पार्टी र प्रेस संगठनबीचको अन्तरसम्बन्ध तथा साझा कार्यभार

dainikonline
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ | पुस १३, २०७६ आइतबार | 0

हामी तपाईहरुलाई पर्चाकार बनाउन चाहन्नौं । पत्रकारै बनाउन चाहन्छौं । यो कुरामा तपाईहरु स्पष्ट हुनुहोस् । हामी तपाईहरुलाई पत्रकार बन्नकै लागि प्रोत्साहित गर्न चाहन्छौं, पर्चाकार होइन । तर, साथसाथै हामी तपाईंहरुलाई अराजक पनि हुन दिँदैनौं । यही हो आजको भेलाको सारतत्व ।

तपाईंहरु पत्रकार नै हुनुहुन्छ । पत्रकारकै रुपमा तपाईंहरुलाई विकसित गर्न चाहन्छौं, पत्रकारको तर्फबाट तपाईंहरुले एक मोर्चामार्फत यो देशको, यो शान्ति प्रक्रियाको, यो समाजको र सिङ्गै कम्युनिष्ट आन्दोलनको सेवा गर्ने प्रक्रियामा आफूलाई सामेल गर्नुहुन्छ तर पार्टीसँग सम्बन्धित पत्रकार भएको कारणले तपाईंहरु अराजक हुन चाहिँ पाउनु हुन्न । यसको सीमा छ । यो दुईवटाको द्वन्द्ववादलाई ठिक ढङ्गले बुझेर तपाईंहरु अगाडि बढ्नु हुनेछ भन्ने मैले आशा गरेको छु र विशेष अपील पनि गर्न चाहन्छु ।

तपाईंहरु पार्टीभित्रको कुनै गुट, उपगुट, कुनै नेता विशेषको पछि लाग्नुको कुनै अर्थ छैन । हाम्रो एकीकृत पार्टीको श्रद्धेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । आज पूर्वसमूहको आधारमा, पूर्वसमूहभित्रको कुनै गुटको आधारमा वा दुईवटा पूर्वसमूहभित्रका कुनै गुटहरु मिलेर नयाँ समीकरणको गुट बनाएको आधारमा प्रोपोगाण्डा मेशिन सञ्चालन गर्छौं भने हामीले आजको भूमिका ठिक ढङ्गले निर्वाह गर्न सक्दैनौं । त्यसकारण तपाईंहरु त्योभन्दा बाहिर रहनुस् । कुनै नेता विशेषको दब्बु बनेर, प्रशस्ती गाएर वा कुनै नेता विशेषलाई खेदेर वा हाम्रो पार्टी र सरकारका सकारात्मक कामहरुलाई आत्मसात गर्नुको सट्टा त्यसको विरुद्धमा निषेधकारी ढङ्गले प्रोपोगाण्डा गरेर हामीले आफ्नो आजको कर्तव्य निर्वाह गर्न सक्दैनौं । यो कुरामा तपाईंहरु गम्भीर हुन जरुरी छ । मलाई त कहिलेकाहीँ पीडा पनि हुन्छ । लज्जित पनि हुन्छु । बैठकको कुरा सोध्दाखेरि हाम्रै साथीहरुले सोध्नुहुन्छ, ‘कमरेड, यो त औपचारिक कुरा भयो । यो ठिकै छ । तपाईंले मिडिया ब्रिफिङमा पनि भनिसक्नु भयो । अफ द रेकर्ड क्या कमरेड अफ द रेकर्ड ! त्यहाँको गोप्य कुरा भन्दिनुस्’ भनेर हाम्रै कार्यकर्ताले भन्नुहुन्छ । नेता कस्तो बनाउने ? ‘बाहिर चाहिँ मैले भनेको नभन्दिनुस् तर बाहिर लगिदिनुस्’ भन्ने हाम्रो नैतिकता राम्रो हुन्छ ? अर्को कुनचाहिँ नेताले भन्दिन्छ अनि त्यसपछि रिसाउनु हुन्छ । ‘तपाईंले नभनेर हुन्छ ? सबैले भन्दिन्छन्’ भन्नुहुन्छ । त्यसकारणले हामीले समग्रमा नयाँ दिशातर्फ जानका लागि संकल्प गर्नुपर्ने आवश्यकता छ । त्यसैले म तपाईंहरुसँग तीन÷चारवटा कुरा अपील गर्न चाहन्छु ।

पहिलो कुरा, क्रान्तिकारी पत्रकार हुनलाई र आजको हाम्रो पार्टीसँग सम्बद्ध सञ्चारकर्मी हुनलाई पहिलो शर्त हो, तपाईंहरु माक्र्सवादी हुनुहुन्छ । आजको माक्र्सवाद भनेको विज्ञानको क्षेत्रमा क्वान्टम मेकानिज्मलाई पनि आत्मसात गरेको माक्र्सवाद हो । आजको माक्र्सवाद भनेको मोडर्न पूँजीवादको माक्र्सवाद हो । आजको माक्र्सवाद भनेको सूचनाप्रविधिको असाधारण विकास भएको एउटा चिप्सभित्र सारा संसार अन्तक्र्रियारत रहेको बेलाको माक्र्सवाद हो । आजको माक्र्सवाद भनेको उत्पादन प्रविधिको असाधारण विकासको प्रक्रिया रोबोटिकको बेलाको माक्र्सवाद हो । आजको माक्र्सवाद भनेको क्लाइमेट क्राइसिसले, पूँजीवादले उत्पन्न गरेको क्लाइमेट क्राइसिसको कारणले गर्दा सिङ्गो पृथ्वी र मानवजातिमाथि चुनौती र संकट उत्पन्न भएको बेलाको माक्र्सवाद हो । त्यो माक्र्सवादलाई ग्रहण नगरिकन कोही पनि सच्चा माक्र्सवादी र सच्चा माक्र्सवादी पत्रकार पनि हुन सक्दैन । त्यसकारणले यसलाई कति गहिरोसँग आत्मसात गर्ने त ? कम्युनिष्ट पार्टीका नेताहरु, कार्यकर्ताहरु सबैको आआफ्नो तह हुन्छ । तर, साधारणतया आजको माक्र्सवाद, आज पनि माक्र्सवाद र समाजवाद नै सही छ भन्ने प्रमाणित गरेको कुरा नपक्रिकन, त्यसलाई आत्मसात नगरिकन आज सच्चा क्रान्तिकारी पत्रकार चाहिँ हुन सकिँदैन । त्यसकारण तपाईंहरुले पहिलो रक्षा माक्र्सवादको गर्नुपर्छ । पहिलो रक्षा तपाईंहरुले विचारधाराको गर्नुपर्छ । पहिलो रक्षा समाजवादको गर्नुपर्छ । त्यसकारण आज क्रान्तिकारी पत्रकार हुने र प्रेस संगठनसँग सम्बद्ध पत्रकार हुने हो भने तपाईंहरुले माक्र्सवादको रक्षा, विचारधाराको रक्षा, समाजवादको रक्षा नगरिकन हाम्रो पार्टीसँग सम्बद्ध प्रेस संगठनसँग सम्बद्ध पत्रकारको कोटीमा तपाईहरु आउन सक्नुहुन्न । त्यसको रक्षामा तपाईंहरुले कति भूमिका निर्वाह गर्नुभयो ? तात्कालिक कुराहरुलाई ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्ने कुरालाई हामी प्राथमिकता दिन्छौं स्वाभाविकरुपमा । तर, त्यसको पछाडि रहेको दृष्टिकोण, विचारधारा, सिद्धान्तको लडाइँ विश्वसँग नेपालको कम्युनिष्ट आन्दोलनले गरिरहेको छ । त्यसमा हामी कसरी प्रतिकार गर्छौं ? कसरी रक्षा गर्छौं ? भन्नेबारेमा सही ढङ्गले माक्र्सवादी नभईकन गर्न सकिँदैन । आज तपाईहरुले थोरैमात्र हेर्नुभयो भने पनि विश्वमा पूँजीवाद र साम्राज्यवादी मुलुकहरुमा त्यहींभित्र लोकतन्त्रको बहस यसरी अगाडि बढिरहेको छ कि त्यसले समाजलाई मुक्ति दिने त कुरा छोड्नुस्, लोकतन्त्र पनि यो ढङ्गको हुँदैन भनेर अमेरिका र ब्रिटेन जो आफूलाई प्रजातान्त्रिक लोकतन्त्रको नमूना भन्ने देशहरुमा ठूलो बहस छ अहिले । त्यो बहस तपाईंहरुले यहाँ भित्राउनु पर्यो । आज अमेरिका र युरोपमा विशेषतः ब्रिटेनमा भइरहेको बहस इलेक्टोरर सिस्टम ठिक छैन, यो डेमोक्रेसीले काम पनि गर्दैन भनेर ठूलो बहस अमेरिका र ब्रिटेनको वरिपरि भइरहेको छ । आज क्लाइमेट क्राइसिसको सन्दर्भमा विश्वव्यापीरुपमा मान्यता स्थापित भएको छ । यो क्लाइमेट क्राइसिस जसले पृथ्वीको अस्तित्वमाथि र मानवजातिको भविष्यमाथि संकट उत्पन्न गरेको छ । पूँजीवादमा यो समाधानै हुनसक्दैन । यो पूँजीवाद रहँदासम्म यसको समाधान हुँदैन र मानवजातिको नष्ट र ध्वंश अनिवार्य छ भन्ने कुरा विश्वव्यापीरुपमा स्थापित हुँदै गइरहेको छ । यो सबै सन्दर्भमा माक्र्सवादलाई रक्षा गर्ने, त्यसको प्रचारप्रसार गर्ने दायित्वलाई आफ्नो काँधमा लिनु परेको छ । त्यसको मुख्य काम पार्टीको हो तर पार्टीले कसमार्फत त्यो काम गर्ने ? आफ्नो बौद्धिक मोर्चाहरुमार्फत गर्छ । बौद्धिक मोर्चाको असाध्यै सशक्त र प्रभावकारी मोर्चा सञ्चार मोर्चा हो । तपाईंहरुले योचाहिँ हाम्रो काम होइन भन्न मिल्दैन । तपाईंहरु यसप्रति पनि गम्भीर हुनुपर्छ । 

दोस्रो कुरा, नेपालमा अहिले कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोग भइरहेको छ । विश्वले सकारात्मक र नकारात्मक दुबै कोणबाट नेपालमा भइरहेको प्रयोगलाई हेरिरहेको छ । नेपालमा क्रान्तिको बाटोको हिसावले मौलिक बाटोको अवलम्बन गरेर, लोकतन्त्रको हिसावले लोकतन्त्रको मौलिक मूल्यको स्थापना गरेर एक्काइसौं शताव्दीमा नेपालको विशेषताको समाजवादको मोडेल विकसित गर्दै समाजवादको यात्रामा अगाडि बढिरहेको अवस्थामा हाम्रो नेपाल छ । अहिले यो विषयमा विश्वका सबै कम्युनिष्टहरु, वामपन्थीहरु, समाजवादीहरु, श्रमजीवीहरु, साम्राज्यवाद विरोधीहरु, न्यायप्रेमीहरु, प्रगतिशील शक्तिहरु नेपालको यो प्रयोग सफल हुन्छ कि त भनेर आशाको नजरले हेरिरहेका छन् । अर्कोतिर विश्वभरका साम्राज्यवादी र प्रतिक्रियावादीहरु यो मोडेल सफल भयो भने संसारले नै एउटा नयाँ मोडेल प्राप्त गर्ने खतरा छ । त्यसकारणले यसलाई सफल हुन दिनुहुन्न भनेर बडो गम्भीरतापूर्वक चासो लिएर यसलाई कसरी सफल हुन नदिने भनेर हेरिरहेको छ । आजको हाम्रो कार्यभार भनेको यो मोडेलको जो प्रयोग भइरहेको छ नेपालमा क्रान्तिको, त्यसलाई सफल पार्नुछ । त्यो भनेको के हो भने हामीले बाटोको हिसावले पनि मौलिक बाटोको अवलम्बन गर्यौं । सशस्त्र संघर्षबाट मात्रै पनि क्रान्ति सम्पन्न गरेनौं । हामीले आजको अवस्थासम्म आइपुग्न जनआन्दोलनबाट मात्रै पनि सकेनौं । सशस्त्र संघर्ष र जनआन्दोलन अन्ततः त्यो जनआन्दोलनमा विकसित भएर नेपालको क्रान्तिप्रक्रिया सम्पन्न भयो । त्यो शान्तिप्रक्रिया र संविधानसभाको निर्वाचन हुँदै संविधानसभाबाट संविधान बनाउँदै र संविधानबाट नै गणतन्त्रको घोषणा गरेर परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई स्थापना गर्यौं । यसलाई हाम्रो पार्टीले एकप्रकारको जनताको जनवाद नै हो र समाजवादउन्मुख जनताको जनवादतर्फ अगाडि बढिरहेको छ । यो नयाँ प्रकारको लोकतन्त्र, यो परम्परागत संसदीय गणतन्त्र होइन । बहुदलीय प्रतिष्पर्धामा गएपछि हाम्रा सबै साथीहरु के भन्छन् भने हामी त पूँजीवादी संसदवादमै छौं भन्छन् । त्यस्तो होइन । हामीले बहुदलीय प्रतिष्पर्धालाई मानेका हौं, पूँजीवादलाई होइन । हामीले जनमुखी बहुदलीय व्यवस्थालाई मानेका हौं, पूँजीवादी संसदीय व्यवस्थालाई होइन । त्यसकारण हामी नयाँ प्रकारको मोडेलसहित अगाडि बढिरहेका छौं जो परम्परागत संसदीय गणतन्त्र होइन जो हामीले पहिले चीन, कोरिया, भियतनाम, क्युबामा स्थापित गरेको मजदूर वर्गको पार्टीको एकल नेतृत्वमा क्रान्ति सम्पन्न गरेर राज्यसत्ताका सबै संयन्त्रहरु एकैचोटी क्रान्तिकारीकरण भएर कम्युनिष्ट पार्टीको नेतृत्वको अधिपत्य स्थापित भएको राज्यसत्ता र समाजव्यवस्था पनि यो होइन । नयाँ मोडेलको लोकतन्त्रको अभ्यास हामी गरिरहेका छौं जसलाई संविधानले समाजवादउन्मुख समावेशी लोकतन्त्र भनेको छ । हाम्रो पार्टीले यसलाई एकप्रकारले जनताको जनवाद नै हो भनेको छ । यसलाई अझ विशिष्टीकृत गरेर हामीले भनेका छौं, यो समाजवादउन्मुख जनताको जनवाद हो । यो प्रयोगलाई सफलताको दिशातिर अगाडि लैजानु आजको हाम्रो केन्द्रीय कार्यभार हो । यो प्रयोगमा हामीले मौलिक बाटोको मात्रै कुरा गरेनौं । आजको अन्तर्वस्तुको हिसावले लोकतन्त्रको मौलिक मोडेलको पनि कुरा गरिरहेका छौं जहाँ बहुदलीय प्रतिष्पर्धालाई यसको अत्यन्तै अभिन्न अंगको रुपमा आत्मसात गरेका छौं । विश्वमा नेपालको कम्युनिष्ट पार्टी बहुदलीय प्रतिष्पर्धाको बाटोबाट यो स्तरको सरकार सञ्चालन गर्ने सबभन्दा ठूलो कम्युनिष्ट पार्टी हो । त्यो गर्व हामीलाई छ ।

चीनको कम्युनिष्ट पार्टी विश्वकै सबभन्दा ठूलो कम्युनिष्ट पार्टी हो । त्यस्तै, अरु देशहरुमा पनि कम्युनिष्ट पार्टीहरु छन्, जो हामीभन्दा ठूला छन् । थुप्रै पार्टीहरु सत्तामा पनि छन् तर तिनीहरु सत्तामा गएको, पार्टी निर्माण गरेको अर्कै विधि छ । हाम्रो विधिबाट होइन । हामी आज बहुदलीय प्रतिष्पर्धाको बाटोबाट अघि बढिरहेका छौं । हाम्रो आजको लोकतन्त्रमा पनि बहुदलीय प्रतिष्पर्धा छ र भोलि समाजवादमा पनि लोकतान्त्रिक यो प्रणालीलाई हामीले अंगीकार गर्छौं भनेका छौं । यो बाटोबाट तीन तहको सरकार सञ्चालन गर्ने यो हैसियतको पार्टी विश्वमा सबैभन्दा ठूलो पार्टी हाम्रो नै हो । अर्कोमात्रै एउटा पार्टी छ अहिले विश्वमा । उसले कम्युनिष्ट पार्टी र माक्र्सवाद लेनिनवादकै नामबाट चुनाव लडेको हो । त्यो हो, निकारागुवाको पार्टी । अन्यत्र कहीं पनि छैन । बोलिभियामा लेफ्ट पार्टी थियो– लेबर पार्टी । ऊ सत्ताच्यूत भयो अहिले । भेनेजुयलामा सोसलिष्ट पार्टीको नाममा छ । उसले माक्र्सवादी लेनिनवादी भनेर सिधै आफूलाई भन्दैन तर पूँजीवादविरुद्ध समाजवादको पक्षमा छ । त्यसकारण हामी त नयाँ प्रयोग गरिरहेका छौं अहिले । यो नयाँ प्रयोग हाम्रै मौलिकतामा अगाडि बढिरहेको छ र माक्र्सवाद लेनिनवादको सार्वभौम सत्यलाई नेपालको विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै अगाडि बढिरहेका छौं । यसलाई सफल पार्नु र सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक लक्ष्य पूरा गर्नु, समाजवादको आधार तयार पार्नु, समाजवादको लक्ष्यमा पुग्नु र समाजवादी समाज निर्माण गर्नु हाम्रो तात्कालीक रणनीतिक कार्यभार हो । त्यसकारण यो कुरालाई नपक्रेर कोही पनि हाम्रो पार्टीको नेताा, कार्यकर्ता, सदस्य र यो कुरालाई नबुझेर प्रचार विभागको सक्रिय कार्यकर्ता त हुनै सक्दैन । 

हाम्रा साथीहरु छ्यालब्याल देख्छु म । हाम्रो पार्टीको लाइन के हो भन्दा कसैले समाजवाद भनेको छ, कसैले जनताको जनवाद भन्छ, कोही चाहिँ जनताको बहुदलीय जनवाद भन्ने केही छैन यसमा भनेर बुझेको छ । यी सबै कुरा गलत हुन् । हाम्रो पार्टीले अहिले के भनेको छ भने कार्यदिशाको बारेमा तपाईंहरुसँग छुट्टै शत्रमा छलफल गर्नेछु तपाईंहरु सबै भए पनि नभए पनि । तपाईंहरुबिना, प्रचारको मोर्चाका साथीहरुले हाम्रो पार्टीले अहिले अवलम्बन गरेको कार्यदिशा के हो भन्ने नबुझिकन समाजमा हाम्रो कार्यदिशालाई स्थापित गर्ने र कार्यदिशा क्रियान्वयनको प्रक्रियालाई सहज वातावरण बनाउने काम पूरा गर्न सक्दैनौं । त्यसकारण त्यसैमा मात्रै केन्द्रित भएर म अर्को छलफल आयोजना गर्दैछु । म हाम्रो फाँटका मोर्चा संगठनका इन्चार्ज र संयोजकहरुसँग सल्लाह गरेर केन्द्रीय रुपमा वा प्रदेशगतरुपमा त्यसप्रकारको कार्यक्रम आयोजना गर्ने र त्यही विषयमा मात्र केन्द्रित गर्ने र त्यसलाई प्रचार मोर्चाले कसरी काम गर्ने भनेर हामी छलफल गर्दैछौं । र, अहिले मैले भन्न खोजेको दोस्रो कार्यभार चाहिँ नेपालको यो प्रयोग, नेपालको यो नवीनतम प्रयोग जो कम्युनिष्टहरुको निम्ति विशिष्ट प्रयोग हो । यसलाई सफल पार्नु र तात्कालिकरुपमा सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य, रणनीतिकरुपमा समाजवादको लक्ष्य पूरा गर्ने दिशामा अगाडि जानुपर्छ । आजका हाम्रा केन्द्रीय कार्यभार यिनै हुन् । यसको निम्ति प्रचार मोर्चाका साथीहरुले काम गर्नुपर्छ ।

तपाईंहरुसँग मैले भन्न खोेजेको तेस्रो कुरा के हो भने यो कार्यदिशालाई कार्यान्वयन गर्ने वा यो कार्यभारलाई पूरा गर्नका लागि हामीले अहिले के गरिरहेका छौं त ? यसका लागि हामीले ५ वटा काम गरेर अगाडि जान खोज्दैछौं । सबभन्दा पहिले त हाम्रो पार्टी संगठनलाई, पार्टीसँग सम्बन्धित सबै संगठनहरुलाई एकीकृत गरिसक्ने र त्यसपछि सबै पार्टी संगठनहरुलाई क्रियाशील बनाउने, पूरै गतिवान बनाउने, पूरै सक्रिय बनाउने हाम्रो पहिलो काम हो । किनभने यो लक्ष्य पूरा गर्नका निम्ति हामीले हाम्रो संगठनको एकीकरण नै पूरा गरेनौं र एकीकृत संगठनलाई पूरै प्रभावकारी ढंगले क्रियाशील बनाउन सकेनौं भने हाम्रो लक्ष्य पूरा गर्न नेतृत्वदायी भूमिका हाम्रो पार्टी र संगठनले पूरा गर्न सक्दैनन् । हाम्रो पार्टीले घोषणा गरेको छ कि मूलभूतरुपमा साङ्गठानिक एकता सकियो तर केही बाँकी छन् । विभागहरु, आयोगहरु, सल्लाहकार कमिटीहरु, जनवर्गीय संगठनका केन्द्रीय कमिटीहरु १५ दिनभित्रमा साङ्गठानिक एकीकरणका सम्पूर्ण कामहरु पूरा गर्छौं । त्यसपछि हाम्रा एकीकृत पार्टीका सबै संरचनाहरु पूरै क्रियाशील बनाउँछौं, सक्रिय बनाउँछौं, गतिवान बनाउँछौं । विधि र पद्धतिमा गतिवान बनाउँछौं । गुटवन्दीलाई निरुत्साहित गर्दै, नियन्त्रित गर्दै, निषेध गर्ने ठाउँमा लैजाने गरी हामी अगाडि बढ्ने छौं । त्यसकारण पहिलो काम यो गर्छौं संगठनको सन्दर्भमा । 

दोस्रो, हाम्रो पार्टीको विचार र राजनीतिलाई सिङ्गै पार्टीमा एकरुप समझदारीको विकास हुनेगरी, एकरुप समझदारीलाई ग्रहण गर्दै त्यसलाई क्रियान्वयनका लागि लैजाने गरी प्रशिक्षित गर्ने काम गर्दैछौं सिङ्गै पार्टीलाई । कसैलाई लागेको छ– हाम्रो माओवाद खै ? कसैलाई लागेको छ– हाम्रो एक्काइसौं शताव्दीको जनवाद खै ? कसैलाई लागेको छ– जनताको बहुदलीय जनवाद खोई त ? नेपालको मौलिकतामा क्रान्तिको सिद्धान्त भनेर स्थापित भइसकेको थियो, त्यो खोई भन्ने लागेको छ । त्यसपछि अहिलेको राजनीतिक कार्यदिशा के भन्दा जनताको जनवाद हो भन्छ । कोही चाहिँ समाजवाद हो भन्छ । रनभुल्लमा । हामीले अहिले एकदमै सेटमा राखेका छौं । अहिले माक्र्सवाद, लेनिनवाद हो । हामीले माओवाद, एक्काइसौं शताव्दीको जनवाद, जनताको बहुदलीय जनवादलाई महाधिवेशन नभएसम्मका लागि थाँती राखेका छौं तर त्यसमाथिको छलफल अन्त्य भएको छैन । त्यसलाई बहस र छलफल गर्दै हामी महाधिवेशनसम्म पुग्दा एउटा सामूहिक निष्कर्षमा पुग्नेछौं । त्यो निष्कर्षमा पुग्ने बेलामा हामी पूर्व पार्टीका कार्यकर्ता भएर छलफल गर्ने छैनौं । पूर्व पार्टीका नेताहरु भएर छलफल गर्ने छैनौं । एउटा एकीकृत पार्टीको क्रान्तिकारी भएर क्रान्तिकारी दृष्टिकोणका आधारमा छलफल गर्नेछौं र सही निष्कर्ष निकाल्ने छौं र त्यसलाई आत्मसात गर्दै अगाडि बढ्ने छौं । त्यसमाथि पनि अहिले हामी जनताको बहुदलीय जनवाद वा एक्काइसौं शताव्दीको जनवादबारे कुरा गर्दा तपाईंहरुले बुझ्नुपर्ने कुरा छ । त्यसका तीनवटा गुदी कुरालाई हाम्रो विचारधाराले, हाम्रो पथप्रदर्शक सिद्धान्तले अहिले पनि आत्मसात गरेको छ । त्यसकारण जनताको बहुदलीय जनवादलाई सिद्धान्त र कार्यक्रममा नराखेको वा एक्काइसौं शताव्दीको जनवादको विकासको कुरालाई अहिले हामीले अंगीकार नगरेको अर्थ त्यसको साझा गुदी या अन्तर्वस्तुलाई स्वीकार नगरेको हो त ? होइन । त्यसमा मुख्य कुरा के हो भने हामीले प्रतिक्रान्तिका शिक्षाहरु लिने सन्दर्भमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विशेषतः शोभियत संघमा समाजवादको पतन र शोभियत संघको विघटन भएपछि, पूर्वी युरोपका मुलुकहरुमा समाजवादको विघटन भइसकेपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे जो अध्ययनको प्रक्रिया अगाडि बढ्यो, त्यो सन्दर्भमा निकालिएको निष्कर्षलाई आत्मसात गर्ने कुरामा हामी एकै ठाउँमा छौं । सबै कमरेडहरुले यो कुरा बुझिदिनु होला । जनताको बहुदलीय जनवादले कमरेड मदन भण्डारीमार्फत के कुरा अगाडि सार्यो भने किन प्रतिक्रान्ति भयो त ? त्यसको आत्मगत कारण के छ ? किन समाजवादी सत्ताहरु उल्टिए ? पछि एक्काइसौं शताव्दीमा जनवादको विकासबारे छलफल गर्दा पनि त्यही प्रश्न आयो । किन त ? कुनै क्रान्ति हाम्रा कमजोरीबिना कम्युनिष्ट क्रान्तिकारीहरुका क्रान्तिकारी सत्ताको प्रयोगको कमजोरीबिना त्यसै उल्टियो त ? त्यसै प्रतिक्रान्ति भयो त ? प्रतिक्रान्तिका कारण के हुन्छन् ? तिनलाई सच्याउनुपर्छ भन्ने सन्दर्भमा जनताको बहुदलीय जनवाद प्रस्तावित गर्दा कमरेड मदन भण्डारीले के भन्नुभयो भने मुख्य कमजोरी जनताको जनवादको अभ्यासमा हुन्छ । त्यो तीनवटा क्षेत्रमा भयो । एउटा अन्तरपार्टी जनवादमा कमजोरी भयो । दोस्रो, आमजनतामा वाक, प्रकाशन, संगठन, अभिव्यक्ति स्वतन्त्रतामा ग्यारेण्टी गर्यो कम्युनिष्ट नेतृत्वको समाजवादी सत्ताले संविधानतः तर व्यवहारमा कुण्ठित भयो र तेस्रो र मुख्य कुरा, सत्ता सञ्चालनमा आमजनताको प्रत्यक्ष सहभागिता संस्थागत गर्नु वस्तुगत प्रणाली हुन्थ्यो तर त्यो भएन । पहिले शोभियत प्रणाली भनियो । शोभियत संघलाई डमी समेतमा परिणत गरियो । पछि सबै कुरा पार्टीले गर्यो, पार्टीभित्र डेमोक्रेसी भएन, नेताले गर्यो, नेतामा पनि महासचिवले गर्यो र सिद्धियो । यसरी प्रतिक्रान्ति भयो । त्यसकारणले करेक्सन गर्ने भनेको पनि तीनवटै क्षेत्रमा पार्टीभित्र जनवाद, आमजनताको क्षेत्रमा जनवाद, राज्य सञ्चालनको क्षेत्रमा आमजनताको सहभागिताको वस्तुगत प्रणाली हुनुपर्छ । जनतालाई अलग गरेर जनताका निम्ति हामीले शासन गरिदिन्छौं भनेर सधैं ठेक्का लिएर हुँदैन । एक्काइसौं शताव्दीको जनवादले पनि त्यही कुरा भनेको छ । त्यही साझा कुरा आजको हाम्रो विचार र सिद्धान्तको गुदी तत्व हो । यसलाई सोचिएको छैन वा आत्मसात गरिएको छैन भन्ने कुरा होइन ।

(क्रमशः)

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा केन्द्रीय प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रेस संगठन नेपालको केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा राष्ट्रिय भेलामा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)
 

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

(श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा केन्द्रीय प्रचार विभागका प्रमुख हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय