स्वस्थानीले फेरेको एउटा जिन्दगीको कथा

dainikonline
नरेन्द्रजंग पिटर | माघ ३, २०७६ शुक्रबार | 0

यो महिना स्वस्थानी महिना हो । पहाडी हिन्दू समाजमा स्कन्ध पुराण आधारित यस कथालाई भक्तिभावका साथ पढिन्छ, आराधना गरिन्छ, ब्रत बसिन्छ, जीवन र जगतप्रति धारणा बनाइन्छ । मेरो जिन्दगीमा पनि स्वस्थानी कथाले विशेष महत्व राख्छ । कहिलेकहीँ सामान्यजस्ता घटनाले पनि जिन्दगीका अर्थ फेरिँदो रहेछ । बाटा छुटिदा रहेछन् । सौन्दर्यताका परिभाषा बदलिदो रहेछन् । दोबाटोमा मान्छेले छानेका फरक बाटो जिन्दगीका कथा बन्दा रहेछन् । र, त्यसैलाई भोग्दै सत्य पनि बन्दोरहेछ । कुमारजी आज्ञा गर्नुहुन्छ– हे, अगस्त्य मुनीः यो स्वस्थानी महिना हो ....मेरो लागि पनि स्वस्थानी महात्म्य त्यस्तै बन्यो । 

अहिले जसलाई वैदिक साहित्य भन्ने गर्छु त्यसबेला धर्मग्रन्थ भन्ने गर्थेँ । फड्को मार्ने धेरै कथा र ब्यथा हुन्छन् । तर्क र विज्ञानचेत हुन्छ । पारिवारिक संघर्षगाथा र सवाल्ट्रानका इतिहास हुन्छन् । हरेक देश र समाजका इतिहास बन्न ससाना भूइँमान्छेका कथाहरु माला बनेर सामाजिक चेत र इतिहास बन्ने गर्छन् । हो, हुक्सेली दुलालका पनि त्यस्तै कथा छन् ।

एक दिन हुक्सेली जेठा छिमेकमा स्वस्थानी कथा सुन्न गएछन्, हेपिएछन् । तब प्रण गरेछन्– हे.. स्वस्थानी मैयाँ, जबसम्म मेरो छोरो जन्मेर स्वस्थानी कथा पढ्नेछैन तबसम्म म कुनै पनि धर्मशास्त्र, सत्यनारायण कथा, पुराण सुन्न कहीँकतै पनि जान्न ।  हे, ३३ कोटी देवीदेवता मलाई माफ गर । म त निरक्षर भएँ नै, तर म आप्mनै छोराकै मुखबाट मात्र ती सबै सुन्ने छु ।’ यसरी एउटा इषालु निरक्षर किसान कहिले छोरो जन्मेला, हुर्केला र स्वस्थानी, महाभारत, रामायण, देवी भागवत, कृष्णचरित्र सुन्न पाउँला भनेर कुरिरहेको हुन्छ । कुमारजी आज्ञा गर्नु हुन्छ– हे, अगस्त्य मुनी .....त्यसदिन उनी स्वस्थानी कथा सुन्न अपमानित नभएको भए मैले त्यस गरिव परिवारमा जन्मेर पढ्ने अवसर पाउँथें कि पाउँदैन थिएँ ! थाहा छैन । त्यसैले पनि स्वस्थानीसँग मेरो विशेष सम्बन्ध रहन पुगेको हो ।

आस्थाबाट अनास्था र विश्वासबाट तर्कका यात्रा जब सुरुवात हुन्छन् तब चौतर्फी मुस्किल, अपमान, तिरस्कार कष्टले घेरिन्छु तब बाबा शिवशंकरका– सबै सह, हेपेको नसह’ सम्झन पुग्छु ।  वर्षदिनमै मात्रृवियोग, ७ वर्षमै बाबा बितेर टुहुरो बनेको एउटा अनाथ बच्चोले जिन्दगीलाई आप्mनै पाइतालाले नाप्यो । आप्mनै आँखाले नियाल्यो । अनेकौं चुलाका तिरस्कृत खाना चाख्यो । तब न एउटा फलामबाट स्टिल बन्यो । छतविहीन टुहुरो हेपिएर त्यसविरुद्ध जुध्यो । अनि जिन्दगीको सूत्र बनायो– सबै कुरा सह, तर हेपेको नसह’ । धार्मिक थियो तर कट्टर थिएन । दुःखका हण्डर खाएको, बसाई सर्दै गएको, हेपाईसँग जुभ्mदै गएको हरेक स्वभिमानी मान्छे प्रगतिशील त हुन्छ नै । बाबा हुक्सेली त्यस्तै थिए । पौरखी थिए । मिहनेती थिए । आफनै पाखुरी बजारेर बाँझो धरती उर्वरा बनाएका थिए । बाँझो भस्मे फाँडेको, बुट्यान सम्याएको मैले देखेको मात्रै हैन, साथ लागेको पनि छु । रसेटोमा उखु पेलेर सख्खर मात्रै हैन, खुँदो र चाकु बनाउन कति सिपालु थिए, उनी ।  भुण्टे थिएँ तर साथ दिएको छु । शपथ खाएर भन्न सक्छु –तन्नम यायावर गरिबबाट उच्च मध्यम वर्गमा फेरिदा पनि उनका अंशमा कसैको एक थोपा आँशु र एक थोपा  पसिना थिएन । निरक्षर थिए तर हक्की स्वभावका । राम्रा गोरु, बाख्रा, भैंसी देखिनसहने, जति मोल परे पनि किनिहाल्नु पर्ने । यस महत्वाकाङ्क्षाले उनलाई सतायो । आम किसानलाई जस्तै उनलाई पनि छापिएका कुरा ढुंगाका अक्षर थिए भने रेडियोबाजा देववाणी । तब देववाणी अक्षरका संगाती बन्न छोरालाई हौंस्याए, प्रेरित गरे, वातावरण तयार गरे । हरेक किसिमको गर्विलो बाउको अभिभावकत्वको हात छोराका शिरमाथि राखे । 

बाबाले हेपिनुको कारण  टुहुरो हुनु हो, गरिवी र अशिक्षा हो भन्ने कुरा राम्रै बुझेका थिए । सोचेको अठोट पूरै गर्नु पर्ने हुक्सेली जेठा मणिकण्ठ बाजेका सातौं सन्तान हुन् । ६ जना अल्पायुमै बिते । अन्तमा श्रीमति र किशोर जेठो छोरो पनि झाडापखलाले खाएपछि एक वर्षीय छोरा हुर्काउन बाजे मणिकण्ठलाई गाह्रो परेर अर्को बिहे गरे । बर्षात भइरहने उत्तरको गाउँ सिपा बौवा कान्छी श्रीमतिको सल्लाहमा बसाई सरे । मालपोत तिर्न नसकेर भमरकोटबाट पलायन हुँदै रातारात बौवा बसाई सरेका मणिकण्ठ त्यहीँ ७ वर्षको छोरो शिवशंकर र कान्छीपट्टीको साढे ३ वर्षीय छोरो शिवनिधिलाई छोडेर बिते । आमा र दाइ पनि झाडावान्ता महामारीले खाँदा पनि एक वर्षीय आफू बचेकोमा  विह्वल हुँदा कहिलेकहीँ उनी भन्ने गर्थे– कालले मलाई किन माया गरेनछ, हँ ?’ 

आमाकी विधवी बहिनी सानीआमाको संरक्षणमा व्यवस्थित जिन्दगीको सुरुवात हुक्सेबाट भयो । बौवामा हिन्चे भनिने शिवशंकरको अर्को परिचय हुक्से हुँदा भमरकोटे दुलाल, पित्रीथलो आइपुग्दा हुक्सेलीमा फेरियो । उनी निरक्षर थिए ।  सयौँ घरका बास र गासले उनलाई आसे बनाएन, बरु अपमानसँग लड्ने शक्ति दियो । अनौठो तरिकाले भाइलाई प्यार गरे । साली बिहे गराए । जैसी बाहुनका भताहा श्रेणी हुन्छन्, उकास्न जे गर्न सकिन्छ गरे ।      

मेरो जन्मसँगै अपताली नपर्ने भो भनेर बाबा त यसै खुशी भएका थिए भने आमालाई छोरो जन्मदा हर्षित हुने नै भइन् । उनको अर्को खुशीको कुरा भनेको बाले वंश चलाउनै  पुत्रलाभका लागि अर्को बिहे गर्ने अठोट रहेछ । जेहोस्,  आमाले सौता बेहोर्नु परेन । हामीहरुले सौतेनी आमाको पीडा बेहोर्नु परेन । बाले कहिले छोरो बढ्ला स्वस्थानी सुनाउने बनाउँला, त्यतिमात्रै ध्याउन्न थियो अरे । 

बाबाको स्वस्थानी सुन्ने सपनी पूरा गर्ने जिम्मेवारी अत्यन्तै सानु बालकमा आइपुग्यो । तीन कक्षामा पढ्न थाल्दै गर्दा बढेमाका धार्मिक पुस्तक आइलाग्न थाले । त्यसमध्य स्वस्थानी अत्यन्तै कठिन शब्दको । एउटा शब्द बिगारे नर्कमै गइने । अत्यन्तै सावधानी साथ पढ्न चोखोनिधो हुनुपर्ने । अचम्मका कथाहरु लय हालेर पढनुपर्ने । ओ...हो, पुस्तकका वर्णनले छाएको आतंक भनिनसक्नु । हरेक अध्याय त्यही दिन पूरा गर्नुपर्ने । यमब्रम्हा स्वस्तीश्री सुरुदेखि कायनवाचा सक्नै पर्ने । एक बालकलाई  अत्यन्तै कठिन ।
 
१५ वर्षसम्म अत्यन्तै धर्मभक्त थिँए । नित्यकर्ममा पूजा गर्नु, स्वस्थानी, तुलसा र दशैँको ब्रत लिनु जिन्दगीका पात्रोमा पर्थे । बाबाका पिठ्युमा चढेर सालीनदी नुहाउँदै पवित्र बनेको छु । मातातीर्थ जाँदा गाडी दुर्घटनामा परेर वीर अस्पतालको बास । उफ ! उनले आप्mनो बाबाको किरिया गर्न ब्रतवन्ध नगरेकोले केराको सुपोको लङ्गौटी र कन्दनी लगाएर किरिया गरेको पीडा थियो । स्वर्गीय लोभ र वैतरणी आतङ्क मुक्तिका लागि पनि आफनो किरिया छोराले नै गर्छ भनेर ८ वर्षमै मेरो ब्रतवन्ध गरिदिएका हुन् । घरमै गर्नसक्ने अवस्था थिएन । जिम्वालका नाति हरिको जग्गेमा मिस्कट भएर म पूर्ण बाहुन बनेको हुँ । त्यही बेलादेखि कर्मकाण्डी बाहुन बनिसकेपछि एकाएक बालापन रित्तियो । बालसखाले (दलित र अन्य जाति) छोएको खान नहुने भो । पर सरेको आप्mनै आमा र दिदीले छोएको समेत खान नहुने भो । धर्मशास्त्रले जिन्दगीका नीति र विधि तय गरिदियो । खड्गो काट्न कामीपुत्रसँग मीत लगाइयो तर अझै मीतलाई चिन्न सकेको छैन । 

महाभारत, रामायण, कृष्णचरित्र, देवी भागवत, जगन्नाथ उपाध्याय गुराँगाईं लिखत गुणरत्नमाला मात्रै हैन तोतामैनाका कथा, लालहिराका कथा, अकबर–बीरबलका कथा, काँठेभाकाका असारे गीत घरका पाहुना बनिसकेका थिए । भाका हालेर सिलोक र गीत भन्नुपर्ने । त्यसबेला गर्विलो अनुहार बाबाको देख्थेँ । अझ दुर्गा साहित्य भण्डार वाराणसीबाट छापिएको रातो गाताको स्कन्ध पुराण आधारित स्वस्थानीको पुस्तक अहिले पनि झल्झल्ती आउँछ । बाबा भन्ने गर्थे– सबै पढ्नू, गीता भने नपढ्नू । बौलाइन्छ, जोगी बनिन्छ । तँ जोगी बनेको मैले देख्नै सक्दिन’ । कथा सुनिसकेपछि बुढाले हरेक साँझ राम्रै प्रसाद लगाउँथे । कुनै दिन हेप्ने पनि घरमा आएको, कथा सुनेको देख्दा गर्वित हुन्थे । उमेर बढदै जाँदा टोलछिमेकै सिलोक भन्ने, गीत गाउँने चर्चित भइसक्या थिएँ । किताव त सर्लक्कै पिइसकेको  । विवाह, व्रतवन्धमा पनि खोजीनीति हुन थालिसक्या । सिलोकबाटै जुहारी खेल्नेको कुरा काट्ने भइसक्या थिएँ । बाबालाई सुनाउन सुरु भएको वैद्धिक साहित्यले बढाएको अध्ययन भोक अन्य विषय पनि बढ्दै गयो । 

बाबालाई संसारकै धनी र आमालाई संसारकै विद्वान सोच्ने सोच समयसँगै विश्वास भत्कदै गए । नगर्नु भनेको कामले झन जिज्ञासा बढाउँछ । प्रतिबन्धलाई मान्छे तोड्न चाहन्छ । के हो ?  कसो हो ? बुभ्mन चाहन्छ । त्यसैले बौलाउने किताव गीताबारे जान्न उत्सुकता जाग्न थाल्यो । त्यसको समाधान आर्य समाजी विद्वान पुष्पराज ढुंगानाले गर्दै गए । सत्यार्थप्रकाश र पाखण्ड खण्डन जस्ता पुस्तक पाइयो । अर्कातर्फ म जिल्ला सदरमुकामको हाइस्कूलको प्रायः प्रथम विद्यार्थी । फष्ट बेञ्चर । विज्ञान, भूगोल, इतिहास, समाजशास्त्र जस्ता पुस्तकले धार्मिक मान्यतामाथि चेतनाको संघर्ष हुँदै गयो । कार्य, कारण र परिणामका अन्तरसम्बन्ध खोजिदै गईयो । त्यसबेलासम्म धार्मिक पुस्तकले बनाएको धार्मिक मान्छे क्रमशः विघटन हुँदै गयो । स्कन्ध पुराणको कथा, कुमारजी र अगस्त्य मुनीका संवादका ठाउँमा माक्र्स र डार्विनले हस्तक्षेप गर्दै गए । चार्वाक, बुद्ध, स्पार्टाकस, ग्लाडियटर, ग्यालिलियो, जियो डानो ब्र्ुनो र टम पेनले त ‘बौलाहा’ नै बनाइदिए । ज्ञान प्राप्तिको भोक र जिज्ञासाले तर्क र तथ्यसहितको सत्य खोज्न थाल्यो । एउटा जिज्ञासु किशोरका धार्मिक विश्वास डगमगाए पनि बाबाको अनुहारमा खुशी देख्न वैदिक साहित्य वाचनमा भने छोडिएन ।
एकाएक  धार्मिक मान्छेहरुको आर्थिक आक्रमणले हाम्रो परिवार घायल बन्दै गयो । आप्mनै मिहनेतले बुट्यान फाँडेर मध्यमवर्गमा उक्लिएको हुक्सेली परिवार निम्न वर्गमा झर्न पुग्यो । तब त धार्मिक मान्छेका पापकर्मले दयावान भगवानप्रतिको विश्वास झन टुट्न पुग्यो  । या त भगवान छदै छैन, छ भने शक्तिशालीहरुको लागि मात्रै छ, उनीहरुको मात्रै रक्षा गर्छ, निम्छराको गर्दैन भन्नेमा पुगियो ।  हामी आफन्त दुलाल परिवारबाटै लुटिएका थियौँ । अत्यन्तै धार्मिक भनिने कृष्ण प्रणामी हुक्सेली बजगाँईबाट लुटिएका थियौँ । 

अन्तमाः सामाजिक  हलचल, त्यसको प्रत्यक्ष प्रभाव हरेक विषयलाई तर्क र तथ्यको मिलानले नयाँ धारणा जन्माउँदै जान्छ । दर्शनकै आधारमा दृष्टिकोण बन्दा रहेछन् । संघार काट्न अत्यन्तै कठिन । तब विश्वस्त बन्न पुगेँ– धर्मले मुक्ति त पाइँदैन तर धर्मबाट मुक्त हुन भने अत्यन्तै गाह्रो छ । जन्म आधारित जातिले धार्मिक त बनायो, तर त्यहाँ तर्क छैन । प्रमाण खोजिन थालिदैन । एकातर्फ वैदिक साहित्यले स्वर्गको चाहना, देवभक्त, नर्कको आतंक फैलाएको, अर्कोतर्फ अचानक धार्मिक डर हराइए । पुराना विश्वासमाथि प्रश्न उठे । पुस्तकमा लेखिएका हरेक कुरामा विश्वासमाथि तर्कले सत्य खोज्न थाल्यो । धर्म, स्वर्ग नर्क, कानुन, ठूलाबडाका अर्थ फेरिए । सोच नमिलेको संगाती, वर्ग नमिलेको सम्बन्ध र भावना नजोडिएको नाताको कुनै अर्थ हुँदैनथ्यो । स्वस्थानी कथाले मलाई म बन्ने र अध्ययनको मौका जुराएको त थियो । वैदिक साहित्यले विविध विषयमा अध्ययनको रुची पनि जगायो तर तर्क र विज्ञानले भने त्यसैमा रुमल्लिने अनुमति दिएन ।  कुमारजी भन्नु हुन्छः हे, अगस्त्य मुनी– त्यसैसँग अचानक धार्मिक आतंकबाट  मुक्त भएर विज्ञानको आँखीझ्यालबाट जीवन र जगत नियाल्न पुगेँ । अथः स्वस्थानी माहात्म्य इतिश्री ।    


 

नरेन्द्रजंग पिटर

(पिटर साहित्यकार तथा लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय