लठ्ठीको सहारामा दैनिक चार घण्टा हिडेर विद्यालय

dainikonline
सृजना सेन | माघ ३, २०७६ शुक्रबार | 0

प्यूठान । प्यूठान नगरपालिका–२ दाखाक्वाडी मसेरीका लक्ष्मणलाई विद्यालय पुग्न दुई घण्टा लाग्छ । भर्खर १५ वर्ष पुगेका उहाँ लठ्ठीको सहारामा दैनिक ४ घण्टा हिड्नुहुन्छ । दुई बर्षको हुँदा देब्रे खुट्टामा भएको सानो घाउले उहाँलाई जीवनभर लौरोको भरमा हिड्नुपर्ने बनाएको छ । 

जानकी माध्यमिक विद्यालय चितिखोलामा कक्षा सातमा पढिरहनुभएका लक्ष्मण बिहान आठ बजे नै घरबाट हिड्नुहुन्छ । हातमा उठेको फोका देखाउँदै लक्ष्मण भन्नुहुन्छ, ‘बिहान बेलुका गरी दैनिक चार घण्टा लौरोको भरमा हिड्डा निकै गाह्रो हुन्छ ।’ 

बिहानै हिडेर साँझ ढिला घर आउँदा आफुलाई पढ्न र गृहकार्य गर्न निकै समस्या भएको उहाँले बताउनुभयो । ‘स्कूल पुग्न घरबाट बिहानै हिड्नुपर्छ नत्र पुगिदैन, उहाँले भन्नुभयो, ‘परीक्षाको बेला झन् गाह्रो हुन्छ ।’ 

घरमा आर्थिक समस्या भएपछि विद्यालय छोड्नुपर्ने अवस्था समेत सिर्जना भएको उहाँको भोगाई छ । अहिले विद्यालयबाट निःशुल्क पठनपाठनको व्यवस्था भएकाले पढ्न सजिलो भएको उहाँले बताउनुभयो । घरमा अन्य सदस्य नपढेकाले आफूलाई पनि पढ्न समस्या भएको उहाँको भनाई छ । शारीरिक रुपमा अशक्त भए पनि भविष्यमा शिक्षक बनेर शिक्षा क्षेत्रमा सेवा गर्ने इच्छाशक्ति लिनुभएका लक्ष्मणले हिम्मत हार्नुभएको छैन । 

दैनिक लौरोको भरमा उकालो ओरालो गर्न गाह्रो भएकोले कसैले विद्यालय नजिकै बसेर पढ्ने व्यवस्था गरिदिए आफूलाई सजिलो हुने उहाँको आशा छ । ‘लौरोको सहारामा दैनिक चार घण्टा हिड्दा मलाई समस्या भइरहेको छ, उहाँले भन्नुभयो, ‘विद्यालय नजिकै बसेर पढ्ने व्यवस्था भइदिए मलाई निकै सजिलो हुने थियो ।’ 

उसो त अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिह केसी  अपाङ्गता भएका बालबालिकालाई निःशुल्क रुपमा शिक्षा पाउने हक र विद्यालय पहुँचमा ल्याउने नीतिमा भए पनि व्यवहारमा कार्यान्वयन नभएको बताउनुभयो ।

विद्यालय टाढा भएको कारण अध्ययन गर्नं अप्ठ्यारो भएका अपाङ्गता भएको विद्यार्थीहरुलाई विद्यालय नजिक बस्ने व्यवस्था मिलाउन सकिने भन्दै केसीले भन्नुभयो, ‘म सम्बन्धित व्यक्ति तथा परिवारलाई आवश्यक सहयोग र सिफारिसका लागि पहल गर्नेछु ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय