माघी पर्व : प्रेम भावलाई अंकुरित गर्ने पर्व

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

उडी उडी भावारा रे हा टिकुलिपर बैठे, टिकुली मोरा भैल मलिन सखिया है ‘उडी हिड्ने भमरा मेरो टिकुलीमा बस्यो, भमरा बसेर मेरो टिकुलीमा दाग लाग्या’ भन्ने जस्ता प्रेमिल गीत गएर मनाइने थारु समुदायको महान पर्व माघी एक आपसमा प्रेम भावलाई अंकुरित गर्ने पर्वको रुपमा स्थापित भएको छ । 

थारु आदिभूमि क्षेत्रमा छाएको छ, यतिबेला हर्षोल्लासपूर्ण तरिकाले आएको माघी नयाँ बर्ष, आर्थिक बर्ष, मेलमिलापको पर्व । उल्लासको पर्व सद्भावको पर्व, गीत संगीतको पर्व र सेवा लाग्ने पर्व लगायतका थुप्रै नामले परिभाषित गरिने भएकाले यसलाई बहुआयामिक पर्वको रुपमा लिइन्छ । हरेक बर्ष पुस २९ गते थारु सम्वत सकिएर माघ १ गते थारु नयाँ सम्वत सुरु हुने भएकाले यसलाई नयाँ बर्षको रुपमा पनि लिइन्छ । 

दाङ लगायतका तराइका थारुबाहुल्य जिल्लाहरुमा यो पर्वको महोत्सव र मिलन समारोहको आयोजना गरेर भव्यताका साथ मनाउन शुरु गरिएको छ । 

‘पुस पकाउन, माघ खाउन’ भन्ने थारु समुदायको प्रचलित उखान जस्तै थारु समुदाय पुस महिनाको १५ गतेदेखि नै विभिन्न मिठामिठा परिकारहरु पकाएर माघ १ गते सखारै गाउँको महतावासँग नुहाइधुवाई गर्न नदीमा जाने र नदीमै नुहाइधुवाई सकेर महतावाको हातबाट टीका लगाई आगो ताप्ने, गीत गाउने नाच्ने प्रचलन छ ।

नुहाइसकेर थारु समुदायका मानिसहरु नदीबाटै गाउँदै नाच्दै घर आउँछन् र निस्राउ कहरना (बिहेबारी भएर गएका चेलीहरुका लागि कोसेली तयार गर्छन्) । यसमा कोसेलीको प्रतीकका रुपमा एक मुठी चामल, एक मुठी नुन र एक मुठी उर्दको दाल राखेका हुन्छन् र त्यसपछि घरमै पूजापाठ गर्ने, खानपिन र नाचगान गर्ने प्रचलन यो समुदायमा प्रचलित छ ।

त्यस्तै माघ २ गते सबैका घरघरमा इष्टमित्रहरु आउने, स्वागत सम्मान गर्ने, खानपिन गर्ने प्रचलन छ । तेस्रो दिन माघ ३ गते देवानी महतौंको घरमा गाउँका सबै घरधुरीहरु भेला भई बर्षभरिको कामको समीक्षा महतौं नेतृत्वको बारेमा छलफल, गत बर्षको ऐनकानुनको समीक्षा, गाउँमा चालु बर्षमा  कसको बिबाह हुने, छुट्टिने, पूजाआजा हुने लगायतका साँस्कृतिक कुरा सुरु हुन्छ ।

थारु जातिको आफ्नो पहिचान बोकेको महान राष्ट्रिय पर्व माघीलाई स्थान विशेषअनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी भन्ने गरिन्छ । 

थारु समुदायले पुस्तौंदेखि नै महान पर्व भन्दै धुमधामका साथ मनाउँदै आइरहेको यस पर्व आ–आफ्नो ठाउँअनुसार यसलाई नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोसेलीस्वरूप निसाउ प्रदान गर्ने आदि विविधरूपमा मनाउने चलन रहेको छ । 

यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ ।

महान पर्व भएकाले पुस दोस्रो सातादेखि नै अनदीको चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याई दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने आदि तयारी गरिएको हुन्छ ।
 
ढिकुरी थारु समुदायको लोकप्रिय परिकार भएकाले यसलाई बनाउनका लागि भएसम्म मसिनो चामलको पिठो पिस्ने गरिन्छ ।
 
माछाको परिकार पनि यस पर्वमा अनिवार्यरूपमा बनाइन्छ । नजिकको खोला, तलाउमा माछा मारेर ल्याई आगोमा सेकाई सुकाएर राख्ने गरिन्छ र माघीको दिनमा पकाएर खाने तथा खुवाउने गरिन्छ ।
 
पुस महिनाको अन्तिम दिनलाई थारुहरूले ‘जीता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन माघी पर्वका लागि सुँगुरको मासु व्यवस्था गरिन्छ । 

बड्घरिया वा भल्मन्साको घरमा गाउँभरिका थारुहरु भेला भएर सुँगुर मारी आफ्नो गच्छे र आवश्यकताअनुसार मासु किनेर लाने प्रचलन पनि छ । 

यस्तै थारु समुदायको महतौंको घरमा सबै भेला भएर रातभर ढुमरु गीत गाउने, डम्फु तथा मादल बजाउने, छोकरा, झग्रा र मघौटा नाच नाच्ने गरिन्छ । सोही रात महिलाहरूले चामलको ढिक्री, रोटी, तिलको लड्डु, मुरही, खरियाका साथै तरुल, गन्जी, अनदी चामलको उसिनेको भात र खिचडी बनाउने गर्दछन् ।

पुस महिनाको अन्तिम हप्तादेखि सुरु हुने यो पर्व झण्डै ५ दिनसम्म चल्छ ।

माघ १ गतेको दिन पहिलो प्रहर सुरु हुन्छ । तब साना ठूला सबै पुरुष दुई नदीको संगम दोभानमा र महिलाहरू कामकाजमा व्यस्त रहने भएकाले नजिकको खोला, कुवा, घाटमा गई नुहाउँछन् ।
 
कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मेपछि मरिहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने प्रचलन पनि यो समुदायमा छ ।

यस समुदायले आ–आफ्नो घरमा स्यावा ढोग लगेर खानपिन गरिसकेपछि छरछिमेक तथा गाउँघरमा आफ्ना मान्यजनहरूसँग ढोग स्यावा लागेर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिनुका साथै माघी पर्वका मिठामिठा परिकारहरू खाने गरिन्छ ।
 
यस दिन सम्बन्ध बिग्रेका र बोलचाल बन्द भएका मान्यजनहरुकहाँ गएर पनि स्थावा ढोग लाग्ने गरिन्छ । यसले बर्षभरिका मनमुटाव तथा रिसइबीहरू बिर्सी सहिष्णुता, सद्भाव, मायाममता पुनस्र्थापना गर्न, गराउन मद्दत गर्ने गर्दछ ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ र जीवन्त बनाउन यस पर्वमा दाजुभाइहरु कोसेली लिएर दिदीबहिनीको घरमा जान्छन् र दिदीबहिनीहरु सँगै बसेर मिठामिठा परिकारहरु खाने र रमाउने गर्दछन् ।

नयाँ आर्थिक बर्षको सुरुवाती भएकाले गत पुस मसान्तसम्मका सबै कारोबारको अन्त्य गरी माघ १ गतेदेखि नयाँ करोबारको थालनी गर्ने चलन थारु समुदायमा रहेको छ ।
 
माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घरव्यवहार सञ्चालनबारे छलफल गर्ने प्रचलन यो पर्वमा छ ।
 
घरायसी कामकाज खेत जोत्ने वा छाड्ने, विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहु महाजनहरु कोसँग व्यवहार गर्ने, आगामी वर्षको लागि योजना बनाउने गरिन्छ ।

त्यसैगरी सामूहिक कामकाजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ भने गाउँभरिका व्यक्तिहरू भेला भई गाउँको नेतृत्वकर्ता महतौं चयन गर्ने प्रचलन यो पर्वमा छ । महतौंपछि गाउँको चौकीदार, गुरुवा, केसौका, चिखया आदि पनि यस पर्वमा चुनिन्छ ।
 
माघी पर्वले थारु समुदायमा सामाजिक सहिष्णुता तथा समझदारीपूर्ण सम्बन्धको विकास गराउनुका साथै सबल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्दछ । छलफल प्रणालीबाट गाउँ विकासको योजना बनाई सामुहिक हितका लागि सद्भाव बढ्ने गर्दछ । विभिन्न दैवीबाट बचाउन गुरुवाको व्यवस्था गरिने हुँदा सामाजिक परम्परा तथा संस्कारलाई जीवन्त राख्न मद्दत पुग्दछ किनकि थारु समुदायमा नाचिने विभिन्न नृत्यहरूमा गुरुवाको महत्वपूर्ण भूमिका रहन्छ । 

माया, प्रेम, सद्भाव तथा नयाँ योजनाको पर्व भएकाले यसको उचित संरक्षण र प्रवद्र्धनका लागि थारु समुदाय लागेका देखिन्छन् । 

थारू समुदायका मानिसले धुमधामका साथ स्नान, दान एवम् खानपिन र रमाइलो गरेर मनाइने माघी आफूभन्दा ठूलासँग आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिने गरिन्छ । बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा छ । 

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास पनि थारू समुदायमा छ । गाउँका मुखिया, महतौं, गुरुबा, पूजारी, धामीझाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नाइके छनौट गर्छन् । 

थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भनिन्छ । थारु समुदायको महान पर्व भएकाले थारु बाहुल्य क्षेत्रमा स्थानीय र प्रदेश सरकारले सार्वजनिक बिदा दिएका छन् ।

यस्ता पुराना संस्कृति बोकेका महान पर्वहरुलाई संरक्षण तथा सम्बद्र्धन गर्न सार्वजनिक बिदा दिएर मात्र नपुग्ने यसको संरक्षणका लागि विभिन्न सरकारहरुले पनि ठोस योजना बनाएर बचाउन लाग्नेतर्फ ध्यान दिन थारु अगुवाहरुको माग रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय