जेलबाहिर ‘प्रतीक्षाको पल’, जेलभित्र ‘परीक्षाको घडी’

dainikonline
दैनिक अनलाइन | पुस २०, २०७६ आइतबार | 0

अम्बिका चन्द ‘सुदृष्टि’

प्रिय सखा
खै किन हो ?
हिजोआज बेचैनीको चुलेसीले
छियाछिया पारेजस्तै लाग्छ हृदय
पर्खाइमा फुलेका फूलहरूलाई
सुनामी आएर हुत्याइदिए जस्तो लाग्छ
जुन दिनदेखि
मेरो हृदयको आँगनीबाट
बैरीहरूले उठाएर लगे तिमीलाई
त्यही दिनबाट
परेली ओभाएका छैनन्
न त सुकेको छ सिरानी
हराएको छ चैन
बढेको छ बेचैनी
रात निदाउँदा पनि
म जागा बसेकी छु
सम्झेर ती अतीतका पल
बेजोडले बल्झिरहेछ
प्रिय सखा,
समयसँग बोलिरहेकी छु
म यतिखेर
समय भन्छ, तिमी मलाई नछोड
सधैँसँगै हिँडौँ
अवश्य आउनेछ तिम्रो कमरेड
उज्यालो उचालेर
बत्तीमुनिको अँध्यारो हटाउन
जसरी कुरिरहेछन्
महासमरमा बेपत्ता पारिएका
योद्धाहरूका आफन्तहरू
तर मलाई भने
तन हराएजस्तो लाग्छ
मन हराएजस्तो लाग्छ
आफैँले आफैँलाई अविश्वासको
डोरीले कसिरहेछ बारबार
कतिन्जेल पर्खाइको बिसौनीमा
कुरी राखूँ हँ ?
प्रिय सखा,
अचेल सधैँ म
हाम्रो प्रेमको निशानीसँग
आँसु लुकाएर रुन्छु
खुसी लुकाएर रुन्छु
हमेसा रुन्छु
कहिले रातसँग
कहिले सिरानीसँग
कहिले तस्वीरसँग
कहिले एकान्तसँग
विश्वास दिलाउँछु तिमीलाई
दुश्मनका कालकोठरीहरूभित्र पनि
नडगोस् क्रान्तिप्रतिको
तिम्रो आस्था र विश्वास
रोएकी छैन म यो समाजसँग
देखाएकी छैन वर्गबैरीसँग
कमजोरीका आँसुहरू
प्रिय सखा,
तिम्रो सम्झनामा सदा
धर्ना दिइरहेछन्
कमजोर नबन भन्दै
तिम्रा सम्झनाहरूले
वर्गचेत भरिरहेछन्
लक्ष्यसँग उनिएको माला
नचुँडाउनू भन्दै
क्रान्ति–प्रेमिल पलहरूले
गरिरहेका छन् खबरदारी
कहिल्यै नडगमगाओस्
विश्वासको सगरमाथा भन्दै
रङ्गीन पलहरूले
हृदयको कुनै कुनाबाट
प्रतीक्षाको बाँध बाँधिरहेका छन्
भनिन्छ प्रतीक्षाको पल मिठो हुन्छ रे !
प्रिय सखा,
तिमीलाई थाहा छ
प्रतीक्षाको पल कति कठिन हुन्छ ?

(२०७६ साउन १७ गते शुक्रबार प्रकाशित रातोखबर साप्ताहिकमा माथिको कविता पढेपछि जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनले लेखेको कविता तल ।)

परीक्षाको घडी
हेमन्तप्रकाश ओली ‘सुदर्शन’

मेरी प्रियसी
मैले ‘रातो खबर’ पढ्दै जाँदा
‘प्रतीक्षाको पल’ पनि पढेँ
तिम्रो प्रतीक्षाको पल 
र मेरो प्रतीक्षाको पल हाम्रो परीक्षाको घडी हो 
यो प्रतीक्षा लामो पनि हुनसक्छ
यो परीक्षा छोटो पनि हुनसक्छ
तिमी साम्यवादको कोरस गाउँदै अघि बढ
म साम्यवादको बाटो अनुसन्धान गर्दै अघि बढछु ।
                लुकिछिपी 
                तिम्रो आँखाभरि डबडबाएका आँसुहरु
                सिर्फ तिम्रा मात्र होइनन्
                मेरा पनि हुन् 
                तिम्रो जस्तै प्रतिक्षाको पल भोगिरहेका
                तिम्रो र मेरो जस्तै प्रतिक्षाको पल भोगिरहेका 
                प्रियतम र प्रियसीहरुका पनि हुन् 
                शहीद प्रियजनहरुका पनि हुन्
                बरु हामी सबै उनीहरुका बीचमा जाऔं
                साम्यवादको कोरस गाउँदै अघि बढौं 
                क्रान्तिको दावानल सल्काउँदै अघि बढौ ।
मेरी प्रियसी
यो पनि जानी राख
हाम्रा भूतपुर्व कमरेडहरु
क्रूर चन्द्र शमशेरको दरबारमा छन्
र, हामीलाई चन्द्र शमशेरको तबेलामा थुनेका छन् । 
महावीर, कुमार, दीपेन्द्र, नीर र कुमारहरु
उनीहरुको कथित मुठभेडमा मारिएका छन्
र, भूतपूर्व कमरेडले घोषणा गरिसके
ती ‘नेपाली नागरिक नै होइनन्’
हामी अनागरिकहरुलाई
जतिसुकै बेला पनि 
आफनो शिकार बनाउन सक्छन्
अथवा गोञ्जालो बनाउन सक्छन्
उनीहरुले घोषणा गरेकै छन्
अतः हाम्रो प्रतीक्षाको पल अमर हुनेछ 
हाम्रो प्रतीक्षाको पल जीवन्त हुनेछ 
हामी जुलुसहरुमा पनि सँगसँगै हुनेछौं
सभाहरुमा पनि सँगसँगै हुनेछौं
रणमैदानमा सँगै आयुध लिएर कुदने छौं
विजयको घोषणासभामा झन सँगै भएर 
विजयको उदघोषण गर्नेछौं
त्यसैले,
मुटु दह्रो बनाऊ मेरी मायालु
हामी छिटै जनताका बीचमा जाऔं
साम्यवादको कोरस गाउँदै अघि बढौं
                    मेरी प्रियसी
                    मलाई थाहा छ
                    प्रतीक्षाको पल अति कठिन हुन्छ
                    हाम्रा प्रेमिल बर्षहरुमा 
                    तिमीसँग एकछिन मिलन नहुँदा 
                    मलाई कस्तो हुन्थ्यो !
                    मसँग तिमी नहुँदा
                    तिमीलाई कस्तो हुन्थ्यो !
                    हामी भुक्तभोगी छौं
                    एकजोडी प्रेमी प्रेमिकाको
                    एक मिनेट प्रतीक्षाको पल
                    एकदिन जस्तो लाग्छ
                    एक दिनभरिको मिलन पनि 
                    एक मिनेट जस्तो लाग्दछ
                    हाम्रो प्रतीक्षालाई
                    महावीर, कुमार र निरका प्रियसीहरुको 
                    प्रतीक्षासँग साट्नुपर्दछ
                    अथवा सम्झनाहरुका प्रेमीहरुको
                    प्रतीक्षासँग साटनुपर्दछ
                    अनि हाम्रो प्रतीक्षाको घडी 
                    धेरै नजिक आउँछ
                    बरु हामीले एउटा प्रतिबद्धताको
                     मैन गाँठो कस्नुपर्दछ
                    हामी हाम्रो मिलनमा 
                    सँगसँगै हुनेछौं 
                    हामी हाम्रो बिछोडमा पनि
                    सँगसँगै हुनेछौं
                    त्यसकारण हामी विकट बाटोमा 
                    साम्यवादको कोरस गाउँदै जाऔं
                    कहिल्यै विचलित नहुने
                    शपथ लिँदै अघि बढौं 
                    किन भने यो परीक्षाको घडी हो ।

                २०७६ साउन ३२ गते, नख्खु कारागार
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय