साथी जरुर फर्क है !

dainikonline
दैनिक अनलाइन | पुस १२, २०७६ शनिबार | 0

केएम निष्ठुरी 

मेरो एउटा साथी 
न मैले उसलाई देखेको छु
न उसले मलाई 
तर 
लाग्न थाल्यो मलाई आजकाल 
ऊ मेरो श्वास हो, धड्कन हो, प्राण हो 
उ मेरो आँखा हो 
जसका सहाराले मैले 
यो संसार नियालिरहेको छु 
मैले फेर्ने प्रत्येक श्वास 
ऊसँगै तरंगित भएको हुन्छ सधैं सधैं
मेरो मुटुको चाल छाम्छु 
उसको मुटुसँगै दौडिरहेको हुन्छ 
निमेष निमेष !
मेरा पदचापहरु हेर्छु 
उसलाई नै पछ्याउँदै 
कुदिरहेका हुन्छन् पलपल !

कल्पना गर्छु 
आजकाल तिमीले छोडेको 
त्यो जन्मभूमि 
त्यो बाटोघाटो, आँगन, चौतारो, झुप्रो अनि पँधेरो 
त्यो बजार !
हेर !
शैशवकालमा तिमी र म 
सँगै खेल्थ्यौं होला काँसघारीमा लुकामारी 
चारी अनि डण्डिबियो 
कहिले मैले जित्थे होला
कहिले हारेको बहाना गर्न मन लाग्थ्यो
म पनि तिम्रै गाउँमा 
जन्मेको भए 
तिमीसँगै खेल्दै पढ्दै हुर्कने 
सौभाग्य पाएको भए 
बुझ्थे होला तिम्रा सुखदुःख र बाध्यता 
कहिले जान्थ्यौं होला 
घाँसदाउरा 
र कहिले देउराली 
रुद्री, कथा अनि स्वस्थानी
जाँदा छुट्टै संसारको अनुभूति कसो नहुँदो हो ?
दशैंमा मौले पिङको झड्का 
अनि तिहारमा देउसीभैलो 
आहा !
तिमीलाई ठेस लाग्दा 
मेरो कमिजको गोजी च्यातेर बाँध्न पाएको भए 
मेरो आँखामा आँसु बग्दा 
तिम्रो पछ्यौरीले पुछ्न पाएको भए 
तिम्रो मुटु भक्कानिदा 
जोड जोडले मैले थिच्न पाएको भए 
आहा ! त्यो पल 
आहा ! त्यो याम 
त्यो गोंधूली साँझ 
त्यो क्षितिज 
हेर !
सबै फिका फिका लाग्छ आज 
जब तिमीलाई देखे नि सञ्जालमा 
आकाश चुमेको जस्तो लाग्यो 
आजभोलि 
म तिम्रो ठाउँमा छु 
तिमीले पहिलो पाइला टेकेको त्यो घर 
तिमीले पहिलो श्वास फेरेको त्यो हावा !
तिम्रो नाभी गाडेको त्यो माटो
सबै मसँग परिचित छन् 
तर 
तिमी आफ्नै नाभी गाडेको माटोसँग 
बिरानो भयौ अरे 
छोडेर गयौ अरे त्यो जन्मभूमि 
छोड्यौ रे ती जन्मदाता 
जरुर ! जरुर साथी तिमी फर्क है !
तिम्रो छातीमा तोरीको तेल मिरेको 
त्यो कौसी अझै तिमीलाई नियालिरहेछ 
गोंधूली साँझमा 
तिमी आउने बाटो 
र 
म पनि आउने छु तिम्रो छायाँसँगै 
तिमीलाई न्यानो स्वागत गर्न ! 
साथी जरुर फर्क है !
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय