पिकनिक जाँदै गरेका विद्यार्थी चढेको बस दुर्घटना

dainikonline
दैनिक अनलाइन | मंसिर २७, २०७६ शुक्रबार | 0

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।

काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । 

पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उहाँले बताउनुभयो । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कलेजले शुक्रबार भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको कार्यक्रम राखेको थियो । ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो । 

विद्यार्थी र शिक्षक चढेको  बा ५ ख ४२८६ नम्बरको बस दुर्घटनामा परे पनि अन्य बस भने सुरक्षित गन्तव्यमा पुगेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय