छोरीलाई दिने नैतिक शिक्षा छोरालाई दिनु पर्दैन र ?

dainikonline
देवी काफ्ले | पुस ४, २०७६ शुक्रबार | 0

आखिर छोरीलाई किन फरक नजरले हेरिन्छ ? आखिर मानव सृष्टि धान्नलाई छोरी नभई सम्भव त छैन । गर्भमा रहना साथ छोरीलाई आफ्नो परिवारको हिस्सा भन्दा धेरै अर्काको घरमा पठाउने जात ठानिन्छ । जन्मेपछि ठीक त्यही व्यवहार गरिन्छ कि ऊ आफ्नो परिवारको जिम्मा लिने लायक ठान्दैनौं । त्यसैले व्यवहारमा सामेल गर्दैनौं ।

जहिले पनि छोरी यानी महिला जहिले पनि कमजोर हुन्छे र ? तर, हाम्रो पुरूषवादी समाजले कमजोर बनाएको छ । जब छोरी युवा अवस्थामा प्रवेश गर्छे नि अनि उसमाथि अनेकथरि जञ्जीरमा बन्धक बनाइन्छ । छोरी खुलेर हाँस्नु हुँदैन । छोरीले घरको सबै काम गर्न सिक्नु पर्छ, झुकेर हिड्नु पर्छ, पुरूषसँग बोल्नु हुँदैन । यति नगरे घरको इज्जत जान्छ । समाजमा बाबादाजुको शिर झुक्छ । त्यसैले छोरी अनुशासनमा रहनु पर्छ ।

तर यही सिकाइ छोरालाई हामी किन दिँदैनौं ? छोराले गरेको गलत कामले बाउको इज्जत जाँदैन ? के इज्जतको ठेकेदार छोरी मात्रै हो ?

अबेर रातिसम्म छोरी घरमा नपुगे अनेक लान्छना लगाइन्छ तर छोरो बाहिर भयो भने बहादुरी ठानिन्छ । के यो सोंचले छोरालाई लापर्वाहको बाटो हिँड्न मद्दत पुराउँदैन र ?

कसैसँग हाँस्नु, बोल्नु छोरीको लागि इज्जत फाल्नु हुन्छ भने छोराले अर्काकी छोरी जिस्काउँदै हिँड्नु नैतिकता हो त ?

जब छोरी बिहे गरेर पतिको घरमा पठाउँछौं, त्यो बेला छोरीलाई जस्तोसुकै कठिनाई परे पनि सहनु, सासुका दुर्वाच्य, लोग्नेको ताना, कुटपिट, दुखसुख सबै झेलेर घर खानू, माइतीमा न आउनू, घर भनेको घर हो । जीवन जाने लोग्ने तिम्रा पति हुन् । उनको हमेसा ख्याल राख्नू । सेवा गर्नू, उनीबिना तिम्रो जिन्दगी जिन्दगी होइन भनेर सिकाइन्छ । यही सिकाइ छोरालाई दिनु हुँदैन र ?यदि यस्ता आदर्श र नैतिकताका कुरा छोरालाई सिकायो भने अधिकांश घरमा घरेलु हिंसा कम हुन्छ । पतिले जिम्मेवारी लिएर ल्याएकी पत्नीलाई हिंसा गर्दैन किनकि त्यसो गरेमा समाजले उसलाई नराम्रो दृष्टिले हेर्छ । उसको र परिवारको इज्जत जान्छ भन्ने ज्ञान हुन्छ ।

जुन जुन अनुशासनका नियम हामी छोरीलाइ लगाउँछौं, तिनै नियम केही मात्रामा मात्र पनि छोरालाई पनि लगायौं भने हाम्रो वरपर घट्ने बलात्कारजन्य घटना कम हुन्छन् ।

आजको युगमा अधिकारको कुरा त सजिलै गर्छन् तर आफ्ना कर्तव्य भुल्छन् ।

देशमा राजनीतिक परिवर्तन धेरै भए । छोराछोरी बराबरीका नारा लगाइए । छोराछोरी बराबरी हुन् भने व्यवहारमा खोई ?

जन्माउने बाबुआमाले मात्रै छोराछोरी बराबरी ठानेर नहुने हाम्रो पुरूषवादी समाजले कहिले बराबरी ठान्छ ?

हामी आफै पुरूषवादी संस्कारले ग्रस्त छौं । यहाँ पुरूष मात्रै होइन स्वयं महिला पनि सोही संस्कारले ग्रस्त छौं । जसका कारण हामी आफै महिलालाई पुरूषसरह मानवको रूपमा हेर्न चाहन्नौं । त्यसैले त कतिपय घरेलु हिंसामा महिला महिलाबाटै पीडित हुन्छिन् । सासुबुहारीबीचको सम्बन्धमा सुधार आउन नसक्नु सबैभन्दा ठूलो कारण नै यही हो । हिजो सासुहरूले आफ्ना सासुबाट जति पीडा र कष्ट पाएका थिए, त्यही कष्ट बुहारीले भोग्नुपर्छ भन्ने मान्यता राखेका हुन्छन् । फलतः सासुबुहारीको सम्बन्धमा सुधार हुँदैन ।

प्रायजसो घरमा हिंसा महिलाबाटै शुरू हुन्छ । केही लोभलालच अनि दासीसरह कामकाज खोजिन्छ । झिनामसिना कुरालाई लिएर होच्याउने, गाली गर्ने र घरायसी स्तर दाँज्ने काम घरका महिलाबाटै शुरू हुन्छ । दाइजोको लोभ पनि प्रायः महिलामै हुन्छ । मेरो यति खर्च गरेर कमाउ बनाएको छोरोलाई ठगे, दाइजो ल््याइन भनेर बुहारीलाई ताना मार्नेले एकपल्ट पछाडि फर्केर हेर्दैनन् कि त्यो बुहारीले के र कसलाई छोडेर आई ? आफ्नो छोरो पढ्दा खर्च लाग्छ भने अर्काकी छोरी पढ्दा खर्च लाग्दैन र ? त्यसैले बुहारीलाई ताना दिनु अगाडि छोरोलाई पनि उसले आफ्ना जन्म दिने बाबुआमा, सारा नातागोता र त्यो घरभित्रको अधिकार त्यागेर तिम्रो साथ आएकी छ । भौतिक वस्तुसँग तुलना नगर भनी सम्झाइदिने हो भने पनि घरेलु हिंसा कम हुन्छ । तराईमा घटेका घटनाहरूले यसको प्रतिनिधित्व गर्छन् ।

सानैदेखि हामीले दिएका शिक्षाले मानसिकरुपमा छोरीको अवस्था कमजोर तुल्याइएको हुन्छ । उसलाई आत्मरक्षाको लागि भन्दा पनि झुकेर, सहेर बाँच्न सिकाइन्छ । फलतः छोरी कमजोर स्वभाविकरूपमा बन्छिन् । नैतिकता छोरीलाई बढी सिकाइन्छ तर त्यै नैतिकता छोरालाई पनि सिकाइयो भने घर समाज चाँडै नै परिवर्तन हुन्छ जुन हामी चाहँदैनौं ।

हुन त आजको समयमा धेरै छोरीहरू सक्षम भइसकेका छन् । आर्थिक उपार्जन गर्न संघर्ष गरेका छन् । तर भित्री पीडा उनीहरूको ज्यूँकात्युँ छन् । कामको सिलसिलामा कसैसँग बोले पनि पतिबाट गलत ब्याख्या हुन्छ । चरित्रहीनताको आरोप लाग्छ । त्यसकारण महिलासँग बोल्न हुँदैन भनेर पुरूषलाई पनि त सिकाउनु पर्यो नि त । महिलालाई गर्ने व्यवहारमा सुधार ल्याउन त सबैभन्दा पहिला पुरूषलाई नै नैतिक शिक्षा दिनु पर्यो नि त । कि महिला मात्रै अनुशासित हुनुपर्ने हो ?

यदि नैतिक शिक्षा छोरालाई पनि दिने हो भने छोरी सुरक्षित हुन्छिन् । नारीले वेश्या र चरित्रहीन जस्ता अपाच्य शब्दको भारी बोक्नु पर्दैनथ्यो ।

सन्तान उत्पादन पुरूषको शुक्रकिट र महिलाको डिम्बको मिलन हुनु जरूरी हुन्छ । जब सन्तानले छोरीको रूप लिन्छे अनि छोरी पाइस्, कुलंगार, एउटा छोरो पाउन सकिनस् भनेर दोष जति महिलाले पाउँछिन् । ए बाबा ! महिलाले मात्रै एक्लै छोरो पाउँथिन् भने त्यो लोग्ने, पुरूष किन चाहिन्थ्यो ? सन्तान उत्पादनमा पुरूषको शुक्रकिटमा भर पर्छ नि । यो कुरा पुरूषले बुझिदिए घरेलु हिंसा न्यून हुन्छ ।

हामी आज पनि उसै युगमा बाँचेका छौं जहाँ छोरीको अस्तित्व पुरूषसँग मात्र छ । केही सुधार भएतापनि बास्तविकतामा अझै आजको युगमा आउन सकेका छैनौं । सृष्टिकर्ता छोरी हुन् । भौतिक साधनसँग साटिने वस्तु होइनन् । सोंच परिवर्तन गरौं । छोरालाई पनि अनुशासन र नैतिक शिक्षाको पाठ पढाऔं । महिला पनि पुरूषसरह मानव हुन् भन्ने सत्यता नबिर्सौं ।
 

देवी काफ्ले

(काफ्ले साहित्य र महिला अधिकारका विषयमा कलम चलाउनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय