एमसीसीको रस्साकस्सी र महरा राष्ट्रवादको भ्रूण हत्या

dainikonline
केशरमान बुढाथोकी | पुस २६, २०७६ शनिबार | 0

स्वाभिमान र स्वाधीन नेपालको ढोल बजाउँदै राष्ट्रवादको खोक्रो भाषण गरेर जनताको मन जित्न मात्र लालायित नक्कली राष्ट्रवादी नेता नेपालमा एकसेएक छन् । वास्तवमै राष्ट्रवादी नेताहरु त औंलामा गन्न लायक मात्रै छन् । औंलामा गन्न लायक नेताहरु पनि पहुँच र पावरमा छैनन् । सत्ता र पावरमा पुगेका नेताहरु पनि जनताले अपेक्षा गरेभन्दा विपरीत भएर बिदेशी प्रभुको इशारामा कठपुतली शासन चलाउनु नेपालको अर्को बिडम्बना हो ।

नेपाली जनताले तिर्नुपर्ने करमा जति नै वृद्धि गरेपनि विकाश निर्माण र राष्ट्रिय गौरवका आयोजनाहरुमा नेपाली  नेताहरु बिदेशी डलरभन्दा हुरुक्कै हुने रोग छ ।  यो या त्यो बहानामा विदेशीलाई नेपालमा चलखेल गर्न दिनु स्वाभिमानी नेपाली जनताका लागि असैह्य कुरा हो ।

सरल भाषामा भन्ने हो भने कुनै पनि व्यक्तिले आफू जति नै सम्पन्न भएपनि आफ्नो सम्पत्ति रित्याएर गरिव परिवारलाई सित्तैमा दिन असम्भव छ । त्यस्तो काम मानवका लागि असम्भव नै हो । यदि कसैले दिने नै उदारता देखायो भने पनि त्यो कुनै न कुनै स्वार्थसहित हुन्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ ।

त्यसैले विश्वको सम्पन्नशाली कुनै पनि शक्तिराष्ट्रले विपन्न राष्ट्रलाई सित्तैमा नगद सहयोग गर्ने भन्ने दिवास्वप्न देख्नु मुर्खता हुन्छ । यसैमा झनै मुलुकभर आफ्नो हैकमी शासन सञ्चालन गरेर विश्वलाई आफ्नो पञ्जाभित्र राख्न खोज्ने साम्राज्यवादी मुलुक अमेरिकाले नेपालका लागि ५५ अर्ब रकम अनुदान दियो भनेर अब नेपाल स्वीजरल्याण्ड बनाउँछौं भन्दै आत्मरतिमा रमाउने झुण्ड पनि देखिइरहेका छन् । त्यस्तो आत्मरतिमा रमाउने नेतृत्व नै नेपालको शासन सत्तामा रहनु अर्को ठूलो बिडम्बना हो ।

यतिबेला मुलुक त्यही साम्राज्यवादी अमेरिकाले नेपालका लागि प्रदान गर्ने अनुदान कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले तातिएको छ । वर्तमान सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पनि एमसीसीको विवाद चुलिएको छ । चुलिएको विवाद सडकमै छताछुल्ल पोखिएको छ ।

साम्राज्यवादी मुलुक अमेरिकाको निर्देशनअनुसार एमसीसीलाई सदनबाटै पारित गरेर राष्ट्रिय सवाल बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल अग्रपक्तिमै देखिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र वामदेव गौतम वर्तमान अवस्थामै यसलाई पारित गर्न नसकिने अडानमा देखिन्छन् ।

एमसीसी नेपाल र नेपाली जनताको हितमा छैन र यसलाई संसदमा प्रवेश गर्न दिनुहुन्न भन्ने अडानमा रहेर संसदको प्रस्ताव बनेको एमसीसीलाई सदनको छलफलको विषय नै नभएको ठानेर त्यसलाई लत्याएका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई नैतिक प्रहार गर्दै अकल्पनीय षडयन्त्रको शिकार बनाइयो । 

नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि सहयोगमा सम्झौता गर्न नसकिने अडानमा रहेका तत्कालीन सभामुखले राष्ट्रघाती सहयोग भन्दै यसलाई लत्याए । त्यसपछि सभामुखमाथि नै नैतिक प्रहार गर्दै महराको राष्ट्रवादी छविको भ्रूण हत्या गरेर सदरखोरमा पठाउने डरलाग्दो खेलमा नेपालका ठूला राजनीतिक दल र अमेरिका समेतको भद्र सहमति रहनु राष्ट्रकै लागि घातक हो ।

एमसीसी पारित गराउन नदिने अडानमा रहेका पूर्वसभामुखलाई झ्याइँकुटी पारेर सदरखोरमा पठाएपछि हाल एमसीसी समर्थक सभामुखको खोजी भइरहेको छ । तत्कालीन एमाले र माओवादी एकता भएर नेकपा बनेको सत्तासीन दलभित्र भावी सभामुखमा सहमति हुन नसक्नु एमसीसीकै साइडइफेक्ट भएको कुरा अनुमान गर्न कुनै वाद तथा इजम अध्ययन गर्नुपर्दैन । त्यसै घामजत्तिकै छर्लङ्ग छ ।

पूर्व एनेकपा माओवादीको कोटामा परेकाले सभामुख पूर्व माओवादीकै नेता हुनुपर्ने कार्यकारी अध्यक्ष प्रचण्डको अडानका बीचमा पार्टी एकतापछि ‘पूर्व’ भन्न नहुने भन्दै पूर्व एमालेका नेताहरु यसमा पनि सुवासचन्द्र नेम्वाङलाई सभामुख गराउने र जसरी पनि एमसीसी पारित गराउने चट्टानी अडानमा रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली टस न मस नहुनु प्रधानमन्त्रीको एमसीसी पारित गराउने प्रपन्च मात्र हो । विभिन्न समयमा संसदको जारी अधिवेशनबाट एमसीसीलाई पारित गराउने अभिव्यक्ति दिइरहेका प्रधानमन्त्री ओलीलाई एमसीसी प्रतिष्ठाको बिषय बन्नु नेपालकै लागि घातक हुने प्रायः निश्चित छ ।

पार्टीको स्थायी कमिटी बैठकमा एमसीसीबारे बहस भएर यसको विरूद्धमा नेकपाकै प्रभावशाली नेताहरु उत्रिएपछि स्थायी कमिटीले एमसीसीबारेको निर्णय गर्ने अधिकार पार्टीको सचिवालयलाई दियो । सचिवालयमा पनि बहुमत सचिवालय सदस्यहरु यसको विरुद्धमा भएका बेला प्रधानमन्त्रीले चट्टानी अडान कायम रहनु दुर्भाग्यपूर्ण देखिएको छ ।

त्यस्तै पिठ्यू कन्याउदा पनि सरकारको बिरोधमा उत्रने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि एमसीसीको बिषयमा कुनै प्रतिक्रिया नदिनु राष्ट्रघातको सवालमा अप्राकृतिक गठबन्धन भएको देखिन्छ । त्यतिमात्र होइन कांग्रेसभित्रका अमेरिकी साम्राज्यवादका आसेपासेहरुले एमसीसी पारित गराउन निकै ठूलो मेहनत नै गरिरहेका देखिन्छन् ।

नेपालको हितका लागि समर्पित राष्ट्रवादी नेतृत्वलाई  कपोलकल्पित, भ्रामक तथा झुट्ठा आरोप लगाएर सिध्याउने नेपालको खेल परापूर्वकालदेखि नै चलिआएकै हो । यसको निरन्तरतास्वरूप पछिल्लो समयमा आशालाग्दो नेतृत्व कृष्णबहादुर महरामा भएको राष्ट्रवादको भ्रूणहत्या हो भन्ने कुरा आम सर्वसाधारण जनताले बुझिसकेका छन् । वर्तमान समयमा एमसीसी विवाद राष्ट्रिय सवाल मात्र नभएर अन्तर्राष्ट्रिय सवाल बन्न पुगेको छ ।

नेपालले पनि लगानी गरेर अमेरिकालाई जिम्मा दिने नेपालको अन्तरदेशीय विद्युत प्रसारण लाइन साम्राज्यवादी अमेरिकाको जलस्रोतको धनी नेपालको पानीमा लगाएको गिद्धे दृष्टिी हो भन्ने कुरा आम नेपाली जनताले बुझिसकेका छन् ।
 

केशरमान बुढाथोकी

(बुढाथोकी पत्रकारितामा क्रियाशील छन् ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय