुहाउँदैन । त्यसैले फेरि पनि पहिलेकै व्यक्तिलाई फर्काउँदै ल्याउनुभन्दा नयाँमा जानु नेकपाको पार्टी जीवनका लागि पनि श्रेयस्कर हुने नेकपाकै नेताहरुको भनाई छ ।

दोस्रो, पार्टी एकता प्रक्रियाकै क्रममा रहेको र अहिले पनि राज्यका महत्वपूर्ण जिम्मेवारीहरुमा पूर्वएमाले समूहकै नेताहरुको वर्चश्व रहेको हुँदा विविध धारको एकता र सन्तुलनका लागि पनि पूर्वमाओवादी समूहबाट सभामुख चयन हुँदा पार्टी एकता झनै बलियो हुने नेताहरु बताउँछन् । 

यी दुई कारणले पनि सभामुखको उम्मेदवारी नेकपा सचिवालयले पूर्वमाओवादी समूहकै नेता मध्येबाट उठाउने सम्भावना बलियो देखिन्छ । पूर्वमाओवादीभित्र सभामुखका लागि चर्चामा देव गुरुङ, पम्फा भुसाल, ओनसरी घर्तीसम्मको चर्चा भए पनि सम्भावना अग्नि सापकोटाकै बलियो रहेको बताइन्छ ।

उपसभामुखको राजीनामा कहिले ?

नेकपा सचिवालयले राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै आएकी उपसभामुख तुम्बाहाङफेले के गर्नुहुन्छ भन्ने अहिले पनि चासोको विषय बन्दै आएको छ ।

उसो त उपसभामुख निकट स्रोतका अनुसार सोमबार बिहान मात्रै राजीनामा दिएर प्रतिनिधि सभाको अवरोध खुलाउन आफू तयार रहेको तुम्बाहाङफेले बताउँदै आउनुभएको छ । 

पुस १६ गतेको बोलाइएको प्रतिनिधि सभा बैठकअघि राजीनामा दिन तयार तुम्बाहाङफे किन एक्कासी राजीनामा नदिने मुडमा पुग्नुभयो ? उपसभामुखको फेरिएको मुडले पनि नेकपाभित्रको शक्ति संघर्षलाई संकेत गर्छ । 

आफूनिकटसँग ‘मलाई मन्त्रीको लोभ छैन, पार्टीले भन्यो भने उपसभामुखबाट पनि राजीनामा दिन्छु’ भन्दै आएकी उपसभामुख जब नेकपाको सचिवालय बैठकले राजीनामा दिन निर्णय ग¥यो त्यसपछि कडा रुपमा प्रस्तुत हुनुभएको थियो ।

त्यसयताका सबैजसो अन्तर्वार्ता होऊन् वा सञ्चारकर्मीहरुसँगको औपचारिक/अनौपचारिक कुराकानीमा उहाँले ‘पूर्वसभामुखको गल्तीको सजाय मलाई दिने ?’ ‘पार्टीले मलाई राजीनामा दिनुपर्छ भनेर निर्णय गर्न मिल्दैन’ ‘मलाई सभामुखको उम्मेदवार नबनाएसम्म राजीनामा दिन्न’ जस्ता अभिव्यक्ति दिन थाल्नुभयो । 

शुरुमा राजीनामा दिन तयार उपसभामुख एकाएक ‘अडान’ लिएकोमा धेरैले कुनै न कुनै पक्षको बलियो आड पाएर प्रस्तुत भएको दावी गर्छन् । कतिपयले त शीतल निवास र वालुवाटारकै ‘ग्रीन सिग्नल’ पाएर त्यसरी प्रस्तुत भएको टिप्पणी गरे । 

यहाँनेर ‘म स्वतन्त्र भइसकें, नेकपाले राजीनामा दे भनेको निर्णय मान्न बाध्यकारी छैन’ भन्ने पात्रले नै उहीँ पार्टीलाई ‘सभामुखको उम्मेदवार बनाउनुस्’ भन्नु विरोधभास हुने जानकारहरु बताउँछन् । 

उसो त अहिले उपसभामुखको राजीनामा मागेजस्तै पूर्वसभामुख महरालाई पनि नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्णय गरेको थियो । त्यतिबेला तुम्बाहाङफेले नै सभामुखको राजीनामा पत्र हेरिसकेपछि ‘खोइ त यहाँ पार्टी निर्णयअनुसार भएन, पार्टीले सभामुख र सांसद दुवै पदबाट राजीनामा मागेको थियो, यहाँ सभामुख पदबाट मात्रै राजीनामा आयो’ भनेर महराको राजीनामा पत्र बुझाउन गएका व्यक्तिलाई प्रश्न गर्नुभएको थियो ।

यसले उस्तै संवैधानिक पदमा अरुलाई पर्दा पार्टी निर्णय कडाइपूर्वक लागू हुनुपर्ने र आफूलाई पर्दा स्वतन्त्र छु भनेर पन्छिन खोज्ने उपसभामुखको दोहोरो चरित्र उजागर भएन र ?

तर, नेकपा नेताहरु भने तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएर नेकपालाई सभामुखको उम्मेदवार दिन बाटो खुल्ला गर्नुहुन्छ भन्नेमा ढुक्क रहेको बताउँछन्। 

डिल्ली मल्ल

मल्ल राजनीति र साहित्यकलाका क्षेत्रमा कलम चलाउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय