भारतमा बलात्कारीलाई कठोर सजाय माग

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतको संसदमा बोल्दै मङ्गलबार सांसदहरुले ती व्यक्तिलाई सार्वजनिक स्थलमा राखेर मार्नुपर्ने बताएका हुन् । भारतीय सासंद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राख्नुभएको हो ।
  
सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले निन्दा गर्नुभएको छ । हराइरहेकी  ती पशु चिकित्सकको जलेको शरीर गतसाता फेला परेपछि भारतभरी विरोध प्रदर्शन भएका छन् ।
 
गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् । केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन् ।

महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएको छैन । सांसदहरुले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका जनाइएको छ । बलिउडका पूर्व नायिका तथा हाल भारतीय संसदका सांसद जया बच्चन महिला अधिकारका विषयमा प्रखर वक्ता मानिनुहुन्छ ।

उहाँले सांसदहरूको तर्फबाट महिला सुरक्षाको प्रश्न र बलात्कारी तथा हत्यारालाई कडा कारबाहीको मागको नेतृत्व गर्नुभएको थियो । दक्षिणी राज्य तमिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको  बताउनु भएको छ । अपराधी पुरुषहरुलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो भन्नुभएको छ । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको  बताउनुभएको छ । साथै यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उहाँले बताउनु भएको छ । सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापश्चात् ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उहाँको भनाई छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय