सन्दीपको उत्कृष्ट बलिङ

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

मेलवर्न । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । 

बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिनुभएको छ । 
 
सन्दीपले तीन ओभर मात्र बलिङ गर्नुभयो । उहाँले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिनुभयो भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिनुभयो । सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिनुभयो । उहाँले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिनुभएको हो । सो ओभरमा उहाँले कुनै रन खर्चिनु भएन । सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गर्न दिनुभएन ।  
 
यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल हुनुभएको छ । सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो ।

विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो । सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म १० खेलमध्ये नौमा जित तथा एकमा हार बेहोर्दै १८ अङ्क बटुलेको छ । हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाउनुभएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय