जहाजले आकाशबाट इन्धन फाल्दा बालबालिकासहित ६० घाइते

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

लसएन्जलस । अमेरिकाको लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि एक विमानले विद्यालयको खेलमैदानमा इन्धन खन्याएको छ।

इन्धन विद्यालयको छतमा परेपछि बालबालिकासहित ६० जना घाइते भएको बीबीसीले जनाएको छ।

अमेरिकाको लस एन्जल्सबाट चीनको शांघाइ जाँदै गरेको डेल्टा एयरको जहाजले इन्धन डम्प गरेको हो ।

इन्धन शरीरमा परेपछि बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ।

हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिए पनि उच्च उचाइबाट निश्चित स्थानमा मात्रै त्यसो गर्न पाइने बताइएको छ।

डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो।

विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका हुन्।

लस एन्जेलस टाइम्स पत्रिकाका अनुसार इन्धन खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा थिए।

विद्यालय रहेको कुडाही शहरकी नगरप्रमुख एलिजावेथ एल्कान्टरले भनिन् 'म ज्यादै दुखित छु। यो प्राथमिक विद्यालय हो र त्यहाँ सबै साना बालबालिका थिए।'

डेल्टा वायुसेवाले एक विज्ञप्तिमा विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ।

घटनाको छानबिन भइरहेको विमान कम्पनीले जनाएको छ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय