बीपीका रोचक प्रसंग: चन्द्रलाई जिस्काउँदा सर्वस्व हरण, ऋण लिएर विवाह

dainikonline
विना भट्टराई | पुस १६, २०७६ बुधबार | 0

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला(बीपी कोइराला) को योगदानको जति चर्चा गर्दा पनि कमै हुन्छ। देश र जनताप्रति राख्नुभएको प्रेम र सद्भावका कारण उहाँले कठोर संघर्ष गर्नु परेको थियो। त्यो भावना उहाँमा बाल्यकालदेखि नै देखापरेको थियो।


दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन मृत्युदण्डको मुद्दालाई समेत वेवास्ता गर्दै मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनु भएको थियो। त्यही दिनको सम्झनामा आज अर्थात पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइन्छ। मेलमिलाप दिवस मनाउने गरिएपनि पछिल्लो चरणमा उहाँको सिद्धान्त पार्टीमा लागु हुन सकेको छैन्। उहाँले नै स्थापना गर्नुभएको नेपाली कांग्रेस पनि गुट उपगुटका कारण आन्तरिक विवादमै अलमल देखिएको छ। पार्टीमै मेलमिलापको सिद्धान्त लागु गर्न नसक्ने कांग्रेसले कसरी मुलुकको सार्वभौम सत्ताका बारेमा काम गर्न सक्ला भन्ने प्रश्न आम जनताले उठाएका छन्। मुलुकको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डालाई जोगाइराख्न बिपीको सिद्धान्त अहिले पनि उत्तिकै अपरिहार्य देखिन्छ। 

बाल्यकालदेखि नै जनता र देशका बारेमा सोच्ने बिपीको जीवन भोगाई निकै रोचक र संघर्षमय रहेको थियो। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका सन्दर्भमा बीपीका रोचक प्रसंगका बारेमा आज हामीले केही चर्चा गर्न थालेका छौँ।   

चुडामणीबाट बीपी कोइराला
कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाले बीपीलाई जन्म दिनुभएको हो। बिंस. १९७१ साल भदौ महिलामा वनारसमा बीबीको जन्म भएको थियो। उहाँको न्वारनको नाम चुडामणी थियो। तर कालीदासलाई यो नाम चित्त नबुझेपछि उहाँले नै विश्वेश्वर प्रसाद भनेर बोलाउन थाल्नुभयो। पछि त्यही नामबाट उहाँ प्रख्यात बन्नुभयो।

बीपीको एक गल्तीले कोइराला परिवारको सर्वस्व हरण
विश्वेश्वर प्रसादको परिवार चन्द्रगञ्जमा बस्दै आएको थियो। त्यो बेला बीपीले यस्तो काम गर्नुभयो, जसका कारण कोइराला परिवारकै सर्वस्व हरण भएको थियो। त्यो बेला देशका जनताको अवस्था निकै दयनिय थियो । राणाकालमा जनतालाई बोल्न समेत प्रतिवन्ध लगाइएको थियो। तर बीपीलाई त्यस्तो कुराले कुनै फरक पर्दैन् थियो। उहाँले तत्कालिन समयमा देशका जनताको अवस्था कस्तो छ भनेर जानकारी गराउन चन्द्र शम्शेरलाई ढाक्रेका जुम्रे लुगा पार्सल गरेर पठाउनु भएको थियो। बीपीले पठाएको त्यस्तो पार्सल पाएपछि आक्रोशित बनेको राणा सरकारले कोइराला परिवारकै सर्वस्व हरण गरेको थियो । बीपीको त्यस्तो हर्कत थाहा पाएपछि कृष्णप्रसाले चन्द्रको कारबाहीबाट बचाउन उहाँलाई भारत लैजानुभयोे। त्यो बेला कोइराला परिवार सर्बहारा हुनुपर्यो भने ११ वर्षकै उमेरमा बीपी देश छोडेर भाग्नु पर्ने अवस्था आयो। 

पैसा नहुँदा बेहोस् नबनाइ शल्यक्रिया
११ वर्षकै उमेरमा देश छोडेर भारत पसेपछि बीपीको बाल्यकाल निकै कष्टपूर्ण बन्यो। भारतको बसाई पनि स्थिर हुन नसक्दा उहाँ कहिले बनारस, कहिले कलकत्ता कहिले वेतीयाजस्ता ठाउँमा चक्कर काट्नु पर्यो। त्यो बेला राम्रोसँग खान पनि धौँ धौँ पथ्र्यो। जसका कारण उहाँको शरीरमा घाउ खटिराको समस्या देखियो। परिवार निकै दयनिय अवस्थामा भएका कारण उनीहरुसँग उपचारका लागि पर्याप्त पैसा थिएन। तर उपचार गर्दै पर्दथ्यो। त्यसैले शरीरमा आएको घाउ काट्ने बेलामा बेहोस् बनाउने औषधि क्लेरोफर्म किन्ने पैसा नहुँदा उहाँको बेहोस् नै नबनाइ शल्यक्रिया गराइएको थियो। त्यो बेला बीपीलाई देखेर चिकित्सकले आश्चर्य मान्दै भनेका थिए, यस्तो सहनशील बालक आजसम्म देखेकै थिएनौँ। 

चन्द्र शम्शेरको मृत्युपछि बिपी परिवार नेपालमा 
कोइराला परिवार सुरुमा आर्थिक रुपले सम्पन्नशाली नै थिए। तर चन्द्र शम्शेरसँग भएको विवादका कारण विदेशी भूमिमा सर्वहारा बन्नु पर्यो। त्यस बेला जबसम्म चन्द्रशमशेर जीवित रहे तबसम्म कोइराला परिवारको आर्थिक अवस्था कष्टकर बन्यो। भारतमा बस्दा सबैले पीठो घोलेर खोले खाएर बाँचेको बताइन्छ। पेट पाल्नका लागि पत्रिका बेच्नु परेको थियो। चन्द्र शम्शेरको मृत्यु भएर भीम शम्शेर मन्त्री बनेपछि बीपी परिवार नेपाल फर्किएको थियो।  नेपाल फर्किएर पुनः व्यापारमा लागेपछि परिवारको अवस्था सुध्रिदै गएको थियो। बाल्यकालमा कष्टकर जीवन विताउनु परेकाले बीपी सहनशील र साहसी व्यक्तित्वमा रुपमा चिनिनुहुन्छ। 

ऋण मागेर विवाह
बीपीको जीवन जति सामान्य र संघर्षपूर्ण थियो, त्यस्तै बिवाह पनि जटिलरुपमा सम्पन्न भयो। उहाँले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग विवाह गर्नुभएको थियो। विवाह गर्दा उहाँको आर्थिक अवस्था निकै कमजोर भएका कारण चारपाँच सय रुपैयाँ ऋण लिएर विवाह गर्नुपरेको थियो। उहाँले विवाहका लागि साथी देवेन्द्रसँग ऋण लिएको कुरा सदानन्द अभागीको “विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य” कृतिमा उल्लेख गरिएको छ। बीपीको विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन्। तर उहाँहरुको दाम्पत्व जीवन सुखमय रह्यो। उहाँका तीन छोरा र दुई छोरी जन्मे । छोराहरूमा प्रकाश, श्रीहर्ष र शशाङ्क हुनुहुन्थ्यो भने छोरी एकको मृत्यु भएको र एक छोरी जीवित रहनुभएको थियो। 

बिपी पहिले आतङ्कवादका रुपमा प्रस्तुत  
बिपीको राजनीति सुरुवात पहिले आतङ्कवादका रुपमा देखिएको छ। उहाँ वेतियामा भएको हत्या हिंसा र डकैतीको मुद्दामा चार महिना थुनामा बस्नु परेको थियो। उहाँको मोतीहारीको डकैतीको मुद्दामा पनि नाम मुच्छिएको थियो । तर त्यसमा उहाँको सहभागिता नभएका कारण सफाइ पाउनुभएको थियो। उहाँको राजनीति प्रभाव पहिले माक्र्सवादमा परेको थियो। उहाँ मुंबई गएर माक्र्सवादका कृतिहरूको अध्ययन पनि गर्नुभएको थियो । तर कृष्णप्रसाद कांग्रेसी संस्थामा आवद्ध भएका कारण राजनीतिमा बाबुको छाप बीपीमा परेको थियो। 

भारतमा स्वतन्त्रताको आन्दोलन चर्किएका बेला बीपी धेरै पटक जेल पर्नुभएको थियो। भारत स्वतन्त्र भएपछि त्यसको प्रभाव छिमेकी देशमा पनि परेको थियो। नेपालमा पनि राणाले गरेको अत्यचारबाट नेपाली जनता मुक्त हुन चाहान्थे । त्यसमा जनतालाई बीपीले साथ दिनुभयो । त्यसपछि राणा शासन फालेर प्रजातन्त्रको घोषणा भयो। प्रजातन्त्र घोषणा भएपछि बनेको मन्त्रीमण्डलमा बीपी गृहमन्त्री बन्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय